बुधवार क्यानबेरामा पत्रकारहरू माझ बोल्दै सङ्घीय मन्त्री ग्रेग हन्टले वृद्ध स्याहार केन्द्रका कर्मचारी र उक्त क्षेत्रमा मास्कको आवश्यकता देखिएका अन्यका मानिसहरू समेतका लागि १७ लाख मास्क वितरण गरिन लागेको बताएका हुन्।
मन्त्री हन्टका अनुसार, वृद्ध स्याहार केन्द्रका कर्मचारी बाहेक मास्कहरू प्राथमिक स्वास्थ्य सञ्जालमा कार्यरत मानिसहरू (जस्तै जीपी) मानिसहरू समक्ष पनि २३ लाख मास्कहरू बाँडिने छ।
देशभरका अस्पतालहरूलाई भने ७० लाख मास्क छुट्टाइएको पनि उनले बताए।
“मास्क सर्वसाधारणका लागि आवश्यक छैन”
अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरू सर्वसाधारण अस्ट्रेलियालीहरूले मास्क लगाउन पर्ने बारे निर्देशिका जारी गर्ने कि भनेर सोचिरहे पनि उनीहरूका अनुसार हाल त्यो समय आइसकेको छैन।

सङ्घीय चिकित्सकीय उप-प्रमुख पल केलीका अनुसार मास्क अत्यन्त जरुरी सुरक्षात्मक उपकरण त हो, तर यो सर्वसाधारण अस्ट्रेलियालीहरूका लागि आवश्यक छैन।
उता, कोरोनाभाइरसले आतङ्क मच्चाएको अमेरिकामा चाहिँ मानिसहरूलाई स्थानीय अधिकारीहरूले कुनै अत्यावश्यक कामले घर बाहिर निस्कन परे, सफा कपडा वा रुमालले अनुहार ढाकेर मात्रै निस्कन आग्रह गरिरहेको बखत अस्ट्रेलियामा भने त्यस्तो आवश्यकता नरहेको अधिकारीको धारणा छ।
उनीहरूका अनुसार, १०,००० भन्दा बढी मानिसहरूको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भइसकेको अमेरिका र हालसम्म ५० जनाको ज्यान गएको अस्ट्रेलियाको तुलना गर्न सही हुँदैन।
“अहिलेको अवस्थामा, हामीलाई लाग्दैन कि त्यो ठिक कुरा हो। एक त आपूर्तिको समस्या छ, अर्को चाहिँ मास्क लगाएर मानिसहरू यत्रतत्र हिंडदा कत्तिको प्रभावकारी हुन्छ भन्ने नै हो,” उनले भने।
पल केली भन्छन् कि असीमित रूपमा मास्कहरूको उपलब्धता भए पनि, सबैले त्यसको प्रयोग गर्न आफ्नो सल्लाह रहने छैन।
“गलत तरिकाले मास्क लगाउनु भयो भने वास्तवमा त्यो अझ खतरनाक हुन सक्छ,” केलीले भने।
“उदाहरणका लागि, कसैलाई मास्क लगाउने बानी नै छैन भने त्यसले निकै अप्ठेरो अनुभूति गराउन सक्छ र मास्क भित्र चलाउन थाल्छ,” उनले स्पष्ट पार्दै भने।

प्राध्यापक केलीका अनुसार, त्यसरी मास्क लगाउँदा चिलायो र थाहै नपाइकन भाइरस भएको सतह छोएर मास्क मुनि मास्क धारकले कन्याउन थाले भने रोगको जोखिम घट्नुको साटो बढ्छ।
तर, उनले कोरोनाभाइरसको प्रकोप अगाडी बढ्दै जाँदा सरकारी सल्लाह फरक पनि हुनसक्नेमा जोड दिए।
“मास्क लगाउनै पर्ने स्थिति आयो भने पक्कै पनि हामीले मास्क लगाउने ठिक तरिका बारे बृहत् छलफल गर्नै पर्छ।”
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
