आफ्नो घरमा रहेका कमजोर तथा असुरक्षित पारिवारिक सदस्यहरूलाई आफूबाट रोग व्याधि नसरोस् भन्नका लागि स्वास्थ्यकर्मीहरूले नचिनेका मानिसहरूसँग सहयोग माग्न थालेपछि राज्य सरकारले उक्त कदम चालेको हो।
“हामी पक्का गर्न चाहन्छौँ कि जस्तो उनीहरूले हाम्रो हेरविचार गरिरहेका छन्, त्यसै अनुरूपले हामी पनि उनीहरूको हेरविचार गर्नेछौँ," पेरोटेटले भने।
यस अघि, न्यु साउथ वेल्स स्वास्थ्य विभागले एक विज्ञप्ति मार्फत आफूहरूलाई थुप्रै आवासीय सुविधाप्रदायकहरूले थकित स्वास्थ्यकर्मीहरूलाई निःशुल्क सेवा दिने प्रस्तावहरू पठाएको र उसले कोठाहरूको बुकिङ्ग बारे सहजता होस् भनेर एक द्रुत पद्दती अपनाउन लागेको बताएको थियो।
कोरोनाभाइरस सङ्क्रमित बिरामीको उपचार भइरहेको अस्पताल लगायत अन्य स्वास्थ्य केन्द्रहरूमा कार्यरत थुप्रै स्वास्थ्यकर्मीहरूले सामाजिक सञ्जालको सहयोग लिँदै वैकल्पिक आवासका लागि अपरिचित मानिसहरूसँग मद्दत मागेको मामिलाहरू केही दिन यता बाहिर आउन थालेका थिए।

“खोपको विकास नभएसम्मका लागि सामाजिक दुरी लागू हुन्छ”
ग्लाडिस बेरिजिक्लियनले आफ्नो राज्यमा कोभिड-१९ का नयाँ मामिलाहरू देखिने क्रममा केही सुधार भएता पनि अधिकारीहरू सामुदायिक रूपमा रोग सर्न सक्ने बारे चिन्तित रहेको बताएकी छिन्।
मङ्गलवार बिहान सिड्नीमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले कोभिड-१९ विरुद्ध लड्न सक्ने खोपको विकास नभएसम्मका लागि सामाजिक दुरी सम्बन्धी नियमहरू यथावत् रहने सङ्केत गरेकी हुन्।

“यो नयाँ सामान्यपन हो। भौतिक रूपमा एक अर्कासँग हेलमेल नहुने, सामाजिक दुरी बनाइराख्नु, कम्तीमा पनि हाम्रो नयाँ जीवनशैली हो। किनभने हामी आफैसँग इमानदार हुनै पर्दछ कि खोपको नभेट्टाएसम्म यो विरुद्ध सजिलो रूपमा लड्न हामीसँग कुनै अन्य उपाय छैन,” बेरिजिक्लियनले भनिन्।
गत केही दिन यता आफ्नो राज्यमा कोरोनाभाइरस सङ्क्रमणका नयाँ मामिलाहरू भेटिने क्रम क्रमशः ओरालो लाग्दै गएता पनि स्थानीय रूपमा थप सङ्क्रमणहरू फैलन सक्ने बारे आफू लगायत राज्यका स्वास्थ्य अधिकारीहरू चिन्तित रहेको पनि उनले खुलासा गरिन्।
“हाम्रो लागि, न्यु साउथ वेल्समा त्यो सबैभन्दा जोखिमपूर्ण विन्दु हो र त्यसले नै हामीलाई सबैभन्दा चिन्तित तुल्याएको छ,” प्रिमियर ग्लाडिस बेरिजिक्लियनले भनिन्।
उनले आसन्न इस्टर छुट्टीको बखत मानिसहरूलाई घरमै बस्न जरुरी रहेको बारेमा पनि जोड दिएकी छिन्।
“मलाई थाहा छ कि धेरै मानिसहरूको मनमा यसो छुट्टीमा कहीँ जाऊँ वा इस्टर जस्तो चाडबाडका बेलामा सामान्यतया गरिने गतिविधिमा व्यस्त रहौँ भन्ने लागेको छ, र यो साल यी सम्भव छैनन्। हामी मध्ये कोही पनि कतै घुम्न जान सक्दैनौँ, कोही पनि छुट्टीमा यताउति जाने छैनन्,” बेरिजिक्लियनले स्पष्ट पारिन्।
न्यु साउथ वेल्स राज्य सरकारमा उपप्रमुख रहेका जन बरिलारोले पनि मानिसहरूलाई घरैमा बस्न र क्षेत्रीय एवं ग्रामीण भेकहरू तर्फ नलाग्न आग्रह गरेका छन्।
“मेरो सन्देश यो भन्दा स्पष्ट हुन सक्दैन। यो भन्दा सरल हुन सक्दैन। यहाँ नआउनुहोस्। तपाईँ यो सप्ताहान्तमा क्षेत्रीय स्थानहरू भ्रमण गर्न सक्नुहुन्न,” उनले भने।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
