SKIP TO MAIN CONTENT

'दाइ कता हो तपाईँ?': सिड्नीबाट सम्पर्क विहीन भएका पोखराका सबिन बरालको खोजी गर्दै परिवार

पोखरा स्थायी ठेगाना भई हाल सिड्नीमा सूचना प्रविधि (आइटी) क्षेत्रमा कार्यरत २६ वर्षीय सबिन बरालको खोजी गरिदिन परिवारले आग्रह गरेको छ।

NSW Police say Sabin Baral, 26, was last seen at a home at Victoria Road, Punchbowl on Sunday, 19 November 2023.
Sabin Baral, aged 26, was last seen at a home on Victoria Road, Punchbowl, on Sunday 19 November 2023, says the police. Credit: Facebook/NSW Police Force

2 min read

Published

Updated

By Sunita Pokharel

Source: SBS



Skip to article content

आइतवार, १९ नोभेम्बरमा अन्तिम पटक पन्चबलको भिक्टोरिया रोडमा रहेको एक घरमा देखिएका सबिन बराल त्यस पश्चात् सम्पर्क विहीन भएको न्यु साउथ वेल्स प्रहरीद्वारा प्रकाशित एक सूचनामा लेखिएको छ।

शुक्रवार, १५ डिसेम्बरमा आफ्नो वेबसाइट र सोसियल मिडियामा समाचार जारी गरेको प्रहरीले हाल पनि उनको पछिल्लो अवस्थाबारे जानकारीका लागि सर्वसाधारणमा अपिल गरिरहेको बताएको छ।

प्रहरीले उनको पृष्ठभूमिबारे जानकारी नभएको बताए पनि एसबीएस नेपालीको सम्पर्कमा आएका सबिनका परिवारले उनको पहिचान पुष्टि गरेका हुन्।

सन् २०१७ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका सबिनसँग अन्तिम पटक गत नोभेम्बर २२ मा कुरा भएको उनका भाइ सुजन बरालले एसबीएस नेपालीलाई बताएका छन्।

सुजनका अनुसार हप्तामा एक/दुई पटक परिवारसँग कुराकानी गर्ने सबिन यति लामो समय कहिल्यै पनि सम्पर्क विहीन भएका थिएनन्।

र पछिल्लो कुराकानी पनि सामान्य भएको उनको भनाइ छ।

अस्ट्रेलियामा एक्लै बस्दै आएका सबिन बस्ने घरका घरबेटीले डिसेम्बर १२ मा उनी घर नआएकोबारे परिवारलाई जानकारी दिएको सुजनले बताए।

The family says Sabin Baral last spoke to them on November 22, 2023.
The family says Sabin Baral last spoke to them on November 22 Source: Supplied / Sujan Baral

उनको खोजी गरिदिन क्यान्बरास्थित नेपाली दूतावासमा पत्राचार गरिसकेको परिवारको भनाइ छ।

दूतावासका उपप्रमुख कुलबहादुर मगरले प्रहरीबाट सबिनको खोजीका लागि सहयोग गर्न पत्राचार भए पनि परिवारको तर्फबाट सम्पर्क नभएको बताएका छन्।

यता गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका प्रतिनिधिहरूले सबिन बारे आफूहरूलाई पनि प्रहरीकै सूचना पढेर मात्र थाहा भएको बताएका छन्।

सबिन सम्पर्कमा नआउँदा बुवा आमा चिन्तामा रहेको भन्दै सुजनले भने, "कसैले सबिन बराललाई देख्नु भएको छ भने प्रहरीमा खबर गर्नु होला।"

"दाइ कता हो तपाईँ? छिटो सम्पर्कमा आउनु," सबिनका लागि उनका भाइ सुजनको सन्देश छ।

सबिनको ठेगाना बारे जानकारी भएका जो कोहीलाई क्याम्प्सी पुलिस वा क्राइम स्टपर्सलाई १८०० ३३३ ००० मा सम्पर्क गर्न आग्रह गरिएको छ। साथै घटनाबारे केहि जानकारी भए क्राइम स्टपर्स को वेबसाइटमा जान सकिन्छ। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now