SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स बाढी: थप १५,००० मानिसलाई सुरक्षित स्थान तर्फ जान तयार रहन आग्रह

विगत एक हप्ता यता देखिको अविरल वर्षा जारी रहँदा, थप हजारौँ मानिसहरूलाई सुरक्षित स्थान तर्फ जान मङ्गलवार आदेश जारी हुन सक्ने सम्भावना छ।

A supplied image obtained on Monday, March 22, 2021, of NSW Fire and Rescue teams are seen assisting during the NSW floods.
Another 15,000 people in flood-affected areas may need to evacuate today. Source: NSW FIRE AND RESCUE

2 min read

Published

Updated



Skip to article content

न्यु साउथ वेल्स राज्यको दक्षिणी तटीय क्षेत्रमा मङ्गलवार भारी वर्षा हुने मौसम पूर्वानुमान रहेसँगै, थप १५,००० मानिसहरूलाई सुरक्षित स्थान तर्फ जान आदेश जारी हुनसक्ने प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताएकी हुन्।

बेरिजिक्लियन भन्छिन् कि गए रातीदेखि मौसममा थप गडबडी देखिएको छ।

"हिजो हामीले १८,००० जति मानिसहरूलाई सुरक्षित स्थान तर्फ लगिएको रिपोर्ट गरेका थियौँ र दुखका साथ भन्नुपर्छ कि आज थप १५,००० मानिसहरूलाई सुरक्षित स्थान तर्फ जान चेतावनी जारी गर्नुपर्ने आवश्यकता हुनसक्छ," उनले भनिन्।

बेरिजिक्लियनका अनुसार मङ्गलवार हक्सबरी नदी आसपासका क्षेत्र, ग्राफ्टन र भारी वर्षा हुने अनुमान भएको न्यु साउथ वेल्स साउथ कोस्टका बासिन्दाहरू स्थानान्तरणका लागि तयारी अवस्था बस्नुपर्नेछ।

"मौसममा भोलि केही सुधार हुनसक्ने भएता पनि आज भारी वर्षा हुनेछ। त्यसैले मानिसहरूलाई सतर्क रहन एकदमै बलियो सन्देश हामी दिन चहान्छौं किनकि पानी पर्न रोकिए पनि यी केही तटीय क्षेत्रहरूमा नदीको स्तर बढी नै रहन्छ भनेर हामीले बुझेका छौँ।"

Gladys Berejiklian
NSW Premier Gladys Berejiklian Source: AAP

अब आउने दिनहरू पनि थप सङ्कटग्रस्त हुनसक्ने चेतावनी पनि उनले दिएकी छिन्।

"हामीसँग केही हप्ताहरू र महिनाहरू कत्ति गाह्रो हुनेछ भन्ने बारे कुनै भ्रम छैन।"

"हामी सम्भाव्य रूपमा यसको सबैभन्दा खराब अवस्थाबाट गुज्री सकेका छैनौँ र त्यसैले हामी तयारी अवस्था रहनै पर्छ," उनले भनिन्।

यस अघि सोमवार मात्रै सिड्नीको उत्तर पश्चिमी इलाकाका बासिन्दाहरूलाई बाढीको प्रभाव क्षेत्र बढ्दै जाँदा सुरक्षित स्थान तर्फ जान तयार भएर बस्न भनिएको थियो।

सोही अवसरमा, गए राती राज्य आपतकालिन सेवा - एसइएसले ८७० वटा बाढी सम्बद्ध उद्धारका काम गरेको पनि बताइएको छ।

हक्सबरी-नेपियन नदी प्रणाली अन्तर्गतको कोलो खोलामा आएको बाढीका कारण एसइएस कहाँ ९,७०० को सङ्ख्यामा सहयोग माग्दै मानिसहरूले फोन गरेका एसइएस आयुक्त कार्लिन योर्कले जानकारी दिइन्।

उनका अनुसार कोलो खोला आसपासका क्षेत्रमा २०० भन्दा बढी घरमा बस्ने मानिसहरूलाई आज बिहान मात्रै सुरक्षित स्थान तर्फ जान भनिसकिएको छ।

"ती ग्रामीण इलाकासम्म पुग्न निकै अफ्ठेरो छ - हामी उद्धारका लागि डुङ्गा र हेलिकप्टर लिएर ती स्थानमा रहेका मानिसहरूलाई मद्दत गर्ने छौँ," योर्कले भनिन्।

हाल सुरक्षित स्थान तर्फ जान आदेश जारी गरिएका ठाउँहरू:

  • केम्पसी
  • एग्नेस ब्याङ्क्स
  • नर्थ रिचमन्ड

गम्भीर मौसमी अवस्था बारे जान्न सार्वजनिक सूचना र सोधपुछ केन्द्रलाई दिनको कुनै पनि समय १८०० २२७ २२८ मा फोन गर्नुहोस्। बाढीका कारण तत्काल सहयोगको खाँचो परे स्टेट इमर्जेन्सी सर्भिस - एसइएसलाई १३२ ५०० मा सम्पर्क गर्नुहोस्।

के तपाईँ पनि यस प्राकृतिक प्रकोपबाट प्रभावित हुनुभएको छ? आफ्नो अनुभव बाँड्न मन भए हामीलाई सम्पर्क गर्नुहोस्!


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now