देशको सबै भागहरुमा अहिलेसम्म नदेखिएको दरमा कोरोनाभाईरस बढी रहेको र यसको नियंत्रणका लागि लकडाउन अत्यावशक रहेको जोन्सनले बताए। बेलायतका लागि कोरोनाभाईरसको नियंत्रणका लागि गरिएको यो तेस्रो राष्ट्रिय लकडाउन हो।
कोरोनाभाइरसको कारणले अहिलेसम्म यूकेमा, २.७ करोडभन्दा बढी संक्रमित भएका छन् भने ७५ हजारभन्दा बढीको ज्यान गईसकेको छ।
क्रिसमस र नयाँ बर्षको विदा पछि भर्खरै खुलेका विधालयहरु आजदेखि बन्द हुनेछन् र साथै सबैजनालाई घरबाटै काम गर्न आदेश दिईएको छ।
गत २४ घन्टामा, कोरोनाभाइरसकको संक्रमणको कारण ४०७ जनाको ज्यान गईसकेको छ भने, थप ५८ हजारभन्दा बढीमा संक्रमण भेटिएको छ।
अहिले ब्रिटेनमा फैलिरहेको किटाणु कोरोनाभाईरसको परिवर्तित रुप रहेको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन्।
“हामीले पहिले जारी गरेका विभिन्न प्रतिबन्धहरु हुँदाहँदै पनि कोरोनाभाइरसको परिवर्तित रुप फैलिरहेको छ,” राष्ट्रलाई सम्बोधन गर्ने क्रममा जोन्सनले भने। “यस भाईरसलाई समयमै नियन्त्रण गर्न हामीले लकडाउनमा जाने निर्णय गरेका हौ।“
आज जारी गरिएको आदेश अनुसार, आवश्यक कामको वर्गमा पर्नेहरुले मात्र आफ्ना बाल-बालिकालाई विधालय पठाउने मिल्नेछ, अन्यथा अरु सबैले घरमै बसेर अनलाईन मार्फत पढ्नु पर्ने हुन्छ। त्यसैगरी, विश्विधालयहरु पनि मध्य-फेब्रुअरीदेखि मात्र खुल्नेछन्।
आवश्यक सेवामा नपर्ने हेयर सेलुन लगायतहरु बन्द हुनेछन् भने, रेष्टुरन्ट र क्याफेहरुबाट खाजा-नास्ता लिए पनि त्यहाँ बसि खाना मिल्दैन।
हिजो सोमबारसम्म, बेलायतभरि २६ हजारभन्दा बढी कोरोनाभाईरसले संक्रमित बिरामीहरु अस्पतालमा भर्ति थिए। यो संख्या गत हफ्ताको तुलनामा ३० प्रतिशतले बढी रहेको छ।

कोरोनाभाईरस शुरु हुने बेला- गत मार्चमा पनि यति ठूलो संख्यामा संक्रमण फैलिएको थिएन। सरकारी अधिकारीहरुको अनुसार, त्यो समयभन्दा समक्रमण भई अहिले अस्पतालहरुमा भर्ति हुनेहरुको संख्या झण्डै ३० प्रतिशतले बढेको छ।
बेलायतमा कोरोनाभाईरस विरुध्दको खोप वितरण हुन थाले पनि, यसले हाल दक्षिण अफ्रिकाबाट त्यहाँ पुगेको कोरोनाभाईरसकको परिवर्तित रुपलाई नियन्त्रण गर्ने कुरामा वैज्ञानिकहरुले चिन्ता व्याक्त गरेका छन्।
हाल व्यापक रुपमा कोरोनाभाईरस संक्रमण फैलिनुको कारण- बेलायत र दक्षिण अफ्रिकामा शुरु भएका कोरोनाभाइरसको परिवर्तित रुप मुख्य कारकको रुपमा रहेको स्थानिय स्वस्थ्य अधिकारीहरुले बताएका छन्।
बेलायतका स्वस्थ्य मंत्री म्याट ह्यानकक्कले दक्षिण अफ्रिकामा शुरु भएको भाईरसलाई लिएर चिन्ता निकै बढेको स्वीकार गर्छन्।
“कोरोनाभाईरसको यो परिवर्तित रुप निकै संक्रमण फैलाउने भएकाले हाम्रो स्वस्थ्य सेवा जटिल समस्यामा पर्न सक्छ, त्यहि भएर हामीले अहिलेको लागि दक्षिण अफ्रिकाबाट आउने विमानहरुलाई प्रतिबन्ध लगाएका छौ,” उनले भने।
यसैबिच, स्कटल्याण्डले पनि आफ्नो देशमा लकडाउनको आदेश दिएको छ। सोमवारको मध्यरातदेखि लागू हुने गरी जारी गरएको लकडाउनको आदेश अहिलेसम्मका सबैभन्दा कडा प्रतिबन्धहरु रहेका छन्।
बेलायतमा जस्तै त्यहा पनि कोरोनाभाईरसकको परिवर्तित रुपले संक्रमण उग्ररुपले फैलाएको सरकारी अधिकारीहरुको भनाई छ।
कोभिड-१९ को बारेमा आफ्नो भाषामा थप जानकारीका लागि sbs.com.au/coronavirus मा जानुहोस्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
