"बुशफायर" र "क्लाइमेट चेन्ज" बिचको सम्बन्ध

न्यु साउथ वेल्स लगायत क्विन्सल्याण्ड र भिक्टोरिया सहित अस्ट्रेलियाका अन्य भूभागमा दन्की रहेको डढेलो जलवायु परिवर्तनसँग सिधा रूपले जोडिएको वैज्ञानिकहरूले बताउँदै गर्दा यती खेर अस्ट्रेलियामा शाब्दिक युद्ध सुरु भएको छ।

A firefighter defends a property in Torrington, near Glen Innes,

A firefighter defends a property in Torrington, near Glen Innes, Source: AAP

अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रहरूमा अभूतपूर्व सङ्ख्यामा लागेका भीषण डढेलोका कारण यतिखेर घर सम्पत्ति मात्रको नाश भएको छैन, जीवन पनि गुमेका छन्।

विषम परिस्थिति भएर नै एक दशकमा पहिलो पल्ट न्यु साउथ वेल्स स्थित, यसपालिको बाहिरी सिड्नी र बृहत् हन्टर क्षेत्रमा लागेका डढेलोलाई “विनाशकारी”को दर्जा दिइएको छ।

एक दशक अगाडी भिक्टोरियाले यस्तै डरलाग्दो डढेलोको प्रकोप सामना गरेपछि अस्ट्रेलियाभर नै प्राकृतिक रूपमा लाग्ने आगलागीको श्रेणीमा एकरुपता ल्याइएको थियो।

उता, अनुसन्धानकर्ताहरूको कुरा मान्ने हो भने यसरी ठुला-ठुला आगलागी हुनुमा जलवायु परिवर्तनको निकै गहिरो भूमिका छ।

 

विज्ञान के भन्छ?

eeb187f1-e6d7-42d0-a5cd-5ce020d88ef2

अस्ट्रेलियाको अग्नि मौसम क्रमिक रूपमा लामो-लामो हुनुका साथै अझ कडा हुँदै गइरहेको र त्यसो हुनुको मुख्य कारण मौसम परिवर्तन भएको बारे धरै नै वैज्ञानिकहरू सहमती जनाउँछन्।

मौसम विभागले अघिल्लो वर्ष जारी गरेको एक रिपोर्ट अनुसार सन् १९१० यता अस्ट्रेलियाको औसत तापक्रम एक डिग्री सेल्सियसले बढेको छ।

उक्त रिपोर्टका अनुसार, मौसम परिवर्तन हुँदै जाँदा, अत्यधिक गर्मी हुने घटनाहरूका साथै खडेरी जस्ता प्राकृतिक प्रकोपहरूको गम्भीरतामा पनि वृद्धि भएको छ।

 

“बुशफायर” कसरी सुरु हुन्छ?

a1b660d6-1d51-4567-90a9-e55e2f5af274

वलङ्गगङ्ग विश्वविद्यालयको पर्यावरणीय व्यवस्थापन केन्द्रका निर्देशक रस ब्राडस्टकका अनुसार, बुशफायर वा डढेलो सुरु हुन चार प्रमुख तत्त्वहरूको आवश्यकता रहन्छ र ती सबै जलवायु परिवर्तनसँग सम्बन्ध राख्छन्।

“पहिलो त…सतहभर आगो लाग्न सक्ने इन्धन तयारी अवस्थामा चाहिन्छ,” उनी भन्छन्।

“अनि दोस्रोमा चाहिँ उक्त इन्धन सुक्खा र त्यसै गरी तेस्रोमा तातो, बतास लाग्ने र कम आर्द्रता भएको मौसम हुनुपर्छ। यसो भयो भने आगो एक पटक सल्केपछि फैलन सजिलो हुन्छ।”

“अन्त्यमा गएर प्रज्वलित हुन कि मानिसहरूको गतिविधि त्यस्तै हुनुपर्‍यो वा हैन भने बिजुली चम्किनु पर्‍यो,” उनले स्पष्ट पार्दै भने।

ब्राडस्टकले हालसालै प्रकाशित भएका केही प्रमाणहरूको हवाला दिँदै भने, "अस्ट्रेलियामा सुक्खा जाडो याम बढ्दै जानु र डढेलो लाग्ने मौसम साबिकको भन्दा चाँडो सुरु हुनु जलवायु परिवर्तनसँग सिधै गएर जोडिन्छ।”

“हो, अहिलेको (न्यु साउथ वेल्स) घटनालाई आजका मितिमा जलवायु परिवर्तनसँग जोडेर हेर्न नमिल्ला तर ती घटनाहरू एक आपससँग जोडिन्छन् भन्न हाम्रोसाथ बलिया सबुत प्रमाणहरू छन्।”

 

के जोखिम घटाउने काममा लगाइएको प्रतिबन्धहरूको दोष छ त?

94ee1747-a049-401d-8142-8f0aa13680d9

सङ्घीय सरकारका केहीको कुरा मान्ने हो भने, प्राकृतिक रूपमा वा मानिसहरूले सल्काएर डढेलो लाग्नु पूर्व, आगजनीका खतरा भएका स्थानहरूमा नियन्त्रित रूपमा जोखिम ह्रास गर्न लगाइने आगो माथि कडा गरिएको प्रतिबन्धका कारण, यस वर्ष अधिक जोखिम उत्पन्न भएको हो।

ब्याकबर्निङ्ग भनिने यस्तै अर्को प्रक्रियामा चाहिँ जारी डढेलो बढ्दै जाँदा क्षति हुने अनुमान गरिएको स्थानमा इन्धन घटाउन नियन्त्रित रूपमा आगो सल्काउने गरिन्छ।

तर, तास्मानिया विश्वविद्यालयको फायर सेन्टर रिसर्च हबका निर्देशक डेभिड बोम्यान भने जोखिम घटाउन गरिने यस्ता कार्यहरूमा भएको कटौतीलाई मात्र दोष दिन नमिल्ने बताउँछन्।

“यो सबैको केन्द्रमा जलवायु परिवर्तन रहेको सङ्केत हामीसँग छ। अति खडेरी र गृष्म याम जस्तै गरी डढेलोका लागि उपयुक्त मौसम वसन्त ऋतु तिरै देखिने थालेको छ,” उनले सोमबार एबीसी रेडियोलाई भने।

“अब इन्धन घटाउँदा केही मद्दत त अवश्य प्राप्त हुन्छ, तर त्यो कार्यमा ह्रास हुँदा मात्रै डढेलो सङ्कट बढेको भन्न मिल्छ - अवश्य मिल्दैन।”

 

अब के अपेक्षा गर्न सकिन्छ?

Bushfire
Source: AAP

मौसम विभागले सन् २०१७ र २०१८ अस्ट्रेलियाकै इतिहासमा सबैभन्दा बढी गर्मी मापन गरिएका वर्षहरूमा क्रमशः तेस्रो र चौथो भएको जनाएको छ।

अनि, अप्रिल महिनामा अग्नि नियन्त्रण सेवाका २३ जना भूतपूर्व प्रमुखहरूले जलवायु परिवर्तनका कारण मौसम अत्यन्त बिग्रन थालेको र त्यसले मानिसहरूलाई जोखिममा पारेको बताएका थिए।

त्यसै गरी, केही महिना अघि बुशफायर एण्ड नेचुरल ह्याजार्डस् कूअपरेटिभ रिसर्च सेन्टरले डढेलो बारे आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा सामान्य अवस्थामा भन्दा बढी आगलागी हुने सम्भावना व्यक्त गरेको थियो।

“सबै प्रमाणहरूले तापक्रम दीर्घकालीन औसत दर भन्दा एक डिग्री बढी रहेको देखाएका छन्। यस कारणले संसारभर नै डढेलोको मौसम साबिकको भन्दा अगाडी सरेको छ। यसलाई अन्तर्राष्ट्रिय रूपमै नोट गरिएको छ,” उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत रिचार्ड थर्नटनले भने।

“अब डरलाग्दा किसिमका आगजनी हुने वर्षहरू बिचको अन्तराल घट्दै जानेछन् भने डढेलो लाग्ने मौसममा आगजनी हुने दरमा पनि वृद्धि हुँदै जानेछ। हामीले यस्ता घटना अझ छिटो-छिटो रूपमा भएको देख्नेछौँ।”

के जलवायु परिवर्तन माथि अङ्कुश लगाउन सम्भव छ?

Climate change activists are planning a week of protests in Melbourne from Monday until Sunday.
Climate change is blamed for the worst drought and bushfires. Source: AAP

अघिल्लो वर्ष संयुक्त राष्ट्रसङ्घले प्रकाशित गरेको एक रिपोर्टका अनुसार कार्बन उत्सर्जन घटाउने आफ्नो लक्षसम्म अस्ट्रेलिया पुग्न सकेको थिएन।

उक्त रिपोर्टले अस्ट्रेलियामा कार्बन उत्सर्जन घटाउन अपेक्षा गरिएको भन्दा कम महत्त्वाकाङ्क्षा प्रतिबिम्बित भएको हुनसक्ने उल्लेख गरेको छ।

तर अस्ट्रेलियाली सरकार भने आफूहरूले कार्बन उत्सर्जन लक्ष प्राप्त गरिरहेको बताउँछ।

प्राकृतिक प्रकोप तथा विपद् प्रबन्ध मन्त्री डेभिड लिटलप्राउडले जलवायु परिवर्तन बारे सोमबार अस्ट्रेलियाको कार्यहरूको चर्चा गर्ने क्रममा, “अस्ट्रेलियाले (जलवायु परिवर्तन सम्बन्धमा) संसारलाई नै नेतृत्व प्रदान गरेको र अब विश्वले पनि आफूसँग मिलेर नेतृत्व दिनुपर्ने” बताए।

“हामीले हाम्रो प्रतिबद्धता विश्व स्तर मै गरेका छौँ र हामी चाहन्छौं की अन्य अन्तर्राष्ट्रिय समुदायले पनि हामीलाई साथ दिउन्,” उनले भने।

उता, डा थर्नटन भने अब यस्तै अवस्था जारी रही नै रह्यो भने अग्नि नियन्त्रण गर्न चाहिने स्रोतसाधन परिचालनको प्रक्रिया परिष्कृत हुनुपर्ने बताउँछन्।

“हाम्रो स्रोतसाधन बाँडफाँडको व्यवस्थाले हाल ठिकै काम गरिरहेको अवस्था छ,” उनले भने।

“तर अब, भविष्य तिर हेर्दै गर्दा भने डढेलो मौसम लम्बिँदै जाने र अस्ट्रेलिया अनि उत्तरी गोलार्धमा लाग्ने डढेलो एकै समयमा हुने देखिन्छ। त्यसो भयो भने कोसँग कसरी र कति स्रोतसाधन बाँड्न सकिन्छ भन्ने बारे हामीमा अन्योल छ।”


Share

5 min read

Published

Updated

By Evan Young

Presented by आभास पराजुली




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now