सिड्नी स्थित सोफिटेल होटेलमा क्वारेन्टिनका लागि बस्दै आएका एक मानिसमा कोभिड-१९ सङ्क्रमण भेटिएको न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बुधवार बिहान बताएकी हुन्।
उनका अनुसार विदेशबाट फर्केका ती व्यक्ती उक्त होटेलको ११ औँ तल्लामा केही दिन यता बस्दै आएका थिए।
सोही स्थानबाट नै उक्त होटेलमा कार्यरत सुरक्षा गार्ड पनि अन्य पाहुनाबाट कोरोनाभाइरसको अति सरुवा प्रजाति मानिएको युके स्ट्रेनद्वारा सङ्क्रमित भएको स्थानीय अधिकारीहरूले विश्वास गरेका छन्।
एबीसीका अनुसार प्रिमियर बेरिजिक्लियनले सङ्क्रमित मानिस क्वारेन्टिनमा नै रहेकाले यस नयाँ मामिलाले सिड्नीलाई कुनै असर गर्ने छैन।"यसबाट समुदायलाई कुनै खतरा छैन किनकि सङ्क्रमित व्यक्ती बाहिर कहीँ कतै गएका छैनन्," उनले भनिन्।
"तर यसो भनेता पनि, १४ दिनसम्म हामी सतर्क अवस्थामा रहनै पर्छ र जाँच गरिएका सबै जनाको नतिजा नेगेटिभ नै रहनेछ भनेर निश्चित हुनै पर्छ।"
यसका साथै, ग्लाडिस बेरिजिक्लियनले ती व्यक्ती होटेलमा बस्न थालेपछि मात्र सङ्क्रमित भएको पनि खुलाएकी छिन्।"हामीले यसबारेमा केही कुरा लुकाएका छैनौँ - उनीहरू होटेलमा आउँदा सङ्क्रमित थिएनन्।"
होटेलमा बस्न थालेपछि मात्र कोरोनाभाइरस सङ्क्रमण भएको विश्वास गरिएकाले यस मामिलालाई सामुदायिक सङ्क्रमणको श्रेणीमा राखिइएको पनि प्रिमियर बेरीजिक्लियनको भनाई थियो।
न्यु साउथ हेल्थका अनुसार सोफिटेल होटेलको ११ औँ तल्लामा बस्ने सबै पाहुनाहरूको पुनः परीक्षण गरिसकिएको छ र हाल अधिकारीहरू यसबारे थप अनुसन्धान गर्दै छन्।

अघिल्लो हप्ता सङ्क्रमित भएका सुरक्षा गार्डको सन्दर्भमा चाहिँ उनीमा कसरी कोरोनाभाइरस देखा पर्यो भन्ने कुरा प्रस्ट भइसकेको छैन।
राज्यका स्वास्थ्य अधिकारीहरूका अनुसार होटेलमा कुनै स्वास्थ्य प्रोटोकलहरूको उल्लङ्घन भएको थिएन।
अघिल्लो महिना राज्य सरकारले घोषणा गरेको कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धहरू खुकुलो बनाउँदै जाने आफ्नो रणनीति अन्तर्गत बुधवारदेखि लागू हुने गरी सिड्नीवासीहरूले पब तथा बारमा उभिएरै पनि चिसो पेय पदार्थ पिउन पाउने भएका छन्।
