कोरोनाभाइरस प्रतिबन्धका कारण यति खेर विदेश मै दिन कटाउन बाध्य हज्जारौं अस्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा र अस्थायी भिसा धारकहरूले आफ्ना स्थानीय सङ्घीय साम्सद् समक्ष अस्ट्रेलिया प्रवेशका लागी पहल गरिदिन भन्दै पत्राचार गर्न थालेको बताइएको छ।
यसरी थुप्रैजनाले सम्पर्क गरेपछि केही संसद् सदस्यहरूले परिस्थितिलाई सहज तुल्याइदिन सरकारको ध्यानाकर्षण गरेका छन्।
ग्रिन्स पार्टीका एक जना सिनेटर निक् मक्किमले एसबीएसलाई बताएअनुसार उनको कार्यालयलाई हालसम्म प्रभावित १०० भन्दा बढी मानिसहरूद्वारा अस्ट्रेलिया प्रवेशका लागि मद्दत माग्दै पत्राचार भइसकेको छ।
"हामीलाई दिनहुँ यस्ता मानिसहरूले सम्पर्क गरिरहन्छन् जो घर आउन आतुर छन् र आफ्ना परिवारहरुसंग पुनर्मिलन हुन लालायित छन्," उनले भने।
"यो एकदमै अन्यायपूर्ण छ। धेरै मानिसहरू पाँच महिना भन्दा बढी आफ्नो परिवार, घर र रोजगारीबाट अलग भएका छन् जसले गर्दा उनीहरूको स्वास्थ्य र परिवारमा उल्लेखनीय प्रभाव परेको छ। ”
अस्ट्रेलियाले गत मार्च २० देखि सबै गैर नागरिक र गैर आवासीयहरू यात्रुहरूका लागि आफ्नो सीमा बन्द गरेको छ भने अस्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा र उनीहरूका एकदमै नजिकका परिवार सदस्यहरू फर्कन सक्ने भएता पनि अस्ट्रेलिया फिर्ता आउन चाहने अस्थायी भिसा धारकहरूले यात्रा प्रतिबन्धबाट छुट पाउन निवेदन हाल्नुपर्ने व्यवस्था कायम छ।
साथै, क्वारेन्टिन व्यवस्थाको भार घटाउन भन्दै केही समय अघि मोरिसन सरकारले प्रतिहप्ता अस्ट्रेलिया फर्कन पाउने यात्रुहरूको सङ्ख्यामा कटौती गरेको थियो।
गएको जुलाई महिनामा भिक्टोरियाले बढ्दो सङ्क्रमणका कारण देखाउँदै होटेल क्वारेन्टिन कार्यक्रमबाट हात झिके पछि त्यसबाट उत्पन्न भार अन्य राज्य लिन आनाकानी गरे।
लगत्तै भएको राष्ट्रिय मन्त्रिपरिषद्को बैठक पछि प्रधानमन्त्री स्कट मोरिसनले विदेशबाट आउने सङ्ख्या ६,५०० बाट ४,००० प्रति हप्तामा झारेका थिए।
तर, सरकार सम्बद्ध दलकै नेताहरूले पनि सरकारले यसरी आगमनमा रोक लगाउनु भन्दा क्वारेन्टिन प्रणालीलाई बलियो बनाउनु पर्ने विचार राख्न थालेका छन्।
नेश्ननल पार्टीकी सिनेटर ब्रिजेट मकेञ्जी अवस्था यस्तै रहे कृषि क्षेत्रमा जनशक्तिको ठुलै कमी हुने धारणा व्यक्त गर्दै भन्छिन् कि अब क्वारेन्टिन क्षमतामा बढाइनुपर्छ।
"यो राज्य सरकारहरू माथि निर्भर छ कि उनीहरूले आफ्नो क्वारेन्टिन क्षमतालाई सुरक्षित ढङ्गले कसरी अगाडी बढाउन सक्छन्," उनले भनिन्।
"अहिले सबै राज्यहरूको क्वारेन्टिन व्यवस्था आफ्नै प्रकारको छ। मेरो बिचारमा यसबारे एक राष्ट्रिय मापदण्ड बन्नुपर्छ, कडा जाँच र एकैनासको प्रणाली सहित।"
लिबरल पार्टीका एक सांसद पनि हालको क्वारेन्टिन व्यवस्थाको समीक्षा हुनुपर्ने बताउँछन्।
क्विन्स्ल्यान्डका एन्ड्रु लेमिङले सिड्नी मर्निङ्ग हेरल्डलाई भने कि होटेलहरूलाई यत्तिकै खाली राख्नुभन्दा क्वारेन्टिन मार्फत उनीहरूलाई कमाई गर्न मार्ग प्रशस्त गर्नुपर्छ।

"कोभिड नर्मल भनेको हज्जारौं मानिसहरूलाई आउन दिएर होटेलहरूमा राख्नुपर्छ, होटेलहरूले अहिले केही व्यापार गर्न सकेका छैनन्, तिनीहरू क्वारेन्टिन व्यवसायबाट फस्टाउनु पर्थ्यो," उनले भने।
उनले विदेशमा अस्थायी बसोबास गर्ने पक्षमा समेत वकालत गरे र एक अस्थायी दक्ष भिसा धारकको परिवारको उदाहरण दिँदै भने कि आफ्नो निर्वाचन क्षेत्रमा बस्ने सो परिवारको मुख्य मुली यहीँ भए पनि उनका परिवार विदेशमा अवरुद्ध छन्।
"किन उनकी श्रीमती र बच्चाहरूले १४ दिनको क्वारेन्टिनमा बस्न पाउँदैनन्? आसाको कुनै किरण बिना उनीहरू बसेको ६ महिना भइसक्यो।"
मङ्गलवार सिनेट सुनवाइका क्रममा समेत सिनेटर मक्किमले विदेशी भूमिमा अड्किन बाध्य भएका मानिसहरूको प्रसङ्ग उठान गरेका थिए।
तर, सङ्घीय सरकारले भने हालको प्रावधानमा छिट्टै कुनै हेरफेर नहुने स्पष्ट गरेको छ।

सरकारले महामारी माथि लगाम लगाउन सो कदम चालेको भन्दै कार्यवाहक अध्यागमन मन्त्री श्री टजले आफूहरूले मानिसहरूको समस्या राम्ररी बुझेको बताए।
"सबै जना यसको मारमा परेका छन्, तर अहिलेलाई, हामीले बोर्डरबाट पास हुने मानिसहरूको सङ्ख्यामा कडाइ यथावत् राखेका छौँ। महामारी माथि नियन्त्रण गर्न यो अति जरुरी रहेको छ," उनले एसबीएस हिन्दी सेवासँग कुरा गर्दै भने।
त्यसैले अब हामीले यो अवस्था खुल्ला गर्छौँ अहिले नै भन्न सकिने अवस्था छैन।"
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:


