बुधवार घोषित उक्त राहत कार्यक्रम अन्तर्गत ४२ करोड डलर मालपोत कर छुटका लागि विनियोजन गरिएको छ भने बाँकी ८ करोड डलर घरभाडा तिर्न असमर्थ मानिसहरूलाई सहायता रकम शीर्षकमा छुट्टाइएको छ।
भिक्टोरियाली ट्रेजरर टिम पलासले आफ्नो राज्यका घरधनी तथा भाडावालहरू मिलेर काम आसा आफूले लिएको बताए।
“यसको मतलब के हो भने, अनिवार्य रूपमा तपाईँहरूले सँगै बसेर छलफल गर्नुपर्छ आ-आफ्नो प्रबन्ध मिलाउनु पर्छ,” पलासले स्पष्ट पार्दै भने।

आफ्ना घर बहालमा लिने मानिसहरूलाई घरधनीहरूले घरभाडामा छुट दिए मालपोत करमा छुटका प्राप्त गर्ने बताइएको छ भने घरभाडा तिर्न सक्ने आर्थिक अवस्थामा नभएका मानिसहरूका लागि साहयता रकम प्रदान गरिने पनि भिक्टोरियाली सरकारको भनाइ हुनुका साथै त्यस प्रकारको सहायता रकम भुक्तानी बढीमा २,००० डलरसम्म हुने बुधवार मेलबर्नमा गरिएको घोषणामा उल्लेख छ।
आगामी हप्ता बस्ने भिक्टोरियाली संसद्को एक विशेष बैठकले उक्त प्याकेजका लागि आवश्यक परिवर्तन कानुन पारित गर्नेछ।
"हामी सबैभन्दा कमजोरलाई सहयोग गर्ने छौँ, तर यो पनि सुनिश्चित गर्छौँ कि घरधनी र भाडावालहरूले यी व्यवस्थाबाट फाइदा लिइरहेका छन्," भिक्टोरियाली प्रिमियर डानियल एन्ड्रयूजले पत्रकारहरूलाई भने।

एन्ड्रयूजद्वारा घोषित उक्त राहत योजना अनुसार, योग्य भाडावालहरूले सहायता पाउन आफ्नो संशोधित घर बहाल सम्झौता कन्ज्युमर अफेयर्स भनिने उपभोक्ता मामिला कार्यालयमा दर्ता गर्नु वा मध्यस्थता प्रक्रियाद्वारा जानुका साथै बचतमा ५,००० डलर भन्दा कम रकम हुनुपर्नेछ र आफ्नो घरभाडाको कम्तीमा पनि ३० प्रतिशत तिर्दै गरेको हुनुपर्नेछ।
यस राहत प्याकेजबाट करिब १०,००० घरधनीहरू लाभान्वित हुने प्रारम्भिक अनुमान पलासको रहेता पनि उनले ती घरधनीहरूलाई आफ्ना भाडावालसँग सहमतिमा पुग्नै पर्ने बताएका छन्।
राष्ट्रिय मन्त्रिपरिषद्को सहमति बमोजिम नै हुने गरी भिक्टोरियाली घरभाडा राहत प्याकेज लागू हुने मिति मार्च २९ मा सारिने र सो राहत अवधि सो मितिदेखि आगामी ६ महिनासम्म कायम हुने पनि भिक्टोरियाली प्रिमियरले बताएका छन्।
उक्त राहत प्याकेज अनुसार, घरभाडामा पछाडि परेको कारण घरधनीले भाडावाललाई ६ महिनासम्म निष्कासित गर्न सक्ने छैनन्। तर ती भाडावालहरूले उनीहरू कोरोनाभाइरस प्रकोपका कारण आर्थिक सङ्कटमा परेको खुलाउनु पर्नेछ।
राज्य राजस्व कार्यालयमा दाबीहरू व्यवस्थित गर्न एक नयाँ कोरोनाभाइरस राहत उप-आयुक्त स्थापना हुने पनि बताइएको छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
