कोभिड-१९: सामुदायिक रूपमा हुने भाइरसको फैलावटलाई नियन्त्रण नगरेसम्म प्रतिबन्ध हटाउन मिल्दैन

जेन्नी मिकाकोसका अनुसार मङ्गलवारदेखि लागू हुने गरी भिक्टोरियामा कोरोनाभाइरस मापदण्ड 'अस्ट्रेलियाकै सबैभन्दा फराकिलो' बनाइएको छ।

Victorian Minister for Health Jenny Mikakos addresses the media during a press conference in Melbourne.

Victorian Minister for Health Jenny Mikakos addresses the media during a press conference in Melbourne. Source: AAP

अहिलेसम्म राज्यका स्वास्थ्य अधिकारीहरूको ध्यान विदेशबाट फर्किएका मानिसहरूमा रहेको बताउँदै, भिक्टोरियाली स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसले मङ्गलवारदेखि भने कोभिड-१९ परीक्षण मापदण्डको दायरा फराकिलो बनाइन लागेको बताएकी हुन्।

“हामी घोषणा गर्दैछौं कि आजदेखि भिक्टोरियामा राष्ट्रकै सबभन्दा ठुलो परीक्षण मापदण्ड लागू हुनेछ। अब हामी भाइरसका प्रत्येक मामिलाहरूसम्म पुगिरहेका छौँ भनेर विश्वस्त हुन चाहान्छौं,” मिकाकोसले पत्रकारहरूसँग भनिन्।

उनी अगाडी भन्छिन् कि वेस्टर्न अस्ट्रेलिया र क्विन्सल्याण्डमा पनि यस्तै प्रकारको परीक्षण मापदण्डहरू लागू रहेता पनि ती सबै जाँच केन्द्रहरूमा उपलब्ध छैनन्।

“वेस्टर्न अस्ट्रेलियामा पाँच परीक्षण क्लिनिकहरू सञ्चालनमा छन् र बृहत् परीक्षण भने केही स्थानहरूमा मात्र उपलब्ध छ। क्विन्सल्याण्डमा भूगोलको आधारमा यो निर्धारण गरिएको छ,” भिक्टोरियाली स्वास्थ्य मन्त्री मिकाकोसले भनिन्।

भिक्टोरियाली सरकारले कोभिड-१९ परीक्षणको दायरा बढाउँदै प्रासङ्गिक लक्षणहरू देखा परेका मानिसहरूदेखि ज्वरो, वा श्वासप्रश्वास सम्बन्धी कडा लक्षणहरू भएका व्यक्तिहरूसम्म सामेल गरिने उनले बताइन।

जेन्नी मिकाकोसका अनुसार यसरी परीक्षण दायरा फराकिलो बनाउँदा, राज्य सरकारले आगामी दिनहरूमा भाइरस कसरी बढ्छ भनेर अनुमान गर्न सक्नेछ।

“भिक्टोरियाभरका ४० मध्ये कुनै पनि परीक्षण क्लिनिकमा तपाईँ तोकिएको लक्षणहरूका साथ पुग्नुभयो भने तपाईँको जाँच हुनेछ,” उनले स्पष्ट पारिन्।

यसका साथै उनले मानिसहरूलाई लक्षण देखा पर्नासाथ आफ्नो जीपीलाई त्यसबारे फोन गरेर बताउन र परीक्षण गर्न हिचकिचाउन नहुनेमा पनि जोड दिएकी छिन्।

भिक्टोरियाका प्रमुख चिकित्सकीय अधिकृत ब्रेट सटन भने यसरी कोरोनाभाइरस परीक्षणको दायरा बढाउँदा पनि एक्कासि सङ्क्रमणका थप मामलाहरू नभेटिने कुरामा आश्वस्त छन्।

“मलाई लाग्दैन कि सङ्क्रमणको सङ्ख्या ठुलो हुनेछ किनकि मेरो बिचारमा मानिसहरूले ठिक काम गरिरहेका छन्,” प्रोफेसर सटनले भने।

यसका साथै, यदि समुदायमा कहीँ कतै कोरोनाभाइरस थाहा नपाईकनै फैलिरहेको भए पनि उक्त पछिल्लो नीतिका कारण ती मामलाहरू बारे जानकारी हुने पनि उनको धारणा छ।

तर, स्थानीय रूपमा हुने भाइरसको सामुदायिक फैलावटलाई नियन्त्रण नगरेसम्म तेस्रो चरणको प्रतिबन्ध हटाउन नमिल्ने स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसको भनाई थियो।

गए राती यता आफ्नो राज्यमा थप १० सङ्क्रमणका मामिलाहरू पुष्टि भएको बताउँदै हाल भिक्टोरियामा कुल १,२९१ जना कोभिड-१९ सङ्क्रमित हुँदै १४ व्यक्तिले ज्यान गुमाएको पनि उनले उल्लेख गरिन्।

उता, प्रधानमन्त्री स्कट मरिसनले पनि मङ्गलवार बिहान एक टेलिभिजन अन्तर्वार्ताका क्रममा देशवासीहरूलाई सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्धलाई फुकुवा गर्ने स्थितिमा अस्ट्रेलिया नरहेको बताएका थिए।

“तपाईंले सिंगापुर र स्विडेन जस्ता स्थानहरू लगायत विश्वका अन्य ठाउँहरूमा देख्न सक्नुहुन्छ जहाँ भाइरस पुन: फैलन सुरु भएको छ।”

स्वास्थ्य मन्त्री मिकाकोसका अनुसार हालसम्म भिक्टोरियामा करिब ७१,००० जनाको कोभिड-१९ परीक्षण सम्पन्न भइसकेको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

e968806e-f4c6-4c94-be3c-371e46b231f8

Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now