एङ्ग्लिकेयर अन्तर्गतको एक वृद्ध हेरचाह केन्द्रकी कर्मचारी कोरोनाभाइरस सङ्क्रमित अवस्थामा पनि कार्यरत रहेको खुलेपछि, स्वास्थ्य सेवा युनियनले तत्काल सुरक्षा प्रक्रियाहरूको समीक्षा हुनुपर्ने बताएको छ।
पश्चिम सिड्नी स्थित न्युमार्च हाउस वृद्ध स्याहार केन्द्रमा कार्यरत एक महिला कर्मचारीले, कथित रूपमा कोभिड-१९ सङ्क्रमित भएकै अवस्थामा नै लगातार ६ दिनसम्म काम गरेको खुलासा पछि स्वास्थ्य सेवा युनियनले आपत्ति जनाएको हो।
हाल ती महिलालाई कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भइसकेको बताइएको छ भने उनीसँगै क्याडेन्स स्थित उक्त वृद्ध स्याहार केन्द्रका एक अर्का निवासीलाई पनि कोरोनाभाइरस सङ्क्रमणको आशङ्का गरिएको छ।

स्वास्थ्य सेवा युनियनको न्यु साउथ वेल्स महासचिव जेरार्ड हेइज भन्छन् कि उक्त घटनाको जाँच गरिनु निकै जरुरी छ।
“यो स्पष्टै छ कि त्यहाँ प्रणालीगत त्रुटि भएका छन्। कसैले पनि त्यतिका शिफ्टहरूमा कसरी फ्लु जस्तो लक्षणहरूका साथ काम गर्न सक्यो भन्ने एक वास्तविक र गम्भीर चिन्ताको विषय हो। एङ्ग्लिकेयरले तुरुन्त यसको प्रक्रिया समीक्षा गर्नुपर्छ,” उनले भने।
हेइज भन्छन् कि क्याजुअल कामदारहरूलाई काममा लगाउने प्रवृत्तिले पनि यसमा योगदान पुर्याएको हुनसक्छ।
"यसले असुरक्षित, आकस्मिक काममा निर्भर रहेको वृद्ध स्याहार उद्योगको संरचनामा रहेको एक ठुलो समस्यालाई पनि औँल्याउँछ। कोही पनि बिरामी अवस्थामा कुनै पनि काममा जानु हुँदैन। यदि उचित बिरामी बिदा र फुल टाइम रोजगारीका साथ स्थायी आधारमा मानिसहरूलाई काममा भर्ना गर्यो भने यस्तो अवस्था धेरै कम हुने सम्भावना हुन्छ,” उनले भने।

तर, न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडीस बेरिजिक्लियन भने मानिसहरूले यसबारे आफ्नो धारणा बनाउनु पूर्व तथ्यहरूलाई स्थापित हुन दिनुपर्ने बताउँछिन्।
“"स्पष्ट रूपमा यो ठुलो चिन्ताको विषय हो र कसैले बिरामी अवस्थामा पनि काम गरिरह्यो भने त्यो पक्कै पनि निराशाजनक अवस्था हो,” बेरिजिक्लियनले भनिन्।
"हामी त्यतिकै कसैलाई पनि दोष दिन सक्दैनौँ, तथ्यहरूका लागि कुरौँ। यदि ती व्यक्तिलाई आफू सङ्क्रमित छु भन्ने नै थाहा थिएन भने त्यो ठुलो चिन्ताको विषय हो।”
तर, यदि जानाजान केही गरेको भए त्यो निकै गम्भीर भुल हुने र प्रहरीले त्यसबारे आवश्यक कदमहरू चाल्ने पनि उनले बताइन।
उता एङ्ग्लिकेयरले भने आफ्नो कार्य प्रणालीहरूको प्रतिरक्षा गर्दै, ती शङ्काको घेरामा परेकी आफ्नी कर्मचारीले मार्च ३० देखि अप्रिल ६ बिचको पाँच शिफ्टको अवधिमा सङ्क्रमणको कुनै लक्षण नदेखाएको बताएको छ।
“आवासीय प्रबन्धकले व्यक्तिगत रूपमा उक्त कर्मचारी सदस्यसँग ती कर्मचारीको ६ अप्रिलको अन्तिम कामको दिनमा संवाद भएको थियो। ती कर्मचारी सदस्यले बिरामी भएको लक्षण प्रदर्शन र कोभिड-१९ को सन्दिग्ध वाहकहरूसँगको कुनै सम्पर्कको भएको बारेमा पनि खुलासा गरेकी थिइनन्,” एसबीएस समाचारलाई एङ्ग्लिकेयरले पठाएको एक विज्ञप्तिमा उल्लेख छ।
यसका साथै, एङ्ग्लिकेयरले सजिलै यता उता लैजान सकिने पोर्टेबल डिग्री (थर्मोमिटर) ले आफ्ना कर्मचारीहरूको शरीरको तापक्रम कार्यालय प्रवेश गर्दा मापन गर्ने गरेको पनि बताएको छ।

विश्वका अन्य राष्ट्रमा जस्तो हालसम्म अस्ट्रेलियाका वृद्ध स्याहार केन्द्रहरूमा कोरोनाभाइरस सङ्क्रमण वृहत् रूपमा फैलिएको छैन तर त्यस बारे सचेत हुनुपर्नेमा सिड्नी विश्वविद्यालयमा क्लिकल इपिडीमियोलोजी (महामारी विज्ञान) अध्यापन गराउने फियोना स्टानावेको भनाइ छ।
“वृद्ध हेरचाह केन्द्रहरूमा हामीले कसरी प्रकोपलाई सम्बोधन गर्छौँ भन्ने बारे मात्र यो कुरा सीमित छैन, यो त ती स्याहार केन्द्रका कर्मचारीका घर, समुदायसँग सम्बन्धित छ, यसलाई अलग्गै राखेर हेर्न मिल्दैन,” स्टानावेले भनिन्।
यसका अतिरिक्त, उनका अनुसार गल्तीहरूबाट पाठ सिक्दै अगाडी बढ्नु महत्त्वपूर्ण रहेको छ।
“किन ती कर्मचारी काममा आइन्? के तिनीले हल्का लक्षणहरू देखा पर्दा लागू हुने निर्देशहरू बुझिनन्? के उक्त स्याहार केन्द्रमा कर्मचारीहरूको अभाव थियो?” उनले प्रतिप्रश्न गरिन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
