प्रमुख विषयहरू:
- कोभिड-१९ को परिवर्तित रूप विभिन्न राष्ट्रहरूमा फैलिँदै
- अस्ट्रेलियामा खोप वितरण छिटो थाल्न विज्ञहरूको माग
- भाइरसको नयाँ रूपविरुद्ध खोपको प्रभावकारिता बारे अनुसन्धान जारी
कोभिड-१९ भाइरसको नयाँ परिवर्तित रूप अर्थात् भेरियन्टको सङ्क्रमण बेलायत र साउथ अफ्रिकामा बढ्दो छ।
कोरोना भाइरसको प्रारम्भिक रूपको तुलनामा यस नयाँ भेरियन्टका कारण दुवै देशमा सङ्क्रमणको गति झन् तीव्र भएको वैज्ञानिकहरूको विश्वास छ।
पहिलेको भन्दा यस पछिल्लो भाइरसको सङ्क्रमण दर ७० प्रतिशत बढी रहेको अधिकारीहरूले बताएका छन्।
बेलायतमा नोभेम्बरमा भएको लकडाउनको समयमा सङ्क्रमितको सङ्ख्या निकै बढेको थियो र गत हप्ता यो सङ्ख्या दुई गुणा भन्दा बढी मात्रामा बढेको हो।
कोभिड-१९ भाइरसको परिवर्तित रूप आखिर के हो?
कुनै पनि भाइरसको प्रारम्भिक चरणमा रहेका विशेषता अर्थात् जेनेटिक कोडहरूमा केही परिवर्तन आउँदा त्यसका परिवर्तित रूप अर्थात् भेरियन्ट पैदा हुने युनिभर्सिटी अफ सिड्नीका अन्वेषक होमनाथ ढुङ्गाना बताउँछन्।
यसले भाइरसको लक्षण, सङ्क्रमण गति र हानि गर्ने क्षमतामा असर गर्ने उनको भनाइ छ।

SARS-CoV-2 भनेर चिनिने कोभिड-१९ भाइरसको भेरियन्टलाई VUI–202012/01 या lineage B.1.1.7 नाम दिइएको छ।
कोरोना भाइरस भने तुलनात्मक रूपमा इन्फ्लूएन्जा भाइरस जस्तै स्थिर हुन्छन्, र अन्य भाइरस झैँ तीव्र गतिमा भने परिवर्तन हुँदैनन्।
भाइरसका विशेषताहरूमा प्रत्येक महिना केही परिवर्तन हुने गरेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथम बताउँछन्।
'भाइरसले फैलिने प्रक्रियालाई जारी राख्नका लागि आफूलाई सजिलै सर्न सक्ने र कम घातक बनाउँदै जान्छ।', उनले बताए।
'र जनसङ्ख्यामा सङ्क्रमण निकै धेरै रहेको समयमा यी परिवर्तनहरू आउने गर्छन्।'
कोभिड-१९ भाइरसका यी पछिल्ला परिवर्तित रूपहरूले बढी घातक असर गर्ने कुनै प्रमाण भने अहिले सम्म छैन।
यो पनि पढ्नुहोस्:

अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा
यी भाइरसहरू मानव शरीरका कोशिकाहरूमा पहिले भन्दा सजिलै सर्ने भएकाले सङ्क्रमण छिटो फैलिएको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्।
सङ्क्रमण गति किन बढेको भन्ने बारे अझै ठोस उत्तर नभएको अक्स्फर्ड विश्वविद्यालयका महामारी सम्बन्धी विज्ञ प्राध्यापक पिटर होर्बीले बताए।
विभिन्न देशहरूमा फैलँदो सङ्क्रमण
बेलायतमा देखिएको कोभिड-१९ को भेरियन्टमा २३ वटा परिवर्तित विशेषताहरू देखिएका छन् भने साउथ अफ्रिकामा देखिएको भाइरसमा पनि केही भिन्नताहरू देखिएका छन्।
सबै भन्दा पहिले इंग्ल्यान्डको केन्टमा २० सेप्टेम्बरमा पत्ता लागेको भाइरसको यस उत्परिवर्तित रूप अहिले उक्त देशको लन्डन,पूर्वी तथा दक्षिण पूर्वी भागहरूमा ठूलो सङ्ख्यामा फैलन जारी छ।

यो भाइरसको सङ्क्रमण गति कोभिड-१९ को प्रारम्भिक रूप भन्दा ७० प्रतिशत बढी रहेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
विभिन्न देशहरूले युकेका विमानहरू माथि निषेध जारी गरे तापनि, युरोप लगायत अन्य महादेशहरूमा पनि सङ्क्रमण फैलिएको छ।
युरोप महादेशमा यी देशहरूमा भाइरसको यस परिवर्तित रूपका सङ्क्रमित फेला परेका छन् - नेदरल्यान्ड्स, डेनमार्क, इटाली, जर्मनी, स्विजरल्याण्ड, फ्रान्स, स्पेन, स्विडेन। त्यस्तै, जापान, सिंगापुर र क्यानडामा पनि सङ्क्रमितहरू फेला परेका छन्।
अस्ट्रेलियाको सन्दर्भमा
अहिले सम्म अस्ट्रेलियामा उक्त भाइरससँग सम्बन्धित ५ मामिलाहरू भेटिएका छन् - दुई वटा न्यु साउथ वेल्समा, दुई वटा भिक्टोरियामा र एउटा साउथ अस्ट्रेलियामा। यी सबै बाहिरी देशबाट अस्ट्रेलिया भित्रिएका यात्रुहरू हुन् र हाल होटेल क्वारेन्टिनमा रहेकाले समुदायमा सङ्क्रमण नफैलिएको बताइएको छ।
अस्ट्रेलियामा यस भाइरस फैलिन सक्ने विषयमा अनुगमन जारी रहेको र वर्तमान अवस्थामा चिन्ता लिन नपर्ने अस्ट्रेलियाली स्वास्थ्य संरक्षण प्रमुख समितिले जारी गरेको एक बयानमा बताएको छ।
योपनिपढ्नुहोस्:

अस्ट्रेलियामा कोरोना भाइरसको खोप कहिले आउँछ त?
यता युनिभर्सिटी अफ न्यु साउथ वेल्सकी सङ्क्रामक रोग विशेषज्ञ प्राध्यापक राइना म्याकनटायरले भने उक्त सङ्क्रमण समुदायमा फैलिन सक्ने चेतावनी दिएकी छिन्।
'अस्ट्रेलिया भएको हरेक सङ्क्रमण अन्तराष्ट्रिय सिमानाहरूबाट नै आएको छ।" हामी निकै सावधान हुनुपर्छ।', उनले भनिन्।
'भाइरसको परिवर्तित रूप बालबच्चाहरूमा पनि फैलिने सम्भावना देखिएको छ। त्यसैले, विद्यालयहरू बन्द गर्ने र खुला राखे अपनाइने नीतिहरूको बारेमा पनि ध्यान दिइनु पर्छ।'
यो पनि पढ्नुहोस्:

अस्ट्रेलियामा कोरोना भाइरसको खोप कहिले आउँछ त?
यस नयाँ भेरियन्ट विरुद्ध कोभिड-१९ का वर्तमान खोपहरू कत्तिको प्रभावकारी होलान्?
यो भाइरस समुदायमा देखा परेमा सङ्क्रमण तीव्र गतिमा फैलन सक्ने भएका अस्ट्रेलियामा फाइजर-बायोएनटेक, एस्ट्राजेनेका र नोभाभक्स खोपका वितरण मार्च भन्दा छिटो गरिनु पर्ने म्याकनटायरको भनाइ छ।
अस्ट्रेलियाली सरकारलाई अन्य खोप कम्पनीहरूसँग पनि थप डोजहरूका लागि सम्झौता गर्न उनले आग्रह गर्दै आएकी छिन्।

बायोएनटेक र मोडर्नाले आफ्ना खोपहरू भाइरसका नयाँ भेरियन्ट विरुद्ध प्रभावकारी हुने अपेक्षा राखेका छन्।
कोरोना भाइरसको प्रवृत्तिलाई बुझ्न थप परीक्षणहरू गरिनु पर्ने अन्तराष्ट्रिय भ्याक्सिन इन्स्टिच्युटका महा निर्देशक जेरोम किम बताउँछन्।
'अहिलेको अवस्थामा खोपहरूले यस भाइरस विरुद्ध काम गर्ने हाम्रो अनुमान छ। तर ठोस उत्तरका लागि विश्वभर थुप्रै ल्याबहरूले खोपले भाइरसको नयाँ भेरियन्ट माथि काम गर्छ कि गर्दैन भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्।',उनले भने।
कोभिड-१९ को बारेमा आफ्नो भाषामा थप जानकारीका लागि sbs.com.au/coronavirus मा जानुहोस्।





