अस्ट्रेलियामा कोरोना भाइरसको खोप कहिले आउँछ त?

सिड्नीको उत्तरी भेगमा कोरोना भाइरसको प्रकोप बढेपछि, विभिन्न राज्यहरूले न्यु साउथ वेल्ससँगको सीमामा कडाइ गरेका छन्। सिड्नीभित्रै पनि फुकुवा गरिएका प्रतिबन्धहरू फेरि फिर्ता ल्याइएको छ, र स्थिति बिग्रेमा मार्च- अप्रिल महिनाझैँ प्रशासनिक आदेश आउने पनि सङ्केत दिइएको छ। यसरी सहर र राज्यलाई बन्द र फुकुवाको खेलमा धकेल्ने कोरोना भाइरसमाथि विजय पाउन सकिने खोपचाहिँ कहिले आउँछ त?

Uma idosa recebe a dose da vacina contra a COVID-19 na Alemanha: Europa já iniciou a vacinação

Uma idosa recebe a dose da vacina contra a COVID-19 na Alemanha: Europa já iniciou a vacinação Source: AP

अमेरिका र बेलायतले अहिले फाइजर/बायोएनटेक खोप प्रदान गर्न सुरु गरिसकेको छ। यस्तै, मोडर्ना नामक कम्पनीले बनाएको कोरोना भाइरस विरुद्धको खोपलाई पनि अमेरिकाले प्रयोग गर्न अनुमति दिइसकेको छ।

तर अस्ट्रेलियामा चाहिँ किन यस सम्बन्धमा केही गरिएको छैन त अहिलेसम्म? अझ अहिले बढ्दै गएको कोभिड-१९ को स्थिति हेर्दा त यहाँ पनि तुरुन्तै खोप चाहिएको देखिन्छ र स्वाभाविक प्रश्न अहिले सबैको मुखमा रहेको छ- अस्ट्रेलियामा कोरोना भाइरस विरुद्धको खोप कहिले आउँछ?

यहाँको संघीय सरकारले, देशमा खोप छिट्टै आउने र मार्च महिनासम्ममा वितरणको तयारी पनि गर्ने आश्वासन दिँदै आएको छ।

तर यसको विषयमा थप जानकारी वा योजनाबद्ध कदमहरूले अझै औपचारिकता पाएको छैन।

अस्ट्रेलियाले खोपको प्रयोगको अनुमति अहिलेसम्म किन नदिएको?

दक्षिण अस्ट्रेलियाका प्राध्यापक तथा महामारी विज्ञ एड्रियन इस्टरम्यानको भनाइमा अहिले कुनै हतार नभएका कारण यहाँको सरकारले खोपको प्रयोगको लागि अनुमति दिएको छैन।

Allergic reactions to the Pfizer/BioNtech vaccine are said to be incredibly rare.
Allergic reactions to the Pfizer/BioNtech vaccine are said to be incredibly rare. Source: Photonews

फाइजरले बनाएका खोपहरू अहिले अमेरिका र बेलायतमा प्रयोग हुन थालिसकेका छन्। तर यहाँ बिर्सन नहुने कुरा के छ भने- यी दुवै देशहरूले यसको प्रयोगको “आपतकालिन अनुमति” मात्र दिएका हुन्।

इस्टरम्यानको भनाइमा यसको अर्थ, फाइजरका औषधिहरू अझै पनि तेस्रो चरणको परीक्षणमै रहेका छन्।

“तर अमेरिका र बेलायतमा कोरोना भाइरसको अवस्था निकै भयावह भएका कारण यी दुवै देशहरूले थप कुर्न सकेनन्।,” उनले भने।

अस्ट्रेलियामा खोपको प्रयोग कहिले सुरु हुन्छ?

इस्टरम्यानका अनुसार अस्ट्रेलियाको औषधि जाँच्ने आधिकारिक निकायले प्रयोगमा आइरहेको खोपलाई गम्भीरताका साथ नियालिरहेको छ।

यसका साथै, यस खोपले परीक्षणको क्रममा पार गर्नु पर्ने तेस्रो चरणलाई पनि कुरिरहेको छ।

“यो सबै कुराहरू पूरा हुनासाथ- फाइजरको खोपले यहाँ प्रयोगको लागि अनुमति पाउने छ,” उनले भने।

यसको अर्थ, अहिलेसम्मको समय तालिका हेर्दा सन् २०२१ को मार्च महिनातिर यसको वितरण सुरु हुन्छ।

खोप सुरुमा कसले पाउँछ त?

खोप वितरण प्राथमिकतामा रहेका समूह अनुसार गरिने अस्ट्रेलियाका कार्यवाहक प्रमुख स्वास्थ्य अधिकारी पल केलीले बताएका छन्। 

यस अनुसार वृद्ध वर्ग र कमजोर स्वास्थ्य भएका मानिसहरूले पहिले भ्याक्सिन पाउने छन्।

दोस्रो प्राथमिकतामा कोरोना भाइरस सर्ने उच्च सम्भावना रहेका - स्वास्थ्य कर्मचारी र वृद्ध हेरचाह केन्द्रका कर्मचारीहरू रहेका छन्। 

त्यस्तै, आपतकालीन तथा आवश्यक सेवाहरूमा काम गर्ने मानिसहरू तेस्रो प्राथमिकतामा रहने छन्, र क्रमैसँग सामान्य सर्वसाधारणलाई पनि खोप वितरण गरिने छ।

कुन खोपमा अस्ट्रेलियाको पहुँच रहेको छ त?

क्वीन्सल्याण्ड विश्वविद्यालयले  निर्माण गर्दै गरेको खोप रद्द भएपछि, अस्ट्रेलिया सरकारसँग अब तीन खोपका विकल्पहरू रहेका छन्। सम्भवतः, प्रत्येक व्यक्तिलाई यी खोपहरूको दुई डोज प्रदान गर्नु पर्छ, र समग्रमा दुई करोड ५० लाखभन्दा बढी मानिसहरूलाई पर्याप्त हुनु पर्छ। 

  • एस्ट्राजेनेका

अस्ट्रेलिया सरकारले अक्सफर्ड विश्वविद्यालयले निर्माण गरेको एस्ट्राजेनेका खोपको पाँच करोड ३८ लाख डोजहरू मगाएको छ। कतै पुष्टि हुन बाँकी भए तापनि, अहिलेसम्मका नतिजाहरूले उक्त खोप ९० प्रतिशत प्रभावकारी रहेको बताउँछन्। 

यस खोपलाई "भाइरल भेक्टर" पनि भनिने, र यसमा चिम्पान्जीको भाइरस प्रयोग गरिएको प्राध्यापक इस्टरम्यानले बताए। 

सीएसएल नामक एक अस्ट्रेलियाली जैविक प्रविधि कम्पनीले मेलबर्नमा यस खोपको पाँच करोड डोज उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ। 

उत्पादन प्रक्रिया सुरु भइसकेको छ भने वितरणका लागि एस्ट्राजेनेकाले नियामक स्वीकृति पाउने पर्ने हुन्छ। 

  • नोभाभ्याक्स

अमेरिकी कम्पनीले तयार गर्दै आएको नोभाभ्याक्स पनि यहाँको सरकारले प्रयोग गर्न सक्ने छ। 

परीक्षणको तेस्रो चरणमा रहेको उक्त खोपको ५ करोड भन्दा बढी डोजहरू सरकारले किनिसकेको छ। 

यसलाई "प्रोटिन भ्याक्सिन" पनि भनिने र छिटै स्वीकृत हुन सक्ने प्राध्यापक इस्टरम्यानले बताए। 

यसको तेस्रो चरणको परीक्षण गत सेप्टेम्बर महिनामा सुरु भएको कारण आउँदो वर्ष सन् २०२१ को मे या जुन महिनामा मात्र उपलब्ध हुने सम्भावना रहेको उनको भनाइ छ। 

  • फाइजर/बायोएनटेक

९५ प्रतिशत प्रभावकारिता रहेको यस खोपका १ करोड डोजहरू अरू खोप भन्दा पहिले अस्ट्रेलिया आइपुग्ने सम्भावना छ। तर प्रत्येक व्यक्तिलाई दुई डोज चाहिने हुनाले सुरुमा ५० लाख अस्ट्रेलियालीहरू सँग मात्र यसको पहुँच हुन्छ। 

उक्त भ्याक्सिनमा पहिले खोपहरूमा कहिल्यै प्रयोग नभएको mRNA प्रविधिको प्रयोग गरिएको छ। 

संघीय सरकारले यस हिसाबमा विभिन्न खोप कम्पनीहरू सँग सम्झौता गर्न आवश्यक रहेको अस्ट्रेलिया मेडिकल सङ्घका उपाध्यक्ष डाक्टर क्रिस मोइले बताए। 

तर विपक्षी लेबर दलले भने तीन वटा कम्पनीहरू सँग सम्झौता गर्नु पर्याप्त नभएको र अन्तराष्ट्रिय स्तरमा पाँच या ६ वटा कम्पनीहरू सँग सम्झौता गर्न सबै भन्दा उपयुक्त रहेको बताएको छ। 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीनस्ल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


Share

4 min read

Published

Updated

By Amelia Dunn, Marcus Megalokonomos

Presented by SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now