उत्तरी न्यु साउथ वेल्स र दक्षिण क्वीन्सल्याण्डमा केही दिन अगाडी सुरु भएका दर्जनौँ डढेलोहरू अझै पनि दमकलकर्मीहरूको नियन्त्रण बाहिर रहँदा उक्त भनाइ आएको हो।
डढेलो सिजनको सुरुवात र लामो समय देखि अस्ट्रेलियाका पूर्वी भागहरूमा जारी खडेरी र सुख्खायामका कारण आगामी महिनाहरूमा डढेलोहरूले विनाशकारी रूप लिन सक्ने चिन्ता पनि व्यक्त गरिदैछ।
गए वर्षहरूमा डढेलोलाई अस्ट्रेलियाली गर्मी महिनाको एक सामान्य भागको रूपमा लिइने गरिएता पनि अहिले भने उक्त सङ्कट गम्भीर हुँदै गएको अधिकारीहरू बताउँछन्।

क्वीन्सल्याण्डका आपत्कालीन र दमकल सेवाका पूर्व आयुक्त ली जोन्सन भन्छन् कि गर्मी मौसम सुरु हुनु अगाडी नै अहिले डढेलोको अवस्था यतिको खतरनाक रहनु एकदमै अनौठो हो।
तर डढेलोको बढ्दो खतरालाई ध्यानमा राख्दै केही वर्ष अगाडी मात्र "विनाशकारी" भन्ने शब्द पनि डढेलो खतराको चेतावनी दर्जामा समावेश गरिएको उनी बताउँछन्।
ली जोन्सनका अनुसार यस कारण पनि डढेलोको खतरा रहेका स्थानहरूमा बस्ने मानिसहरूले आफूले सामना गर्ने खतराहरूलाई कम गर्न सक्रिय भूमिका निभाउन जरुरी रहेको छ।
“बाक्लो जङ्गल वा झाडी रहेका स्थानहरू नजिक बस्ने वा पहाडी क्षेत्रमा बस्ने लगायतका मानिसहरूले आफ्नो घर वरिपरि आगो सल्काउन सक्ने सुक्खा पात र अन्य सामग्रीहरू नरहेको सुनिश्चित गर्नु पर्दछ।”
साथै डढेलोको सङ्कट नजिकिए के गर्ने बारे आफ्नो परिवारसँग केही योजना बनाउन पनि जरुरी रहेको जोन्सनको भनाइ छ।

अस्ट्रेलियाली किसानहरूले पनि आफ्नो बाली र गाईबस्तुहरूलाई सुरक्षित राख्न नियमित कदम चाल्ने गरेको जलवायु परिवर्तन विरुद्ध किसानहरू नामक समूह कि प्रमुख भेरीटि मोर्गन स्मिड।
ला-ट्रोब विश्वविद्यालयमा सार्वजनिक स्वास्थ्य र मनोचिकित्सक शिक्षा केन्द्रका निर्देशक रहेका जिम मकलेननका अनुसार चाहिँ डढेलोको खतरा घटाउन कदम चाल्न र डढेलो सम्बन्धी योजना बनाउन जरुरी रहेता पनि केही अन्य कार्यहरू पनि धेरै महत्त्वपूर्ण रहेको उनी जोड दिन्छन्।
सरकारी स्तरबाट जमिन र जङ्गलहरूको उपयुक्त व्यवस्थापन का साथै निजी जग्गाहरूमा झारपातहरूको प्रवर्धन पनि धेरै महत्त्वपूर्ण रहेको उनी बताउँछन्।
शहरी क्षेत्रको सीमावर्ती इलाकाहरूमा बढ्दो भवन निर्माणको मतलब डढेलोको खतरामा रहने मानिसहरूको सङ्ख्यामा पनि वृद्धि भएको मकलेननको भनाइ छ।




