Chef Santosh Shah as a child (L) and as a contender on MasterChef UK (R).
Chef Santosh Shah as a child (L) and as a contender on MasterChef UK (R).
This article is more than 2 years old

दुई दशक अघि कक्षा १० 'पास' गर्न नसकेका शेफ सन्तोष साहको बारेमा अहिले सोही कक्षामा पढाइँदै

एसएलसीमा पास हुन नसकेपछि भारत गएका सन्तोष साहको बीबीसीद्वारा सञ्चालन गरिएको मास्टरशेफ युकेमा पाएको सफलताको कथा नेपालको १० कक्षाको पाठ्यपुस्तकमा समावेश गरिएको छ। अस्ट्रेलियामा नेपाली खानाको स्वाद चखाउन आइपुगेका साहले एसबीएस नेपालीसँग आफ्नो सङ्घर्ष र सफलताको यात्राबारे बताएका छन्।

Published

Updated

By Sunita Pokharel
Source: SBS
Image: Chef Santosh Shah as a child (L) and as a contender on MasterChef UK (R). (Facebook / Santosh Shah)

कक्षा १० सँग जोडिएका सन्तोष साह

संयुक्त अधिराज्यको मास्टरशेफ नामक खाना पकाउने प्रतियोगिताबाट चर्चामा आएका सन्तोष साहका बारेमा नेपालका विद्यालयहरूमा पढाइन थालिएको छ।

सरकारी तथा निजी विद्यालयहरूमा अध्यापन गराइने कक्षा १० को पुस्तकमा साहको अन्तर्वार्तामा आधारित १६ पृष्ठ लामो सामाग्री समावेश गरिएको छ।

एसएलसीमा अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भए पछि पढाइलाई बिट मारेका साहका बारेमा अहिले अङ्ग्रेजी पुस्तकमा नै लेखिएकोबारे उनलाई भने आफ्नै विद्यालयका शिक्षकले खबर गरेका थिए।

Santosh Shah featured in school books
Chef Santosh Shah's journey has been featured in the year 10 textbook in Nepal. Source: Supplied / Prakriti Adhikari

"मेरो टिचरले फोटो स्क्रिनशट गरेर पठाइ राखेको रहेछ, सन्तोष आइ एम प्राउड अफ यू भनेर।" उनले एसबीएस नेपालीलाई बताए।

शिक्षा पत्रकार प्रकृति अधिकारीले पछिल्लो राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अन्तर्गत अहिले कक्षा १० का विद्यार्थीहरूले पहिलो पटक साहको बारेमा लेखिएको पाठ्यपुस्तक पढ्नु पर्ने पुष्टि गरे।

"एउटा पाठ्यक्रम हुन्छ र त्यसकै आधारमा पाठ्य पुस्तक लेख्ने चलन हुन्छ राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ नयाँ हो र त्यो अनुसार यो वर्षबाट पाठ्यक्रम र पाठ्यपुस्तक दुवै परिवर्तन भएको हो।"

santosh shah.jpeg
Santosh Shah during his Sydney tour. Source: SBS / Sunita Pokharel

सिरहा जिल्लामा पर्ने त्यति बेलाको एउटा सानो गाउँ कर्जन्हा (हाल कर्जन्हा नगरपालिका)मा आफ्नो बाल्यकाल बिताएका शेफ सन्तोष साह यति बेला नेपाली खानाको स्वाद लिएर विश्व भ्रमण गरिरहेका छन्।

यसै क्रममा अस्ट्रेलियाको सिड्नी आइपुगेका साहले एसबीएस नेपालीसँगको कुराकानीमा आर्थिक अवस्था कमजोर भएका कारण परिवारलाई सहयोग गर्न आठ वर्षको हुँदा देखि बजारमा पाउरोटी लगेर बेच्ने गरेको स्मरण गरे।

एसएलसीमा उत्तीर्ण हुन नसके पछि गाउँघरका अन्य पुरुष सदस्यहरूको सिको गर्दै कामको खोजीमा भारत पुगे र त्यहीँबाट सुरु भयो उनको "भान्से" करिअर।

सेफ बनेर टन्न कमाउने रहर

भारतको एक रेस्टुरेन्टमा 'किचेन पोर्टर' वा भान्सा सहयोगीका रूपमा काम गरिरहेका साहलाई महिनाको तलब झन्डै ९ सय भारतीय रुपैयाँ (लगभग १५ सय नेपाली रुपैयाँ) दिइएको र त्यसले अथाह खुसी दिएको सम्झना छ।

मैले भाडा माझेर जुन स्यालरी कमाउँथेँ, मेरो ममीलाई कमसेकम छ महिनाको रासन पानी, खाना पिना (पुग्थ्यो)।
सन्तोष साह

तर त्यति तलबमा नै सीमित भएर नबस्ने सोच उनलाई शेफको तलब सुने पछि आएको बताए।

र शेफ बन्ने चाहले साहलाई यसका लागि चाहिने डिप्लोमा लगायतका सम्पूर्ण पढाइ गर्न प्रेरित गर्‍यो।

"(शेफ बन्नका लागि) पढ्नु पर्ने रहेछ भनेर पत्ता लगाएँ, आफू त एसएलसी फेल मान्छे।"

भारत बसाइको सात वर्षमा "किचेन ह्याण्डबाट एक्जुकेटिभ शेफ" बनेका साहका बारेमा पत्र पत्रिकामा पनि लेखिन थालिएको थियो।

आफ्नो करिअरलाई माथि लग्न पढ्न थालेका उनलाई पढाइले सर्टिफिकेट र डिग्री दिए पनि राम्रो मान्छे बन्न जीवन भोगाइले सिकाउँछ भन्ने लाग्छ।

"मैले युनिभर्समा युनिभर्सिटी क्लियर गरेँ त्यसपछि एजुकेसन सुरु गरेँ।"

मास्टरशेफ यात्रा

Image 1 - santosh shah.jpg
Source: SBS / Dinita Rishal

सन् २०१० मा बेलायत गएका उनी ८ बर्षको अन्तरालमा नै लन्डनकै पाँच तारे होटेलको एक्जुकेटिभ शेफ बनिसकेका थिए भने विभिन्न खाना पकाउने प्रतियोगिताहरूमा पनि भाग लिइसकेका थिए।

मास्टरशेफ प्रतियोगितामा पाएको सफलताले "सेलिब्रेटी" बनेका सन्तोष साहले यस अघि नै नेशनल शेफ अफ दि यरमा सेमिफाइनल सम्मको यात्रा तय गरेको बताए।

"म कम्पटिसनमा गई राख्ने मान्छे हो। जित्न कुनैमा जितिन।"

मास्टरशेफ प्रतियोगितामा पनि सन् २०२० मा तेस्रो स्थानमा चित्त बुझाएका साहले सन् २०२१ मा आयोजित मास्टरशेफ रिम्याचमा भने जित हासिल गरेका थिए।

मिथिला संस्कृतिका साथ नेपाली खानाको प्रचार

बाल्यकालमा पाएको स्वादलाई मनभरि लिएर अहिले सन्तोष साह मिथिला खानाको प्रचारमा लागेका छन्।

यसै क्रममा जनकपुरमा ‘मिथिला थाली बाइ शेफ सन्तोष शाह’ नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् भने आफ्नो जन्मस्थान कर्जन्हामा घरको स्वाद दिने रेस्टुरेन्ट सञ्चालन गरेको उनले बताए।

Image 3 santosh shah.jpg
Source: SBS / Dinita Rishal

उक्त रेस्टुरेन्टमा आर्थिक समस्यामा रहेका महिलाहरूलाई रोजगारी दिएको उनको भनाइ छ।

"विधवाहरूलाई पनि काम दिइराखेको छु मैले त्यहाँ, र उहाँको बच्चाहरूलाई पनि कम्पनीले पढाइदिएको छ, जबसम्म हाम्रो कम्पनीमा काम गर्नु हुन्छ।"

उनले अब जीवनको ५० प्रतिशत नेपालमा बस्ने र ५० प्रतिशत समय विदेशलाई दिने आफ्नो योजना एसबीएस नेपालीलाई सुनाए।

साह अहिले विश्वका विभिन्न स्थानहरूमा 'पप अप किचेन' कार्यक्रममा व्यस्त रहेका छन्।

लन्डन, स्कटल्यान्ड, जर्मनी हुँदै सिड्नीसम्म आइपुगेका उनले जापान र दुबईमा जाने निश्चित भइसकेको बताए।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now