अस्ट्रेलियामा कोरोना भाइरसको खोप फेब्रुअरी महिनाको मध्य या अन्त्य तिर वितरण गरिने प्रधान मन्त्री स्कट मोरिसनले आज बिहीबार घोषणा गरेका छन्।
अस्ट्रेलियाको थेराप्युटिक गुड्स एडमिनीस्ट्रेसनले यही जनवरी महिनाको मध्य सम्ममा खोप कम्पनी फाइजरबाट आवश्यक जानकारी पाउने र जनवरीको अन्त्य सम्ममा खोपको अनुमति प्रदान गरिने अनुमान रहेको मोरिसनले बताए।

'अरू सामान्य भ्याक्सिन अनुमति प्रक्रिया भन्दा यो छिटो अघि सरिरहेको छ - र कुनै चरणको पनि उल्लङ्घन गरिएको छैन।', उनले क्यानबेरामा रिपोर्टरहरू सँग कुरा गर्दै बताए।
अर्को खोप एस्ट्राजेनेकालाई अनुमति दिने प्रक्रिया आउँदो फेब्रुअरीमा सम्पन्न हुने तोकिएको छ।
फाइजर कम्पनीको नियम अनुसार खोपका लागि स्वीकृति दिइए पछि वितरण सुरु गर्न दुई हप्ता लाग्ने छ।
फाइजरको भ्याक्सिनलाई माइनस -७० डिग्री सेल्सियसमा भण्डारण गर्नु पर्ने भएर, त्यस सन्दर्भमा वितरणको क्रममा केही समस्याहरू आउन सक्ने प्रधान मन्त्री मोरिसनले अनुमान गरेका छन्।
भ्याक्सिन अस्ट्रेलियामा ल्याइए पछि, त्यसको डोजहरूको ब्याच परीक्षण गर्नका लागि एक हप्ता जति लाग्ने छ।
फाइजर भ्याक्सिन एक पटक लगाए पछि त्यसको केही हप्तामा या एक महिना भित्र दोस्रो डोज लगाउनु पर्ने हुन्छ।
सबै भन्दा पहिले, तोकिएका अस्पतालहरूको मार्फत यी वर्गहरूलाई खोप दिइने छ - क्वारेन्टिन क्षेत्र र सीमा क्षेत्रका कर्मचारीहरू, अग्र मोर्चामा कार्यरत स्वास्थ्य अधिकारीहरू, वृद्ध हेरचाह केन्द्र तथा अशक्त केन्द्रका कर्मचारीहरू र वृद्ध हेरचाह केन्द्रका निवासीहरू।
एक हप्ताको अवधिमा ८०,००० जनालाई फाइजरको खोप दिइने योजना रहेको मोरिसनले बताए। र यही प्रक्रियालाई ४ देखि ६ हप्ताको समय भर अघि सार्दै, मार्च महिनाको अन्त्य सम्म ४० लाख जनालाई भ्याक्सिन दिई सक्ने योजना रहेको छ।
पर्थमा एक व्यक्तिमा कोभिड-१९ को परिवर्तित रूप फेला पर्यो
बेलायतमा उत्पत्ति भएको कोभिड-१९ को परिवर्तित रूप, वेस्टर्न अस्ट्रेलियाका एक कोरोना भाइरस सङ्क्रमितमा फेला परेको एबीसी न्युजले बताएको छ।
उक्त ८० वर्षीय महिला वेस्टर्न अस्ट्रेलियामा जनवरी २ तारिखमा आएको थिइन्, र उनलाई मङ्गलबार होटेल क्वारेन्टिनबाट उपचारका लागि रोयल पर्थ अस्पतालमा सारिएको थियो।

त्यस क्रममा विमानस्थलका एक कर्मचारी, एक नर्स, र एक एम्बुलेन्स चालकले पीपीई प्रोटोकल अर्थात् कोभिड-१९ सुरक्षित नियमलाई तोडेको बताइएको छ।
ती उल्लङ्घन भएका नियमहरूको बारेमा सम्पूर्ण अनुसन्धान गरिन वेस्टर्न अस्ट्रेलियाको सरकारले माग गरेको छ, र साथसाथै यसका कारण सर्वसाधारणमा भने कुनै जोखिम नरहेको बताइएको छ।
नियमको पालना नगरेका ती नर्स र एम्बुलेन्स चालक होटेल क्वारेन्टिनमा जानु अघि कुनै व्यक्तिको नजिकी सम्पर्कमा नआएको हुनाले उनीहरूबाट सङ्क्रमण फैलन सक्ने सम्भावना कम भएको राज्यको स्वास्थ्यको विभागले बताएको छ।
ती कर्मचारीहरूमा सङ्क्रमण भए तापनि भाइरस शरीर आएको पहिलो दिनमा नसर्ने, र उनीहरू त्यस समय अवधि भित्र क्वारेन्टिनमा गइसकेको बताइएको छ।
उल्लिखित विमान स्थल कर्मचारीमा भने कोभिड-१९ सङ्क्रमण नरहेको बताइएको छ।
यस घटनाप्रति आफ्नो निराश व्यक्त गर्दै अग्र मोर्चामा काम गर्ने कर्मचारीहरूलाई सबै नियमहरूको पालना गरी उच्च सतर्कताका साथ रहन वेस्टर्न अस्ट्रेलियाका प्रिमियर मार्क म्याकगोवेनले आग्रह गरेका छन्।
