

Latest
Published
बुशफायर भनेर परिचित डढेलो लगायत प्राकृतिक प्रकोपबाट बच्न अस्ट्रेलियाली बासिन्दाहरू समक्ष उनीहरूले एक संयुक्त सन्देश जारी गरेका हुन्।
उनीहरूले देशवासीहरूलाई “बुशफायर सर्भाइभल प्लान” बनाउन, बाढी आएको ठाउँ हुँदै सवारी नगुडाउन , पौडिँदा सामुन्द्रिक तट वा बीचहरुमा गाडिएका पहेँला र रातो रङ्गका झण्डाहरू बिच रहन र आफ्नो घरलाई आगोबाट सुरक्षित पार्न भनेका छन्।
न्यु साउथ वेल्स ग्रामीण अग्नि सेवाका कमिस्नर रब रोजर्स भन्छन् कि भर्खरै परेको पानीका कारण मैदानहरूमा टन्न घाँस उम्रेका छन्।
“गर्मी याम सुरु हुँदै गर्दा अब ती मैदानहरू सुख्खा हुन थाल्नेछन् जसले गर्दा त्यहाँ लाग्न सक्ने आगो निकै द्रुत गतिमा र डरलाग्दो रूपमा फैलन सक्छ,” उनले भने।
“त्यसैले म मानिसहरू समक्ष ती जोखिमबारे सचेत रहन र नयाँ अग्नि जोखिम सङ्केत प्रणालीसँग परिचित हुन आह्वान गर्छु।”
फायर डेन्जर रेटिङ सिस्टम भनिने उक्त प्रणालीमा मोडरेट (मध्यम), हाई (उच्च), एक्सट्रिम (चरम) र क्याटास्ट्रोफिक (विनाशकारी) गरी चार तह छन्।
राज्यका आपत्कालीन सेवाहरू सम्बन्धी मन्त्री स्टेफ कुक भन्छिन् कि गर्मीका महिनाहरू कडा आँधीबेहरी आउन सक्ने उच्च जोखिमका लागि कुख्यात छन्।
त्यसै गरेर राज्यकी आपत्कालीन सेवा कमिस्नर कार्लिन योर्कले बासिन्दाहरूलाई बाढी प्रभावित क्षेत्र भएर गाडी चलाउँदा थप चनाखो हुन भनेकी छिन्।
“योजना पहिले नै बनाउनुहोस्,” उनले भनिन्।
“बाढीबाट प्रभावित सडकमा आइपुग्नुभयो भने रोकिनुहोस् र फर्केर अर्कै बाटो खोज्नुहोस्।”
उता, मरिन रेस्क्यु न्यु साउथ वेल्सकी कमिस्नर स्टेसी ट्यानोस र सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सका प्रमुख कार्यकारी अधिकारी स्टिभ पियर्सले मानिसहरूलाई गस्ती हुने बीचहरूमा रातो र पहेँलो झन्डा गाडिएको ठाउँभित्र मात्र पौडीका लागि जान भनेका छन्।
उनीहरूले बालबालिका तर्फ उचित ध्यान दिन र आवश्यक परेको खण्डमा लाइफ ज्याकेट लगाउन पनि आग्रह गरेका छन्।
राज्यको आपत्कालीन सेवा, न्यु साउथ वेल्स स्टेट इमर्जेन्सी सर्भिसले बासिन्दाहरूलाई मोआमा स्थित मर्री नदिसँगैका होचो स्थानहरूमा नजान भनेको छ।
मध्यम स्तरको बाढीको खतरा यथावतै रहेका कारण उक्त निर्देशन जारी गरिएको हो।
यसै गरी, इचुका स्थित मर्री नदिको सतह ९३.९६ मिटरमा रहेता पनि अधिकारीहरूका अनुसार पानी घट्ने क्रम जारी छ।
तर, मध्यम स्तरको बाढीको खतरा भने टरि नसकेको बताइएको छ।
इयुबालङका बासिन्दाहरूलाई सुरक्षित स्थान तर्फ जानका लागि तयारी सुरु गर्न भनिएको छ।
स्थानीय लक्लन नदिमा बाढीको उच्च जोखिम रहेकाले अधिकारीहरूले उक्त आह्वान गरेका हुन्।
सोही प्रकारका “हेर र गर” चेतावनीहरू राज्यका विभिन्न स्थानहरूमा समेत जारी गरिएका छन्।
मौसम विभागले राज्यको पूर्वोत्तर भागहरूमा आइतबार र सोमवार मेघ गर्जन सहित आँधी आउन सक्ने बताएको छ।
आजदेखि लागू हुने गरी न्यु साउथ वेल्स सरकारले अन्य राज्यका अनुमति पत्र वाहक प्लम्बर, ग्याँसको काम गर्ने, आर्किटेक्ट, सर्भेयर, चालक प्रशिक्षक लगायत बस चालकहरूलाई आफ्नो राज्यमा काम गर्न छुट रहेको बताएको छ।
नयाँ व्यवस्थाबाट द्रुत रूपमा घर, पसल, स्कूलहरू लगायतका पूर्वाधारहरू पुनर्निर्माणमा सहयोग पुग्ने अपेक्षा आफ्नो रहेको सरकारी भनाई छ।
मौसम विभागबाट पछिल्लो जानकारी पाउन यहाँ थिच्नुहोस्
राज्य आपत्कालिन सेवाहरूबाट पछिल्लो जानकारी लिन आफ्नो राज्यको नाममा थिच्नुहोस्ः
ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।
दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।
कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।