जनसङ्ख्याको आधारमा देशको दोस्रो ठुलो राज्य भिक्टोरियामा देखिएको कोरोनाभाइरसको दोस्रो लहरदेखि डराएको सङ्घीय सरकारले, मुलुकभरका राज्य एवं प्रादेशिक सरकारहरूको आग्रहमा अन्तर्राष्ट्रिय आगमनको गतिलाई कम गर्ने निर्णय लिएको छ।
फलस्वरूप, विभिन्न कारणले विदेश मै अड्केर बसेका अस्ट्रेलियाली नागरिक एवं स्थायी बासिन्दाहरूलाई सोमबार - १३ जुलाई उप्रान्त घर फिर्न कठिन हुने देखिएको हो।
कोरोनाका कारण लागू गरिएका विभिन्न प्रतिबन्धहरूले गर्दा, गत मार्च महिनादेखि थुप्रै उडान प्रभावित भइसकेका छन् र यो पछिल्लो सरकारी नीतिले मानिसहरूको घर फर्किने योजना थप जटिल बनाउने पक्का-पक्की छ।
अस्ट्रेलियाको अध्यागमन एवं अन्तर्राष्ट्रिय सीमा सङ्घीय सरकारले हेर्ने विषय भए पनि विदेशबाट फर्किने मानिसहरूलाई क्वारेण्टिनमा राख्ने काम राज्य तथा प्रादेशिक सरकारहरूको हो।

भिक्टोरियाली सरकारले त्यहाँ आउने मानिसहरूलाई क्वारेण्टिनमा राख्दा राष्ट्रिय मापदण्डको पूर्ण पालना नगरेको गाईंगुंईं मिडियामा आएपछि हाल अन्य राज्य तथा प्रादेशिक सरकारहरू सो विषयलाई लिएर निकै सतर्क रहेको स्थिति छ।
अनि, उक्त राज्यमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भए पछि प्रिमियर ड्यानिएल एन्ड्रुजले मेलबर्न अवतरण हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरूलाई सङ्घीय सरकारको अनुमतिमा रोके पछि अन्य राज्यहरूलाई एक्कासि क्वारेण्टिनको थप भार बहन गर्नुपर्ने समस्या आइपरेको थियो।
यसैको सेरोफेरोमा गत शुक्रवार राष्ट्रिय मन्त्रिपरिषद्मा यो मुद्दा उठेपछि प्रधानमन्त्री स्कट मरिसनले राज्यहरूलाई क्वारेण्टिन सम्बन्धी कार्य सम्पादन गर्न सहज होस् भन्ने हेतुले विदेशबाट मानिसहरू अस्ट्रेलिया फर्किन सक्ने सङ्ख्यामा कटौती गरेका हुन्।

कति ठुलो छ कटौती?
मरिसनले उक्त बैठक पश्चात् शुक्रवारै क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा बताए अनुसार अब प्रति हप्ता करिब ४,००० यात्रुका दरले आगमनमा कटौती हुनेछ।
तर, विदेशमा अड्केर बस्न बाध्य भएका मानिसहरूले भने सरकारको यो पछिल्लो निर्णयलाई सहजै लिन सकेका छैन।
यसका दुइटा पाटाहरू छन् - एक त घर फर्किन थप समय लाग्ने र अर्को भनेको यहाँ आइपुगियो भने पनि क्वारेण्टिनसँग सम्बन्धित खर्च अस्ट्रेलिया फर्किने व्यक्ति स्वयम्ले व्यहरोर्नु हो।
हालसम्म करदाताले ती अनिवार्य होटेल क्वारेण्टिनको शुल्क व्यहोरीरहेका थिए।
प्रधानमन्त्री स्वयम्ले पनि नयाँ व्यवस्था मानिसहरूका लागि सजिलो नहुने स्विकारिसकेका छन्।
"यो अब अझ गाह्रो हुनेछ किनकि अस्ट्रेलिया फर्कन चाहने व्यक्तिहरूको लागि उपलब्ध क्षमता घट्ने छ," उनले भने।
नयाँ व्यवस्था अनुसार, न्यु साउथ वेल्सले प्रति दिन ४५० जना यात्रुहरूलाई मात्र आफ्नो राज्यमा आउन दिने बताएको छ भने वेस्टर्न अस्ट्रेलिया प्रति हप्तामा ५२५ भन्दा बढी मानिसहरूलाई नलिने घोषणा गरेको छ।
त्यसै गरी, क्विन्सल्याण्ड राज्य सरकारले पनि ५०० अन्तर्राष्ट्रिय यात्रीहरूलाई मात्र प्रवेश दिने जनाएको छ।

मरिसनका अनुसार बाँकीका राज्य तथा प्रादेशिक सरकारहरूले पनि सोही प्रकारको सीमा तोक्ने छन् र दुई हप्ते अनिवार्य क्वारेण्टिनमा बस्दा लाग्ने शुक्ल तिनै यात्रुहरूबाट उठाउने छन्।
उनले सङ्ख्या कटौती गर्ने निर्णयको बचाउ गर्दै भने, "हामीले आफ्नो ध्यान र स्रोत सम्पूर्ण रूपमा परीक्षण एवं ट्रेसिङ्गमा लगाउन विदेशबाट अस्ट्रेलिया फर्किने यात्रुहरूको सङ्ख्या घटाउनु परेको हो।"
गत मार्च महिनामा कोरोनाभाइरस महामारी घोषणा भएदेखि नै अस्ट्रेलियाली सरकारले विश्वभर पुगेका आफ्ना नागरिकहरूलाई घर फर्किन आह्वान गरेको थियो।
त्यसैलाई आत्मसात् गर्दै हालसम्म ३५७,००० भन्दा बढी नागरिक एवं स्थायी बासिन्दाहरू अस्ट्रेलिया फर्किसकेका छन् तर अझै हज्जारौं मानिसहरू विदेश मै छन् - कोही उड्न नपाएर, कोही मनखुशीले।

उड्न नपाउनेको पक्षमा बोल्दै माइग्रेसन इन्स्टिच्युट अफ अस्ट्रेलियाका अध्यक्ष जन् होरिगनले भने, "मानिसहरू विदेशमा रहँदा कङ्गाल भए यहाँ फर्किन उनीहरूलाई निक्कै सङ्घर्ष गर्नुपर्ने हुनसक्छ। "
"म सोच्छु कि उनीहरू यस्तो स्थितिमा कसरी आफ्नो ख्याल राख्न सक्लान्? यहाँ मानवताको पनि सवाल छ।"
क्विन्सल्याण्डले जुलाई महिनालागेदेखि नै होटेल क्वारेण्टिङ्को शुल्क उठाउन थालेको छ। उसले प्रति वयस्क जनही २,८०० डलर र दुई जना भए ३,७०० डलर अनि दुई वयस्कका साथ दुई बच्चा भए कुल ४,६२० डलर असुल्छ।

तर प्रधानमन्त्री भने अब राज्यहरूले यस विषयमा राष्ट्रिय एकरूपता जनाउन गरी काम गर्ने बताउँछन्।
उनका अनुसार विशेष परिस्थितिवश होटेल क्वारेण्टिङ्को शुल्क तिर्न नसक्ने मानिसहरूको निर्क्योल गर्ने र त्यसलाई सबोधन गर्ने जिम्मेवारी पूर्ण रूपमा राज्य तथा प्रादेशिक सरकारहरूको हातमा हुनेछ।
अस्थायी भिसा धारकहरू थप अन्योलमा
अस्थायी भिसा धारकहरूको सवालमा भने बाध्यकारी वा मानवताको आधार छ भने उनीहरूले अस्ट्रेलिया आउन छुटका लागि आवेदन दिनुपर्नेछ, चाहे उनीहरू यात्रा प्रतिबन्ध सुरु हुँदा अस्ट्रेलियामा नै किन नरहेका हुन्।
कोभिड-१९ समितिलाई बुझाइएको आँकडा अनुसार लगभग १० लाख अस्थायी भिसा धारकहरू जुन ७ तारिकका मितिमा अस्ट्रेलिया बाहिर नै रहेका थिए।
सङ्घीय सरकारको यो पछिल्लो निर्णयसँगै, अस्थायी भिसामा रहेकाहरूलाई अस्ट्रेलिया आउन झन् बढी समय लाग्ने देखिएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

