SKIP TO MAIN CONTENT

महामारीका बेला अस्ट्रेलियालीहरूबाट ८५ करोड १० लाख डलर ठगियो

सन् २०२० मा अस्ट्रेलियालीहरूले ठगीका कारण रेकर्ड तोड ८५ करोड १० लाख डलरभन्दा बढी रकम गुमाउन पुगेका छन्।

ATO scam
Source: Getty Images

2 min read

Published

Updated



Skip to article content

अस्ट्रेलियाली उपभोक्ताहरूको अधिकार तथा व्यावसायिक प्रतिस्पर्धा अनुगमन गर्ने निकायले "टार्गेटिङ स्क्यामस् रिपोर्ट २०२०" प्रकाशित गर्दै उक्त तथ्य सार्वजनिक गरेको हो।

स्क्यामवाच, रिपोर्टसाइबर लगायत थुप्रै ब्याङ्क तथा वित्तीय संस्थाका साथै अन्य सरकारी एजेन्सीहरूको झन्डै साँढे चार लाख रिपोर्टहरूबाट प्राप्त तथ्याङ्कलाई आधार बनाएर आफू सो नतिजामा पुगेको अस्ट्रेलियाली प्रतिस्पर्धा तथा उपभोक्ता आयोग -  एसीसीसीले बताएको छ। 

एसीसीसीकी उपाध्यक्ष डेलिया रिकार्ड भन्छिन् कि गत साल ठगीबाट एकदमै उच्च सङ्ख्यामा अस्ट्रेलियालीहरू ठगीको सिकार भए।

"धेरै मानिसहरूले आफू ठगिएको उजुरी नदिने भएकाले वास्तविक घाटा अझ धेरै रहेको हाम्रो अनुमान छ," उनले भनिन्।

सोमवार जारी उक्त प्रतिवेदनका अनुसार लगानी सम्बन्धी ठगीका घटनाहरूमा ३२ करोड ८० लाख डलर अस्ट्रेलियालीहरूले गुमाएका छन् जुन कुल घाटा मध्येको एक तिहाइभन्दा पनि बढी हो।

यसै गरी, प्रेम जालमा परेर अस्ट्रेलियालीहरूले १३ करोड ३१ लाख डलर गुमाएको पनि उक्त रिपोर्टमा उल्लेख छ भने थप १२ करोड ८० लाख डलर अस्ट्रेलियामा बस्ने मानिसहरूले भुक्तानी पुनर्निर्देशित क्रममा गुमाउन पुगेको बताइएको छ।

Love down under
Love Source: Getty Images

डेलियाका अनुसार ठगहरूले परिष्कृत उपायहरू अवलम्बन गर्दै गएका छन्।

र, उनी भन्छिन् कि गत वर्ष कोभिड-१९ महामारीलाई प्रयोग गरेर उनीहरूले प्राय: जसो सबै तहका मानिसहरूको फाइदा उठाउन सफल रहे।

कुल ८५ करोड १० लाख डलर ठगिएको मध्ये स्क्यामवाचमा मात्र १७ करोड ६० लाख डलर घोटाला रिपोर्ट गरिएको थियो।

कोरोनाबाट सबैभन्दा बढी आक्रान्त बनेको भिक्टोरियालाई ठगहरूले पनि आफ्नो प्रमुख तारो बनाएको बताउँछिन्, एसीसीसीकी डेलिया रिकार्ड।

उनका अनुसार सन् २०१९ को दाँजोमा भिक्टोरियावासीहरूले दुई गुणाभन्दा पनि बढी रकम ठगीका कारण गुमाउन पुगे।

"धेरैजसो मामिलाहरूमा ठगहरूले सरकारी प्रतिबन्धहरूको हवाला दिएर मानिसहरूलाई ठगेको पाइयो," रिकार्डले भनिन्।

"आफूले किनेको सामान पैसा तिर्नु अघि हेर्न नपाएका कारण मानिसहरू ठगिए।"

मुख्यतया सवारीसाधन तथा कुकुरका छाउरा-छाउरीहरूको किनबेचका क्रममा थुप्रै मानिसहरूलाई झुक्क्याइएको एसीसीसीकी उपाध्यक्ष रिकार्डले बताइन।

महामारीका बखत अनलाइनमा थुप्रै मानिसहरूले समय बिताउँदा साइबर ठगीबाट समेत पीडित भएको रिपोर्टमा उल्लेख छ।

ठगीको बारेमा थाहा पाउने, जानकारी हुने वा पिडितपक्षका मानिसहरू सबैले स्क्यामवाचको वेबसाइटमा गएर उजुरी हाल्न वा ठगीबाट बच्ने बारे थाहा पाउन सक्छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now