माइग्रेसन इन्स्टिच्युट अफ अस्ट्रेलियाका अनुसार, अघिल्लो आर्थिक वर्षमा दर्ता गरिएका पार्टनर भिसाका आवेदनहरू मध्ये आधा जसोलाई मात्र उक्त भिसा प्रदान गरिएको थियो।
एएचडब्लुसी इमिग्रेसन लयर्सकी प्रमुख वकिल तथा माइग्रेसन एजेन्ट म्यागी टाफे भन्छिन् कि कोभिड-१९ का कारण - सबक्लास ३०९ अफ्शोर पार्टनर भिसाको प्रक्रिया पुरा हुन कुर्नुपर्ने समय धेरै नै लम्बिंदै गएको छ।
सुन्नका लागि तयार पारिएको यो रिपोर्टको अडियो संस्करण, माथि रहेको मिडिया प्लेयरको स्पिकर आइकनमा थिच्दा उपलब्ध हुन्छ।
उनका अनुसार, प्रक्रिया पुरा हुन औसत रूपमा १८ महिना लाग्ने गरेकोमा - हाल त्यो भन्दा निकै बढी समय कुर्नुपर्ने भएको हो।
टाफेको भनाइसँग सहमत देखिएका माइग्रेसन इन्स्टिच्युट अफ अस्ट्रेलियाका राष्ट्रिय निर्देशक जन होरिगन भन्छन् कि गएको आर्थिक वर्षमा पार्टनर भिसा भिसा पाउनेको सङ्ख्या सो अवधिभर आवेदन दिनेको आधा जसो मात्र छ।
टाफे अगाडी भन्छिन् कि भिसा नतिजामा पारदर्शिताको कमीका कारण उनका ग्राहकहरूमा तनाव र चिन्ता पैदा हुने गरेको छ - विशेष रूपमा त्यस्ता ग्राहकहरू - जसले कोरोना प्रतिबन्धका कारण अस्ट्रेलिया वा अन्य मुलुकमा रहेका आफ्ना जीवनसाथी केही समयदेखि भेट्न पाएका छैनन्।

तर, होरिगनका अनुसार भने अस्ट्रेलिया बाहिरबाट पार्टनर भिसाको आवेदन दिएकाहरूले यहाँ प्रवेश पाउन अझै सम्भव छ र त्यसका लागि उनीहरूले अस्ट्रेलियन बोर्डर फोर्सका आयुक्तको सहमतिमा - अस्ट्रेलियाली नागरिक वा पी आर धारकको पार्टनरका रूपमा, भ्रमण भिसाका लागि आवेदन हाल्नु पर्ने हुन्छ।
यद्यपि यस महामारीको अवधिमा सम्भावित विवाह भिसा धारकहरूले यात्रा गर्न चाहिने छुट पाउन निकै कठिन भएको, दुवै होरीगन र टाफेको अनुभव छ।
टाफेलाई फियाँसे भिसा पाइसकेकाहरूले यात्रा प्रतिबन्धहरू फुकुवा भएपछि सम्पूर्ण आवेदन प्रक्रिया फेरी सुरु गर्नुपर्ने हो कि भन्ने लागेको छ भने, होरिगन चाहिँ अलिकति आशावादी देखिएका छन्।
यता अस्ट्रेलियामा नै रहेर भिसाको आवेदन हाल्नेका लागि पनि प्रक्रिया खासै सजिलो छैन।

पेरुमा जन्मेका लुसियानो र उनका अस्ट्रेलियाली पार्टनर ड्रुले, भिसा आवेदन हालेको पाँच वर्ष भइसक्यो।
ड्रुलाई भेट्नु अघि लुसियानोले आफ्नो पहिलेको भिसामा तोकिएको भन्दा बढी अवधि अस्ट्रेलियामा बिताएका थिए।
त्यसै उनीहरूको आवेदन पहिले अस्वीकृत भएको थियो जसलाई पछि एएटी भनिने एड्मिनिसट्रेटिभ अपिल्स ट्राइब्युनलमा समीक्षाका लागि पठाइयो। त्यसपछि फेडेरल सर्किट कोर्ट, र हाल उक्त मुद्दा पुनः एएटीमै फर्किएको छ।
होरीगन भने आवेदन सफल हुन, कागजातका माध्यमबाट तपाईंले आफ्नो सम्बन्ध गाढा छ भनेर देखाउन सक्नुपर्छ भन्छन्।

टाफेका अनुसार पार्टनर भिसाको आवेदन दर्ता गरे पछि प्रहरीबाट प्राप्त हुने आचरण बारेका प्रमाणपत्र र स्वास्थ्य परीक्षण जस्ता कागजातको पनि आवश्यकता पर्ने कुरा औँल्याउँछिन्।
उनी भन्छिन्, कागजपत्र मिलाउने काम सामान्य अवस्थामा त सधैँ सजिलो हुँदैन भने झन् कोरोनाभाइरस महामारीका बखत त - अझै गाह्रो हुन्छ - विशेष गरी त्यस्ता आवेदकहरू जसलाई आफ्नो देश बाहिर गएर बायोमेट्रिक डाटा व्यवस्था गर्नुपर्ने हुन्छ।
ड्रु भने अन्य पार्टनर भिसा आवेदकहरूलाई, सुरु देखि नै काम राम्रोसँग गर्न सुझाउँछन्।

टाफेका अनुसार गृह मामिला मन्त्रालय आफूले भनेको समयसिमा भित्र प्रक्रिया पुरा हुने भनिएको पार्टनर भिसाका आवेदनहरूका हकमा स्थिति के छ भनेर आवेदकहरूले जिज्ञासा राख्दैमा केही बताउँदैन।
होरिगन र टाफे दुवै जना - यो समयमा गर्न सक्ने सबैभन्दा उत्तम कुरा भनेको - थप सहयोगी प्रमाणहरू बुझाई राख्नु नै हो - भन्छन्।
यसको साथ साथै, टाफे यो पनि सल्लाह दिन्छिन् कि गर्न मिल्ने राज्य तथा प्रदेशहरूमा, आवेदकहरूले आफ्नो डी फ्याक्टो सम्बन्ध दर्ता गराउनुपर्छ, ताकी त्यसले उनीहरूको भिसाको दाबी अझ बढी बलियो बनाउँछन्।

कोरोनाका कारण असङ्ख्य आवेदकहरूको टाउको दुखे पनि लुसियानो भने ड्रुसँग अस्ट्रेलियामा नै बसेर काम गर्न पाएकोमा दङ्ग छन्।
लुसियानोले आफ्नो ब्रिजिंग भिसामा काम गर्ने अनुमति पाएपछि हाल उनी सेफको रूपमा काम गरिरहेका छन् र पार्टनर भिसा नआउँदासम्म सकारात्मक सोच राखी राख्ने उनको भनाई छ।
लुसियानोका पार्टनर ड्रु भने अन्ततः आफ्नो भविष्य प्रति उत्साहित छन्…
तपाईंले नयाँ आप्रवासी र तिनका परिवारका भावनात्मक कथाहरूसहितको चार-भागको वृत्तचित्र शृङ्खला “हु गेट्स टु स्टे इन् अस्ट्रेलिया?” मा लुसियानो र ड्रुको भिसा यात्रालाई पछ्याउन सक्नुहुन्छ।
यो सिरिज एसबीएस टेलिभिजनमा बुधवार १ जुलाईदेखि साप्ताहिक रूपमा साँझ ८:३० बजे प्रसारण भइरहेको छ।
यस प्रस्तुतिमा दिइएका टिप्पणीहरू सामान्य सल्लाह मात्र हुन् र सबै परिस्थितिहरूमा लागू हुँदैन। यदि तपाईँ आफ्नो भिसाको स्थितिलाई लिएर चिन्तित हुनुहुन्छ भने सकेसम्म चाँडो कानुनी सल्लाह खोज्नु नै उत्तम हुन्छ।




