भिक्टोरियामा आज विनाशकारी डढेलोको स्थिति पुग्ने बताईदै गर्दा, यदि ग्रामीण भेकका मानिसहरूका घरहरू डढेलो प्रतिरोधात्मक प्रविधि अनुसार नबनेको भए, उनीहरू जति सक्दो छिटो मुख्य सहर तर्फ लाग्नु पर्ने निर्देशन दिइएको छ।
मौसम विभागले मेलबर्न लगायत राज्यका अन्य स्थानमा आज तापक्रम ४० डिग्री भन्दा बढी पुग्ने बताउँदै गर्दा, तेज गतिको वायु प्रवाह भएका कारण म्याली र नदर्न कन्ट्री जिल्लाहरूमा कोड रेड चेतावनी जारी गरिएको हो।
“यदि राज्यका ती स्थानहरूमा आज आगो सुरु भएमा, त्यहाँ लाग्ने अप्रत्याशित एवं तीव्र गतिका आगजनीका घटनालाई नियन्त्रण गर्न सकिने छैन, राज्यका आकस्मिक व्यवस्था आयुक्त एन्ड्रु क्रिस्पले भने।
“यदि तपाईँ ती स्थानहरूमा बस्नुहुन्छ र आगजनीका घटनाले तपाईँलाई प्रभावित गर्छ भन्ने जस्तो लागेको खण्डमा प्रमुख क्षेत्रीय केन्द्रहरू तर्फ जानुहोस्।”
दमका बिरामीहरू उच्च सतर्कता अपनाउन आग्रह
भिक्टोरियामा बसोबास गर्ने दमका बिरामीहरूलाई पनि आज उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। वायुमा ज्यादै बढी सङ्ख्यामा पराग कणका साथै, तीव्र गतिको बतास, डढेलो र आँधीबेहरीको सम्भावना बिच दमका बिरामीहरूलाई निकै अफ्ठेरो हुनसक्ने चेतावनी नेशनल आस्थ्मा काउन्सिल अस्ट्रेलियाले दिएको हो।

तीन वर्ष अघि, लगभग यस्तै स्थितिको बखत १० जना दमका रोगीहरूको मृत्यु भएको थियो भने हजारौँ अन्यले उपचार गराउनु परेको थियो।
“हामीले निकै ठुलो मूल्य चुकाएर दमको रोकथाम तथा जागरूकता बारे अत्यन्त दुःखपूर्ण पाठ सिकेका छौँ , आस्थामा काउन्सिलका प्रमुख कार्यकारी अधिकृत सियोबन ब्रफीले भनिन्।
“दमबाट पीडित हुन आगजनी भएकै ठाउँमा हुनुपर्छ भन्ने छैन, धुवाँ वा त्यसबाट उत्पन्न भएको तुवाँलो देखियो भने पनि त्यसले दम पीडितलाई हानि पुर्याउँछ।”
तास्मानिया पनि गम्भीर डढेलोको खतरामा
अस्ट्रेलियाको सुदूर दक्षिणी राज्य - तास्मानिया पनि आज गम्भीर डढेलोको खतरामा रहेको बताइएको छ।
तास्मानिया अग्नि सेवाका उप-प्रमुख ब्रुस ब्याटका अनुसार उनी मातहतका कर्मचारी आजसम्मकै सबैभन्दा खराब आगजनी लाग्ने परिस्थितिको सामना गर्न तयारी स्थितिमा तैनाथ छन्।
