SKIP TO MAIN CONTENT

कोभिड-१९: अस्ट्रेलियाली नागरिकता वितरण समारोह अब अनलाइन मार्फत हुने

अस्ट्रेलियाली नागरिकता वितरण समारोह अनलाइन मार्फत आयोजना गरिने सङ्घीय सरकारले बताएको छ।

Nepal Festival Melbourne 2018
Federal Education Minister Alan Tudge Source: Abhas Parajuli

2 min read

Published

Updated



Skip to article content

कोरोनाभाइरसको महामारीका साथ, सङ्कटकालको यस अवस्था अन्त्य नभए सम्म - सुरक्षित भिडियो लिङ्क मार्फत आवेदकहरूलाई नागरिकताको शपथ ग्रहण गराउने कार्यवाहक अध्यागमन र नागरिकता मन्त्री एलन टजले बताएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै उनले विद्यमान परिस्थितिमा जारी सामाजिक दुरी सम्बन्धी नियमहरूका कारण, पारम्परिक रूपमा आयोजना हुने गरेको व्यक्तिगत नागरिकता वितरण समारोहहरू हाल आयोजना गर्न नमिलेको कारण उक्त नयाँ व्यवस्था गरिए बताए।

अस्ट्रेलियाली नागरिकता लिन शपथ ग्रहण गर्न अनिवार्य रहेको छ र नागरिकताका लागि स्वीकृत भइसकेका मानिसहरूका लागि हाल सङ्घीय गृह मामिला मन्त्रालयले एकल नागरिकता वितरण समारोहहरू परीक्षणका रूपमा सञ्चालन गरिरहेको मन्त्री टजको भनाइ छ।

“तत्काल आवश्यकता भएका, इन्टरनेट पहुँच नभएकाहरूसँग उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै र स्वास्थ्य सुझावलाई आत्मसात् गर्दै हामी समारोहहरू सुरक्षित तवरले आयोजना गर्न क्रियाशील हुनेछौँ,” मन्त्री टजले उक्त वक्तव्यमा भनेका छन्।

Special citizenship ceremony BHUTAN NEPAL Citizenship Pledge
अस्ट्रेलियाली नागरिकताको शपथ लिंदै Source: आभास पराजुली/एसबीएस

नयाँ व्यवस्था पूर्ण रूपले स्थापित भएपछि प्रत्येक दिन ७५० जनासम्मले नागरिकता ग्रहण गर्न सक्ने पनि बताइएको छ।

 

“यो अवधिभर अस्ट्रेलियाली नागरिकताको लागि आवेदन स्वीकार भई नै रहने छ, तर नागरिकता सम्बन्धी अन्तर्वार्ता र परीक्षा भने हाललाई स्थगित छन्,” उनले अगाडी भनेका छन्।

 

कोभिड-१९ सम्बन्धी सामाजिक दुरीका नियमहरूमा केही खुकुलो हुनासाथ थप स्रोतहरू तैनाथ गरिने पनि सङ्घीय मन्त्री एलन टजको भनाइ छ।

 

उनका अनुसार, नागरिकता पाउन आफ्नो पालो कुरेर बसेका मानिसहरूलाई आउँदा महिनाहरूमा वैकल्पिक व्यवस्था बारे सम्पर्क गरिनेछ।

 

अघिल्लो भन्दा यस आर्थिक वर्षमामा ७० प्रतिशत बढी मानिसहरूले अस्ट्रेलियाली नागरिकता लिएका छन्। 

 

चालू आर्थिक वर्ष २०१९/२० मा मात्रै हालसम्म १५७,००० भन्दा बढी मानिसहरूले अस्ट्रेलियाली नागरिकता लिइसकेको सरकारी तथ्याङ्क छ भने हाल ८५,००० आवेदकहरू नागरिकता ग्रहण गर्न आफ्नो पालो पर्खेर बसेको बताइएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now