SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: जानीजानी कोभिड-१९ फैलाए, दोषीले आजीवन जेल सजायसम्म भोग्नुपर्ने

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले क्यानबेरामा दुई मानिसहरू माथि जानीजानी नै कोभिड-१९ फैलाएको अभियोग लगाइएको खुलासा गरेका छन्।

Minister for Health Greg Hunt.
Minister for Health Greg Hunt. Source: AAP

2 min read

Published

Updated



Skip to article content

बुधवार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै, मन्त्री हन्टले उक्त खुलासा गरेका हुन्।

यसका साथै, उनले अस्ट्रेलियालीहरूले स्वास्थ्य सेवामा लागेकाहरूसँग आदरपूर्वक व्यवहार गर्न पनि आग्रह गरेका छन्।

देशभर विभिन्न स्थानहरूमा स्वास्थ्य कर्मीहरू माथि अभद्र व्यवहार, हमला वा धम्कीका मामलाहरूमा बढ्दै गएको भन्ने रिपोर्टहरू सार्वजनिक हुँदै गर्दा सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टको उक्त भनाइ आएको हो।

“चाहे त्यो बोलेर होस् वा उनीहरू माथि खोकेर, भाइरस सारिदिन्छु भनेर तर्साउने। यसबारे महान्यायाधिवक्ताको विभागबाट मैले एउटा सल्लाह पाएको छु, कोभिड-१९ जानीजानी नै सार्नु सार्वजनिक आपराधिक ऐन अन्तर्गत सबै राज्य तथा प्रदेशहरूमा अपराध ठहर हुन्छ,” हन्टले भने।

उनका अनुसार, त्यस्ता क्रियाकलापहरू मध्ये सबैभन्दा गम्भीर प्रकृतिका आपराधिक मामिलाहरूमा आजीवन कारावाससम्मको सजाय हुनसक्ने प्रावधान हाल विद्यमान छ।

“कसैले जानीजानी स्वास्थ्यकर्मीलाई सङ्क्रमित गर्‍यो र ती स्वास्थ्यकर्मीको त्यसै घटनाका कारण ज्यान गएमा, दोषीले आजीवन जेल सजायसम्म भोग्नुपर्ने हुनसक्छ,” ग्रेग हन्टले भने।

स्वास्थ्य मन्त्रीका अनुसार, बुधवारसम्म अस्ट्रेलियामा ५,९७७ जना कोरोनाभाइरसबाट सङ्क्रमित पुष्टि भइसकेका भने ५० जनाले कोभिड-१९ का कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

हाल अस्ट्रेलियाभर कोभिड-१९ बाट सङ्क्रमित ३०० भन्दा बढी बिरामीहरू अस्पतालमा भर्ती छन् जसमध्ये १०० जना जति सघन उपचार कक्षमा रहेको बताइएको छ।

वृद्ध स्याहार केन्द्रका कर्मचारीका लागि १७ लाख मास्क

स्वास्थ्य मन्त्री ग्रेग हन्टले राष्ट्रभर थप एक करोड भन्दा बढी मास्कहरू वितरण गरिन लागेको बताएका छन्।

मन्त्री हन्टका अनुसार, वृद्ध स्याहार केन्द्रका कर्मचारी बाहेक मास्कहरू प्राथमिक स्वास्थ्य सञ्जालमा कार्यरत मानिसहरू (जस्तै जीपी) मानिसहरू समक्ष पनि २३ लाख मास्कहरू बाँडिने छ। यसबारे थप जान्न यहाँ जानुहोस्: https://www.sbs.com.au/language/nepali/covid-19-1-7-million-masks-for-aged-care-workers-not-yet-critical-for-public

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now