ओम कृष्ण श्रेष्ठसंगको कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
गत अप्रिल २ मा नेपालबाट अस्ट्रेलिया आएका सम्पूर्ण यात्रुहरूको ब्रिसबेनको होटेलमा १४ दिने अनिवार्य क्वारेन्टिन सकिएको छ।
नेपाली ध्वजा बाहक जहाजबाट ब्रिसबेनमा झरेका यात्रीहरू मध्येका एक ओम कृष्ण श्रेष्ठले त्यहाँको बसाइ सुरुवाती दिनमा गाह्रो लागे पनि पछिल्ला दिनहरूमा भने बानी पर्न थालेकाले केही सहज भएको बताएका छन्।
दुई हप्ताको क्वारेन्टिन सकेर तीन अन्य नेपालीहरूसँग सिड्नी फर्कने क्रममा श्रेष्ठले अपर्याप्त खाना र कोठाभित्रै थुनिएको अनुभूतिका बिच पनि राम्रै सँग सो समय बिताएको भन्दै घर फर्किने उत्साह व्यक्त गरे।

ब्रिस्बेनको फोर पोइन्ट्स बाइ सेराटन नामक होटेलको एउटा कोठामा सीमित हुँदा सुरुवातमा केही असहज महसुस गरेका श्रेष्ठले आफ्नो र अर्काको सुरक्षाको लागी पनि त्यो आवश्यक भएको बुझेर बिस्तारै सोही वातावरणमा अभ्यस्त हुन प्रयास गरेको बताए।
क्वारेन्टिनमा रहँदाको पहिलो दिनमा एसबीएस नेपाली सँगको कुराकानीका क्रममा उनले कोठामा ताजा हावा नआउने भन्दै गुम्सिएको अनुभव भएको बताएका थिए।
धूम्रपान गर्ने लाई दिनमा दुई पटक जति १० मिनेटको लागी बाहिर निस्कन दिने भएकाले कहिले काहीँ मात्र धूम्रपान गर्ने उनले केही समय भए पनि बाहिर निस्कन पाइने भएकाले चुरोटको बहानामा ताजा हावाका लागी बाहिर निस्किएको बताए।
त्यस्तै दिनमा तिन पटक खानाको व्यवस्था गरिने गरेकोमा खानालाई लिएर भने उनी सँगै क्वारेन्टिनमा रहेका अन्यबाट समेत असन्तुष्टि व्यक्त भएको उनले जानकारी दिए।
रेड क्रसले आफूहरूको स्वास्थ्य लगायत त्यहाँको अवस्था बारे बेला बेलामा जानकारी लिने गरेकोमा खानाका बारेमा चाहिँ धेरैले गुनासो गरेको उनको भनाइ थियो।
"खाना चाहिँ अलि कम नै दिएको र त्यति राम्रो नदिएको जस्तो भइराखेको थियो। कम्प्लेन पनि गरेको थियौँ यो विषयमा रेड क्रसलाई।"
दिनभर कोठा भित्र बस्दा भने साथी भाइहरूसँग फोनमा कुराकानी गरेर र किताबहरू पढेर दिन काट्ने गरेको उनको भनाइ थियो।

अस्ट्रेलियामा आइसकेको दुई हप्ता पछि परिवारलाई भेट्न पाउने खुसीलाई उनले पिँजडामा बसेको चरा बाहिर निस्किएको अनुभूतिका रूपमा व्याख्या गरे।
"पिँजडामा बसेको चराहरू जब पिँजडाबाट बाहिर निस्कन्छ नि, मजाले हावा खान पाउने, मान्छेहरू देख्न पाउने, म एकदम उत्साहित र खुसी छु।"
ब्रिसबेनबाट सिड्नीका लागी चल्ने सम्पूर्ण सार्वजनिक सवारीहरू बन्द रहेको समयमा श्रेष्ठ सहित सोही होटेलमा क्वारेन्टिनमा बसेका अन्य चार जना मिलेर गाडी रिजर्भ गरेर बिहीबार सिड्नी फर्कँदै छन्।
यी पनि पढ्नुहोस्:

कोरोना सङ्कट: क्लिनर सहित “अत्यावश्यक” कामदार अझै असुरक्षित
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।









