SKIP TO MAIN CONTENT

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई गत ४ नोभेम्बरमा पुर्पक्षका लागि थुनामा पठाइएको छ। २२ वर्षीय लामिछानेमाथि एक जना नाबालिगको बलात्कार गरेको आरोप लागेको छ।

Former Nepali national cricket team captain Sandeep Lamichhane (C) is detained upon his arrival at Tribhuwan International Airport in Kathmandu, Nepal on Thursday, October 6, 2022.
Former Nepali national cricket team captain Sandeep Lamichhane (C) is detained upon his arrival at Tribhuwan International Airport in Kathmandu, Nepal on Thursday, October 6, 2022. Source: Getty / Rojan Shrestha/NurPhoto

3 min read

Published

By Sewa Bhattarai

Source: SBS



Skip to article content

६ सेप्टेम्बरमा लामिछाने विरुद्ध एक जना १७ वर्षे बालिकाले प्रहरीमा उजुरी गरेकी थिइन्। त्यस बेलामा लामिछाने क्रिकेट खेल्ने क्रममा ट्रिनिडाड एन्ड टोबागो पुगेका थिए।

लामिछानेले सामाजिक सञ्जालमा त्यसका विरुद्ध प्रतिक्रिया दिँदै आफू निर्दोष भएको दाबी गरेका थिए, र नेपालको कानुनको सम्मान गर्दै आफू आत्मसमर्पण गर्ने बताएका थिए। ७ सेप्टेम्बरमा काठमाण्डु जिल्ला अदालतले लामिछाने विरुद्ध अरेस्ट वारेन्ट जारी गरेको थियो।

तर लामिछाने त्यसपछि सम्पर्कविहीन भए, र उनलाई पत्ता लगाउन नेपाल प्रहरीले इन्टरपोलको सहारा लिएको थियो। ६ अक्टोबरमा लामिछाने नेपाल फर्किए, र विमानस्थलबाट उनलाई प्रहरीले हिरासतमा लिएको थियो।

१ नोभेम्बरमा काठमाण्डु जिल्ला अधिवक्ताको कार्यालयले लामिछाने विरुद्ध अभियोजन दर्ता गरेको थियो। थुप्रै दिनसम्म बयानहरू रेकर्ड गरेपछि ४ नोभेम्बरमा काठमाण्डु जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

"यो अन्तिम निर्णय होइन, तर सामान्य न्यायिक प्रक्रिया हो। मुद्दाको गम्भीरताको आधारमा, अदालतलाई त्यस्तो लाग्यो भने, आरोपितलाई थप समयका लागि पुर्पक्षका लागि थुनामा पठाउन सक्छ," सरकारी अधिवक्ता अच्युत मणि न्यौपाने बताउँछन्।

नेपालको कानुन अनुसार १८ वर्ष मुनिकी बालिकासँगको यौन सम्पर्क बलात्कार ठहरिन्छ, बालिकाको मन्जुरी भएको खण्डमा पनि नाबालिगको मन्जुरीलाई कानुनले मान्यता दिएको छैन।

आरोप प्रमाणित भएमा लामिछानेलाई १० देखि १२ वर्ष कारावासको सजाय हुनसक्छ। त्यतिन्जेलसम्म लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरिएको छ।

लामिछानेलाई प्रतिभाशाली क्रिकेट खेलाडीको रूपमा चिनिन्थ्यो।

उनले १४ वर्षको उमेरदेखि राष्ट्रिय टोलीसँग तालिम लिएका थिए, १९ वर्ष मुनिको उमेर समूहका खेलमा राम्रो खेलेका थिए, राष्ट्रिय टोलीमा पहिलो पटक अन्तर्राष्ट्रिय रूपमा १६ वर्षको उमेरमा खेलेका थिए, १७ वर्षको उमेरमा इन्डियन प्रिमियर लिगसँग करार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए, र २१ वर्षको उमेरमा राष्ट्रिय टोलीको कप्तान बनेका थिए।

अस्ट्रेलियाको बिग ब्याश लिग, क्यारिबियन प्रिमियर लिग, अबु धाबी टि२० लिग, पाकिस्तान सुपर लिग, ग्लोबल टि२० (क्यानडा), अफगानिस्तान प्रिमियर लिग, र बांग्लादेश प्रिमियर लिग जस्ता मञ्चमा खेलेका लामिछाने अन्तर्राष्ट्रिय रूपमा सर्वाधिक परिचित नेपाली खेलाडी थिए।

Sandeep Lamichhane of the Stars (left) celebrates a wicket during the Big Bash League (BBL) cricket match between the Melbourne Renegades and Melbourne Stars at Marvel Stadium in Melbourne, Friday, January 10, 2020.
Sandeep Lamichhane of the Stars (left) celebrates a wicket during the Big Bash League (BBL) cricket match between the Melbourne Renegades and Melbourne Stars at Marvel Stadium in Melbourne, Friday, January 10, 2020. Source: AAP / MICHAEL DODGE/AAPIMAGE

उनले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय रेकर्डहरू पनि तोडेका छन् र थुप्रै पुरस्कार जितेका छन्।

लामिछानेको गिरफ्तारीले नेपालमा ठुलो हलचल ल्याएको थियो, र बलात्कार, उमेरको हद, र फैसला नभइसकेको अवस्थामा आरोपितलाई कस्तो व्यवहार गर्ने भन्ने विषयमा ठुलो बहस भएको थियो। यसै नोभेम्बर महिनामा अदालत अनुसन्धानको आगामी चरणमा जाने अपेक्षा गरिएको छ।

यदि तपाईँ वा तपाईंले चिनेको कोही व्यक्ति पारिवारिक, घरेलु वा यौन हिंसाबाट प्रभावित भएका छन् भने, राष्ट्रिय यौन हमला, घरेलु र पारिवारिक हिंसा परामर्श सेवा १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्। विपद्को समयमा वा आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now