थुप्रै क्लिनिकल परीक्षण र केही महिनाको पर्खाइ पछि अन्ततः अस्ट्रेलियाले कोभिड-१९ विरुद्धका फाइजर, एस्ट्राजेनेका र नोभाभ्याक्स खोपहरूलाई स्वीकृति दिएको छ। अग्र मोर्चाका तथा स्वास्थ्य कर्मचारीहरूलाई प्राथमिकता दिँदै खोप वितरण पक्रियालाई पाँच चरणमा विभाजन गरिएको छ।
आपतकालीन प्रयोगका लागि अनुमति दिइएका यी खोपहरूका बारेमा जनमानसमा केही प्रश्न र चासो उत्पन्न हुनु स्वाभाविक नै हो। यस्तै केही प्रश्नहरू समेटेर हामीले युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका अन्वेषक होमनाथ ढुङ्गानासँग कुराकानी गरेका थियौँ।

निम्नलिखित कुराकानीमा सामान्य जानकारी समावेश गरिएका छन् - तपाईँको निजी स्वास्थ्य अवस्थाबारे जानकारीका लागि आफ्नो जि.पी., डाक्टर या उचित स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस्।
अस्ट्रेलियाले खोप वितरणको सुरुवात फाइजर खोपबाट गर्नु कत्तिको उचित हो?
अहिलेसम्म धेरै देशहरूले कोरोना भाइरस विरुद्ध आ-आफ्नै विभिन्न खोपहरू निकालिसकेका छन्। फाइजर/बायो एन टेकको यो भ्याक्सिन कुनै एउटा देशमा मात्र नभएर अमेरिका, बेलायत तथा अन्य युरोपेली देशहरूमा प्रयोग भइसकेको हुनाले यसप्रति मानिसहरूको अलिकति बढी विश्वास छ। तर सँगसँगै, यस खोपका कारण आउने केही नकारात्मक प्रभावहरूको पनि चर्चा बढिरहेको छ।
यो पनि पढ्नुहोस्:

यसरी हुनेछ अस्ट्रेलियामा खोप कार्यक्रमको सुरुवात
नर्वेमा फाइजरको खोप लगाएका केही वृद्ध-वृद्धाहरूले केही समय पछि ज्यान गुमाएका थिए। ती सबै व्यक्तिहरूमा पहिले देखि नै केही स्वास्थ्य समस्या भएको प्रस्ट पारिएको छ। अस्ट्रेलियामा पनि खोप लगाउने प्राथमिकतामा ज्येष्ठ नागरिक पर्दछन् - यसमा कत्तिको जोखिम छ?
कुनै पनि ठूलो जनसङ्ख्याको आफ्नो प्राकृतिक मृत्यु दर हुन्छ - कसैमा पहिले देखि नै ज्ञात या अज्ञात रूपमा कुनै रोग हुन सक्छ। यी व्यक्तिहरूमा कोभिड-१९ खोपका प्रभावहरू नकारात्मक रूपमा देखिन सक्ने सम्भावना हुन्छ।
यद्यपि, सबै कुराहरू समग्रमा हेर्दा, कुनै पनि खोपका साइड इफेक्टका कारण त्यसको प्रयोग गर्ने नहुने भन्ने वैज्ञानिक तथ्याङ्क अहिले सम्म आएको छैन।
फाइजर खोपको सन्दर्भमा पनि यस्तै नै छ। भिन्न देशहरूमा मौसम देखि लिएर त्यहाँका मानिसहरूको शारीरिक रचना र बनोट ठाउँ अनुसार फरक हुन्छ।

जनसङ्ख्यामा उमेर समूहको हिसाबमा पनि खोपको प्रभाव फरक हुन्छ - जस्तै अहिलेका लागि अस्ट्रेलियामा १६ वर्ष भन्दा मुनिका बालबच्चा तथा गर्भवती महिलाहरूले खोप नलगाउने भनिएको छ।
कुनै पनि नयाँ खोपको प्रयोग सुरु हुँदा त्यो लगाउने कि नलगाउने भन्ने विषयमा डर पैदा हुनु स्वाभाविक नै हो।
यसै विषयमा एउटा प्रसङ्ग - इन्फ्लुवेन्जा रोज मानव समुदायमा चलिआएको लामो समय भई सक्यो। यसका खोप कोभिड-१९ को खोप भन्दा स्थापित खोप हो - तर, मेरा केही विद्यार्थीहरू पनि इन्फ्लुवेन्जाको खोप लिने कुरा गर्दा हिचकिचाउँछन्।
खोप लगाए पछि खासमा शरीरमा हुने के हो - त्यसपछि कोरोना भाइरस सङ्क्रमण नै नलाग्ने हो त?
अन्य सामान्य खोप लगाए झैँ कोभिड-१९ को खोप लगाउँदा पनि खोप लगाएको ठाउँमा अलिकति दुख्ने र घाउ भएको जस्तो हुन सक्छ।
खोप लगाए पछि अब मलाई सङ्क्रमण नै लाग्दैन भन्ने हुँदैन। खोप लगाए पछिका पर्याप्त अनुसन्धान र तथ्याङ्क अहिले नभएको हुनाले यस पछि पनि सामाजिक दुरी कायम गर्ने जस्ता नियम र प्रतिबन्धहरूको पालना जारी राख्नु पर्दछ।

आपतकालीन खोप प्रयोगका लागि अनुमति दिनु परेको हुनाले ठूलो जनसङ्ख्यामा अनुसन्धान गर्ने समय थिएन। तर सबै खोपहरूले विभिन्न मुख्य चरणका परीक्षणहरू पार गरेर मात्र स्वीकृति पाएको हुनाले यिनले सङ्क्रमणको जोखिमलाई कम भने अवश्य गर्दछ।
कोरोना भाइरस विरुद्धको खोप सम्बन्धी विश्व स्वास्थ्य सङ्गठनले (World Health Organization WHO) तयार पारेको निर्देशनका लागि यहाँ जानुहोस्।
खोपको सन्दर्भमा तपाईँहरूले के विषयमा अनुसन्धान गरिरहनु भएको छ?
खोप प्रयोग पश्चात् असर र साइड इफेक्टहरूलाई हामीले वैज्ञानिक दृष्टिकोणबाट नियाल्ने कोसिस गरिरहेका छौँ।
अहिले हामीले मुख्यतः खोपहरू प्रयोग भएका देशहरूमा तिनको असर बारेमा पछिल्ला अनुसन्धान भएका छन् कि छैनन्, र तिनलाई सार्वजनिक गरिएका छन् कि छैनन् भनी हेरिरहेका छौँ। किनभने अधिकांश ठाउँहरूमा खोपको प्रयोग प्रारम्भिक चरणमा रहेको हुनाले यी सबै तथ्याङ्कहरू आउनै बाँकी छन्।
त्यस्तै, आएका समाचारहरू वैज्ञानिक आधारमा पुष्टि भए-नभएको तिर पनि हामीले ध्यान दिइरहेका छौँ। जस्तै - केही ठाउँहरूमा खोप लगाएका व्यक्तिहरूको मृत्यु भएको समाचारहरू आएका छन् - तर त्यो खोपले नै मन नभएर ती व्यक्तिहरूमा पहिलेदेखि भएका रोगका कारण पनि हुन सक्छन्।
तपाईँ आफू यो खोप लगाउन स्वीकृत हुनुहुन्छ?
म आफू निजी रूपमा भन्नु पर्दा अवश्य खोप लगाउँछु। सबै नभए तापनि मुख्य-मुख्य परीक्षण चरणहरू पार गरेर प्रयोगमा आएका हुनाले यी खोपहरूले त्यति धेरै समस्या निम्त्याउलान् भन्ने मलाई लाग्दैन। समय सँगै यस बारे थप जानकारी र तथ्याङ्कहरू थाहा हुँदै जान्छन् र अहिले खोप नलगाउने कारण भन्दा खोप लगाउनु पर्ने कारणहरू धेरै छन् जस्तो मलाई लाग्छ।
फाइजर खोपको बारेमा र अस्ट्रेलियामा फेब्रुअरीमा हुने खोप वितरण प्रक्रियाको सम्पूर्ण जानकारीका लागि अस्ट्रेलिया सरकारको स्वास्थ्य विभागको वेबसाइटमा जानुहोस्।
कोरोना भाइरस विरुद्धको खोप सम्बन्धी विश्व स्वास्थ्य सङ्गठनले (World Health Organization WHO) तयार पारेका निर्देशनका लागि यहाँ जानुहोस्।
यो पनि पढ्नुहोस्:

अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा





