अस्ट्रेलियामा व्यावसायिक रूप मै सरसफाइ गर्ने मानिसहरूले, कोरोनाभाइरस महामारी विरुद्धको राष्ट्रव्यापी अभियानमा सघाइदिन आफूहरूको माग बढ्दै गएको अनुभव गरेता पनि, सम्भावित सङ्क्रमित स्थानहरूको सरसफाइ गर्दा जिउ धनको सुरक्षा र रोजगारीको प्रत्याभूति नरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
छिमेकी मुलुक न्यु जिल्यान्ड सहित अस्ट्रेलियाभर व्यावसायिक भवनहरू सरसफाइ गर्ने क्लिनकर्पकी एक जना प्रबन्धक एला मेहरीका अनुसार उक्त कम्पनीका कामदारहरू कार्यस्थलमा कोभिड-१९ बाट हुनसक्ने सम्भावित खतराका कारण आफ्नो सहित अरूहरूको सुरक्षालाई लिएर निकै दबाबमा छन्।
“अहिले एकदमै व्यस्त भइएको छ, पहिले दैनिक आठ घण्टा जसो हुने काम अहिले ह्वात्तै बढेर २४ सै घण्टा पुगेको छ,” उनले भनिन्।
विशेष गरेर आप्रवासी पृष्ठभूमिका मानिसहरू कार्यरत अस्ट्रेलियाभरका यस्तै सरसफाइका कामहरूमा कार्यस्थल पिच्छे फरक फरक सुविधाहरू हुने भएकाले पनि सुरक्षाको जोखिम बढी रहेको बताइएको छ।

सरसफाइमा लागेका मानिसहरूको हकहितका लागि भनेर स्थापना भएको एक युनियनकी प्रवक्ता जर्जिया पटर बट्लर भन्छिन् कि यस महत्त्वपूर्ण घडीमा आफूलाई जोखिममा राखेर बाँकी जनसमुदायलाई कोभिड-१९ बाट सुरक्षा प्रदान गर्न क्रियाशील “क्लिनर”हरूलाई उनीहरूको आवश्यकता अनुरूपको पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) भनिने व्यक्तिगत सुरक्षात्मक उपकरण, कडा खालका किटनाशक र एकल प्रयोग पन्जाहरू थप सङ्ख्यामा प्रदान गर्न एकदमै जरुरी रहेको छ।
“हामीसँग यस्ता धेरै उदाहरणहरू छन् जहाँ करारमा रहेका क्लिनरहरूलाई बिना पर्याप्त पीपीई, सहयोग अनि तालिमै बिना पनि काममा खटाइएको छ,” उनले एसबीएस नेपालीलाई बताइन्।
“धेरै जनासँग बिरामी बिदा वा अन्य कुनै पनि बिदा सम्बन्धी सुविधाहरू नै छैनन् जुन अस्वीकार्य छ।”
अस्पताल, जेल, स्कुल, विमानस्थल जस्ता आदी कार्यस्थलहरूमा कार्यरत सरसफाइ गर्ने मानिसहरू विद्यामान परिस्थितिमा आफ्नो सुरक्षालाई लिएर निकै त्रसित रहेको पनि बट्लरको भनाई छ।

न्यु साउथ वेल्समा विगत आठ वर्षदेखि त्यहाँका सार्वजनिक विद्यालयहरूको बजेट कटौती हुँदा हाल तिनमा काम गर्ने क्लिनरहरूले सफा गर्ने सामानदेखि सहयोगी जनशक्तिको अभाव खेप्नुपरेको उनले बताइन्।
अऊन अकुट यसका ज्वलन्त उदाहरण हुन्।
एक दशकदेखि पश्चिमी सिड्नीको एक विद्यालयमा सरसफाइ सम्बन्धी काम गरिरहेका अकुट भन्छन् कि उनको रोजगारदाताले उनलाई केवल एकल प्रयोग गर्न मिल्ने “डिस्पोजेबल” पन्जाहरू मात्र उपलब्ध गराएका छन्।
“मेरो लागी यो निकै डरलाग्दो परिस्थिति हो। म त्रसित छु। हामी क्लिनरहरू सुरक्षित हुनु आवश्यक छ,” एकल अभिभावक समेत रहेका अकुटले भने।

बट्लरका एक अर्का सहकर्मी तीर्थ राज कार्कीका अनुसार सरसफाइ कार्यमा लागेका नेपाली कामदारहरू पनि सामान्य सुरक्षा प्रबन्धबाट वञ्चित रहेको तथ्य औँल्याउँछन्।
हाम्रै नेपाली समुदायका धेरै विद्यार्थी भाइबहिनीहरू, क्लिनिङ्ग र वृद्ध स्याहार केन्द्रहरूमा काम गर्नुहुन्छ । एकदुईवटा स्कुलको भ्रमणको बेलामा मैले के पाए भने, उहाँहरूसँग पर्याप्त ग्लोभ्सहरू छैन, मास्कहरू छैन। त्यस्तो अवस्थामा उहाँहरूले आफ्नो जीवन जोखिममा राख्नुभएको छ,” उनले एसबीएस नेपालीसँग भने।
बट्लर र कार्की दुवै जना आफूहरू श्रमिक आप्रवासीहरूले यथोचित पारिश्रमिक र सुविधा पाउनुपर्ने बताउँदै करारमा काममा लगाइने क्लिनिङ्ग जस्ता उद्योगहरूमा तलब ठगी, नियमहरू नमान्ने प्रवृत्ति र जागिरको भर नहुने जस्ता क्रियाकलापका कारण उनीहरू थप जोखिममा रहेको बताउँछन्।
तपाईँ पनि फ्रन्टलाइनमा रहेर अस्ट्रेलियाको कोभिड-१९ विरुद्ध अभियानमा साथ दिइरहनु भएको छ भने हामीलाई सम्पर्क गर्नुहोस्!
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
