सन् २०२३ को बुस्टर खोप: उपचार र खोपहरू कत्तिको प्रभावकारी छन्?

गत ६ महिनाको अवधिमा कोभिड-१९ सङ्क्रमण नभएका र कोभिडको खोप नलगाएका अस्ट्रेलियाली वयस्कहरू २० फेब्रुअरीदेखि सन् २०२३ को बुस्टर खोप लगाउन पाउने छन्।

A female nurse is vaccinating a young asian woman

Source: Moment RF / Wang Yukun/Getty Images

मुख्य विषयहरू:

  • हाल प्रयोगमा रहेका सबै खोपहरू प्रभावकरी छन्: डा. नोरेल शेरी
  • अस्ट्रेलियाली तथा अन्य अनुसन्धानकर्ताहरू भेरिएन्ट विरुद्ध खोप निर्माण गर्न लागिपरेका छन्
  • अस्ट्रेलियाको प्रति १० लाख जनसङ्ख्यामा कोभिड-१९ को संचयी मृत्यु दर उच्च छ

सन् २०२१ को फेब्रुअरी २२ देखि अस्ट्रेलियामा कोभिड-१९ खोप वितरण सुरु भएको करिब दुई वर्ष हुन लागेको छ।

सङ्घीय सरकारले पहिलो बुस्टर खोप सोही सालको नोभेम्बर ८ देखि दिन सुरु गरेको थियो, जसको केही महिना पछि अर्को बुस्टर खोप सुरु भयो।

तर पहिलो दुई वटा खोप लगाएका अस्ट्रेलियालीहरूमा बुस्टर खोपको माग कम रहको स्वास्थ्य विभागको एक तथ्याङ्कले जनाएको छ।

फेब्रुअरी १० सम्मको विवरण अनुसार ५६.६ % योग्य मानिसहरूले (१८ वर्षभन्दा माथि) तेस्रो खोप लगाएका छन् भने, ३५.२% ले (३० वर्षभन्दा माथि) चौथो खोपसम्म लगाएका छन्।

अब सङ्घीय सरकारले गत ६ महिनामा कोभिड सङ्क्रमण नभएका र कोभिडको खोप नलगाएका मानिसहरूका लागि अर्को बुस्टर खोपको घोषणा गरेको छ।

तर, परिवर्तन भइरहने भाइरस विरुद्ध खोपहरू कत्तिको प्रभावकारी छन्?

सन् २०१९ को डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा देखा परे देखि अहिलेसम्म कोभिड-१९ भाइरस धेरै पटक परिवर्तन भइसकेको छ।

भाइरसका अल्फा, बेटा, गामा र डेल्टा भेरिएन्ट मध्य, अस्ट्रेलियामा भने ओमिक्रन र त्यसका सब्भेरिएन्टहरू सबैभन्दा धेरै मृत्यु निम्त्याएका छन्।

बितेका १२ महिनामा अस्ट्रेलियामा प्रति १० लाख मानिसहरूमा ५५७ जनाको ज्यान गएको अक्सफर्ड विश्वविद्यालयको आवर वर्ल्ड इन डेटा रिपोर्टले जनाएको छ।

यो सङ्ख्या अमेरिकाको तुलना अलि कम छ - अमेरिकाका सोही जनसङ्ख्यामा ५८५ जनाको मृत्यु भएको पाइएको छ।

तर सिंगापूर (१४९), क्यानडा (४०७), जापान (४०८) र बेलायत (४४८) को तुलनामा अस्ट्रेलिया र अमेरिकाका मृत्यु दर निकै धेरै छ।

Norelle Sherry_Doherty Institute.JPG
Clinical Microbiologist & Infectious Diseases Physician Dr Norelle Sherry. Credit: Doherty Institute

डोहर्टी इन्स्टिच्युटकी क्लिनिकल माइक्रोबायोलोजिस्ट तथा सङ्क्रामक रोग चिकित्सक डा. नोरेल शेरी भन्छिन् कि भाइरसमा परिवर्तन आएसँगै खोपहरूको प्रभावकारिता केही हदसम्म कम हुन सक्छ।

"तर खोप नलगाउनुभन्दा खोप लगाउनु नै उचित हुन्छ," उनले एसबीएसलाई बताइन्।

"पहिला निर्माण भएका खोपहरूको तुलनाका ओमिक्रन बुस्टर खोपले धेरै प्रतिरोधात्मक शक्ति गर्ने सम्भावना देखिएको छ," डा. शेरीले भनिन्।

अस्ट्रेलियालीहरूलाई सुरुमा आएका एमआरएनए खोप (mRNA) र प्रोटिन-आधारित खोपहरू भन्दा पछिल्ला खोपहरू लगाउन सल्लाह दिइएको छ।

खोपहरू पूर्ण तरिकामा कोभिड सङ्क्रमण नै नहुन बनाइएका होइनन्। तर तिनले गम्भीर बिरामी पर्नु र अस्पताल भर्ना हुनुबाट अवश्य बचाउँछन्।
डा. नोरेल शेरी, क्लिनिकल माइक्रोबायोलोजिस्ट तथा सङ्क्रामक रोग चिकित्सक, डोहर्टी इन्स्टिच्युट

वयस्कहरूले फाइजरको दुई वटा बाइभ्यालेन्ट खोपहरू लगाउन सक्छन्, जसले बीए.४/५ भेरिएन्ट र बीए.१ भेरिएन्टलाई लक्षित गर्दछ। त्यस्तै, बीए.१ भेरिएन्टलाई लक्षित गर्ने मोडर्नाको बाइभ्यालेन्ट खोप पनि लगाउन सकिन्छ।

"फाइजरको पहिलो खोप लगाएका ५५ वर्षभन्दा कम उमेरका वयस्कहरूको तुलनामा फाइजरको बाइभ्यालेन्ट बीए.४/५ खोप लगाएकाहरूमा बढी एन्टीबडी उत्पादन भएको पाइएको छ," अस्ट्रेलियाको खोप नियामक समिति अस्ट्रेलियन टेक्निकल एडभाइजरी ग्रुप एन इम्युनाइजेसन (अटागी)ले एक विज्ञप्ति मार्फत बताएको छ।

"बीक्यु.१.१ र एक्सबीबी.१ भेरिएन्ट विरुद्ध पनि बढी प्रभावकारिता पाइएको थियो।"

अस्ट्रेलियाको औषधी नियामक समिति थेराप्यूटिक गुड्स एडमिनिसट्रेसनले हाल मोडर्नाको बीए.४/५ बुस्टर खोपको मूल्याङ्कन गरिरहेको छ।

वर्तमान नीतिको प्राथमिक उद्देश्य सबैभन्दा बढी जोखिममा रहेका मानिसहरू सुरक्षा रहेको, र त्यसको लागि खोप अनिवार्य रहेको अस्ट्रेलियाका प्रमुख चिकित्सा पल केलीले बताए।

"उदाहरणका लागि, बेलायतको मोडलिङले देखाउँछ कि, ७० वर्ष उमेर समूहमा एक जनालाई अस्पताल भर्ना हुनबाट रोक्नको लागि ८०० जनाले खोप लगाउनु पर्छ। यसको तुलनामा ४० देखि ४९ वर्षका लागि ९२,००० जनालाई खोप लगाउनु पर्छ," प्राध्यापक केलीले बताए।

"र त्योभन्दा कम उमेर समूहमा हेर्ने हो भने, त्यसभन्दा बढी मानिसहरूले खोप लगाएको हुनु पर्छ।"

के हामीले आउँदो समयमा नियमित बुस्टर लगाउनु पर्छ?

बुस्टर खोपलाई, विशेष गरी गम्भीर बिरामी हुने जोखिम रहेका मानिसहरूमा इन्फ्लुवेन्जा र फ्लुको खोप जस्तै नियमित लगाउन पर्ने सम्भावना रहेको अटागीले विगतमा बताएको थियो।

भेरिएन्ट-प्रूफ अर्थात् सबै किसिमका भेरिएन्ट विरुद्ध काम गर्ने खोपको "तत्काल आवश्यकता रहेको" गार्भान इन्स्टिच्युटका प्राध्यापक क्रिस गुडनाउले बताए।

गार्भानले युएनएसडब्लु आरएनए इन्स्टिच्युट र कर्बी इन्स्टिच्युटसँगको सहकार्यमा एक नयाँ विश्वव्यापी एमआरएनए खोप निर्माण गर्दै छ, जसले हरेक नयाँ भेरिएन्ट सँग नयाँ खोप बनाउनु पर्ने आवश्यकतालाई अन्त्य गर्ने सम्भावना छ।

एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टलमा हर्नुहोस्।


4 min read

Published

Updated

By Yumi Oba

Presented by Dinita Rishal

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now