सन् २०२० मार्च महिनादेखि बन्द रहेको सीमा पर्यटन र व्यवसायका लागि भ्रमण गर्ने मानिस र अन्य यात्रुहरूका लागि खुलेको हो।
फेब्रुअरी २१ तारिखदेखि अस्ट्रेलिया भित्रन चाहने मानिसहरूले छुटको लागि आवेदन दिन जरुरी हुने छैन।
अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा क्रमिक रूपका खोल्ने नीति अब नयाँ चरणमा पुगेको प्रधानमन्त्री स्कट मोरिसनले घोषणा गर्दै भने, “यो समझदार र महत्त्वपूर्ण कदम हो, र अस्ट्रेलियालाई सकेसम्म पहिलेको जस्तै सामान्य स्थितिमा पुर्याउन यो आवश्यक छ।”

Queensland scrapped quarantine for some international arrivals in January, allowing family reunions to take place. Source: AAP
अस्ट्रेलिया भित्रनका लागि के-के आवश्यक छ त?
फेब्रुअरी २१ पछि, अस्ट्रेलिया भित्रन चाहने मानिसहरूले यात्रा छुटको आवेदन हाल्नु पर्दैन, तर आफूले खोप लगाएको प्रमाण वा मेडिकल सर्टिफिकेट भने देखाउनु जरुरी हुन्छ।
गृह मामिला विभागको वेबसाइटका अनुसार “पूर्ण मात्रा खोप लगाएको मानिसलाई एस्ट्राजेनेका, फाइजर/बायोएनटेक, मोडर्ना, सिनोभ्याक, कोभ्याक्सिन (भारत बायोटेक), सिनोफार्म (६० वर्ष भन्दा कम उमेरका लागि) र स्पटनीक खोपको हकमा दुई मात्रा लगाएको हुनुपर्छ” भनी उल्लेख गरिएको छ।
जोनसन एन्ड जोनसनद्वारा निर्मित ज्यान्सेन खोपको हकमा भने एक मात्रा खोप लगाएको हुनु पर्छ भनी उल्लेख गरिएको छ।
उक्त नियामक संस्थाले अन्य खोपलाई पनि यो सुचीमा समावेश गर्ने बारेमा विचार गरिरहेको बताइएको छ।
खोप नलगाएका मानिसहरूले के गर्न सक्छन्?
विभागका अनुसार स्वास्थ्यका कारणले खोप लगाउन नमिल्ने मानिसहरूले पनि खोप लगाएका मानिस सरह नै यात्राको व्यवस्था गर्न सक्ने उल्लेख गरिएको छ।
यसका लागि मानिसहरूले खोप छुटका लागि पाएको मेडिकल सर्टिफिकेट अङ्ग्रेजी भाषामा देखाउन जरुरी हुनेछ जसमा उनीहरूको पुरा नाम, चिकित्सकसँग सल्लाह लिएको मिति र खोप लगाउन नमिल्ने कारणहरू स्पष्ट लेखिएको हुनु पर्छ।
यद्यपि पहिले कोभिड–१९ सङ्क्रमण भएर खोप नलगाएको भन्ने कुरालाई चाहिँ मेडिकल छुटका रूपमा नलिइने सरकारले स्पष्ट पारेको छ।
प्रधानमन्त्री स्कट मोरिसनले टेनिस खेलाडी नोभाक जोकोभिचको घटनालाई स्मरण गराउँदै भनेका छन् कि “वर्षको सुरुवातमा भएको एक घटनाले विश्वभर स्पष्ट सन्देश दिएको हुनुपर्छ"।
चर्चित टेनिस खेलाडी नोभाक जोकोभिचलाई खोप नलगाएका कारण भिसा रद्द गरी उनको मुलुक फर्काइएको थियो।
बाह्र वर्षभन्दा मुनिका बालबालिकाले खोप नलगाएको भएता पनि उनीहरूलाई पूर्ण खोप लगाएकै सरि मान्यता दिइने सरकारले बताएको छ।
त्यस्तै, खोप नलगाएका वा आंशिक रूपमा खोप लगाएका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भने पूर्ण खोप लगाएका वयस्कहरूसँग निश्चित राज्य वा प्रदेशमा जाने अनुमति दिइएको छ।
के यी नियमहरू अस्ट्रेलिया भर लागु हुन्छन् ?
राज्य र प्रदेशहरूले आफ्नै नियमहरू लागु गर्न सक्छन् जसका आवश्यकताहरू यात्रुले पुरा गर्नु जरुरी रहन्छ।
फेब्रुअरी २१ पछि पनि राज्य एवम् प्रदेशहरूले क्वारेनटिन, परीक्षण आवश्यकता वा प्रवेश अस्वीकार गर्ने जस्ता नीतिहरू समावेश गर्न सक्छन्।
अन्तर्राष्ट्रिय यात्रुका लागि वेस्टर्न अस्ट्रेलियामा दुई हप्ते क्वारेनटिनको आवश्यकता रहेको भए पनि अन्य राज्य र प्रदेशहरूमा बिना क्वारेनटिन भित्रन पाइने नियम छ।
यस अघि वेस्टर्न अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्नो सीमा ५ फेब्रुअरीमा खोल्ने बताएको थियो।
प्रिमियर मार्क म्याकगोवनले यसलाई स्थगन गरेपछि भने अब कहिले खुल्छ भन्ने कुरा अनिश्चित रहेको छ।
अस्ट्रेलियाको बिस्तारै खुल्ने योजना अनुरूप नै लिइएको कदम हो त यो?
सन् २०२० को मार्च महिनामा प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने घोषणा गरेका थिए।
तत्कालीन समयमा उनले “जीवन बचाउनका लागि हाम्रो पहिलो प्राथमिकता कोरोनाभाइरसको फैलावटलाई रोक्नु हो” भनेका थिए।
त्यसै समयमा सरकारले अस्ट्रेलियालीहरूलाई छुट बिना अन्तर्राष्ट्रिय यात्रा गर्नबाट रोक्नलाई यात्रा प्रतिबन्ध पनि कायम गरेको हो।
अक्टोबर २०२१ बाट भने अस्ट्रेलियाली नागरिक र स्थायी बसोबास (पीआर) प्राप्त गरेकाहरूले आफ्ना नजिकका आफन्तका लागि अस्ट्रेलिया प्रवेशका लागि छुटका लागि आवेदन दिन सक्ने बनाइएको थियो।
यद्यपि यो नियम राज्य र प्रदेशका क्वारेनटिन सम्बन्धी नियमको अधीनमा थियो।
डिसेम्बर १५ पछि भने अन्तर्राष्ट्रिय विद्यार्थी, अभिभावक र ४८२, ४१७ र ८७० जस्ता दक्ष कामदार, वर्किङ्ग होलिडे भिसा र अभिभावक भिसाका लागि छुट बिना अस्ट्रेलिया भित्रन सक्ने नियम ल्याइएको हो।
थप जानकारीका लागि गृह मामिला मन्त्रालयको वेबसाइट जानुहोस्।

Students were among the first to be allowed to enter Australia. Source: AAP