कोरोना सङ्कट: इस्टर अवधिभर न्यु साउथ वेल्समा प्रहरी उच्च सतर्कतामा रहने

आसन्न इस्टर पर्वको बेला मानिसहरूले सामाजिक दुरी सम्बन्धी नियमहरूलाई नजरअन्दाज गर्न सक्ने चिन्ताका बिच न्यु साउथ वेल्स प्रहरीले उच्च निगरानी राख्ने बताएको छ।

NSW Police Commissioner Mick Fuller at a press conference

NSW Police Commissioner Mick Fuller at a press conference Source: AAP

न्यु साउथ वेल्स राज्य प्रहरीका प्रमुख मिक फुलरले आउँदो इस्टर सप्ताहान्तका बखत जत्ति नै झर्को लागे पनि घरमै बस्न मानिसहरूलाई आग्रह गरेका छन्।

उनले मानिसहरूद्वारा सामाजिक दुरी तथा आइसोलेसनमा बसे नबसेको कडा रूपमा अनुगमन गर्न आफू मातहतका प्रहरी अधिकारीहरू राज्यभरका सडकहरूमा परिचालित हुने पनि बताएका छन्।

"यो महत्त्वपूर्ण छ कि यस सप्ताहान्तमा हामीले राम्रो काम जारी नै राख्नुपर्नेछ र जति नै निराशाजनक भए पनि आइसोलेसनमा बसी नै रहनुपर्नेछ," फुलरले भने।

यसका साथै, अन्य राज्यबाट क्याराभान लिएर घुम्न आएका मानिसहरूलाई घर फर्कन चेतावनी जारी गरिने र पुनः दोस्रो पटक पनि भेटे उनीहरूलाई कोभिड-१९ सम्बन्धी सार्वजनिक स्वास्थ्य आदेश उल्लङ्घन गरेको आरोपमा जरिवाना तिर्न पुर्जी काटिने पनि उनले बताए।

“हाम्रो ठुलो ध्यान ग्रामीण भेकका सडकहरू, भित्री बाटोहरू, प्रमुख राजमार्गहरू र न्यु साउथ वेल्स राज्यको क्षेत्रीय भूभागभर छरिएर रहेका क्याराभान पार्कहरूमा हुनेछ,” महानिरीक्षक मिक फुलरले भने।

“प्रहरीले ती स्थानहरूमा गस्ती गरी नै रहनेछन् र मानिसहरूलाई सर-सामान पोको कसेर आफ्नो गृह राज्य तर्फ लाग्न एक मौका दिइने छ।”

फुलरका अनुसार पछिल्लो २४ घण्टामा जरिवाना गराइएका अधिकांश मानिसहरूले, सार्वजनिक स्वास्थ्य आदेश बारम्बार उल्लङ्घन गरेका थिए।

“मानिसहरूले यस मामिलाको गाम्भ्यर्तालाई अझै बुझ्न सकेका छैनन्,” उनले भने।

सघन उपचार क्षमतामा अभिवृद्धि

न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आफ्नो दैनिक पत्रकार सम्मेलनका क्रममा राज्यका अस्पतालहरूले उनीहरूको सघन उपचार क्षमता दोब्बर रूपमा बढाएको बताएकी छिन्।

"हामीसँग अब १,००० भन्दा बढी शय्याहरू थप कर्मचारी तथा भेन्टिलेटर एवं अन्य आवश्यक उपकरण उपलब्ध छन्,” बेरिजिक्लियनले भनिन्।

उनका अनुसार न्यु साउथ वेल्स राज्य सरकारले आफ्नो सघन उपचार क्षमता चौगुना बढाउने लक्ष लिएको छ।

“हामीले हाम्रो क्षमता दोब्बर बनाइसकेका छौँ र अब हाम्रो लक्ष भनेको यसलाई तेब्बर र चौबर पुर्‍याउनु हो। त्यस गर्न सकिएको खण्डमा भविष्यमा आइपर्ने स्थितिसँग हामी भिड्न सक्नेछौँ।”

यसै अवसरमा, सर्भिस न्यु साउथ वेल्स एपको सुरुवात गरिएको पनि जानकारी उनले दिइन्।

उक्त नयाँ एपले कोरोनाभाइरस बारे दैनिक अपडेट दिने बताइएको छ।

स्कूलहरू बारे सोधिएको एक प्रश्नमा भने, ग्लाडिस बेरिजिक्लियनले हाल आफूसँग त्यस बारे केही नयाँ नभएको तर केही समय भित्रै दोस्रो शैक्षिक सत्र सञ्चालन बारे जानकारी दिइने बताइन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now