गत डिसेम्बर १० तारिख यता मेलबर्न लगायत पुरा भिक्टोरिया राज्यभर कोभिड-१९ बाट सङ्क्रमित मानिस कोही पनि बाँकी नरहँदा, कार्यवाहक प्रिमियर जेम्स मेलिनोले उक्त घोषणा गरेका हुन्।
मङ्गलवार बिहान मेलबर्नमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा कार्यवाहक प्रिमियरले जोखिम अझै टरी नसकेकोमा पनि जोड दिए।
जेम्स मेलिनो भन्छन् कि सम्पूर्ण भिक्टोरियावासीको कडा मिहिनेतबाट सहरमा मानिसहरू फर्किने क्रम बढ्दो छ तर सतर्क भने अझै हुनुपर्छ।
"हामीले सहर र राज्य क्रमिक रूपले खोल्दै गर्दा यी स्थानहरूमा बिस्तारै जीवन्तता फर्किंदैछ," उनले भने।
मेलिनोका अनुसार खुकुलो पारिएका नियम आगामी शुक्रवार साँझ ६ बजेदेखि लागू हुनेछन् जस अन्तर्गत मानिसहरू किनमेल गर्न जाँदा, अनिवार्य रूपमा मास्क लगाउनु पर्ने छैन।
तर, सार्वजनिक यातायात, ट्याक्सी र उबर जस्ता अन्य सवारीहरूबाट सफर गर्दा र एज्ड केयर भनिने वृद्ध सेवा गृह अनि अस्पताल जस्ता स्थानमा भने मास्कको प्रयोग अझै अनिवार्य रूपमा गर्नुपर्नेछ।
यसै गरी, भिक्टोरियावासीहरूले आफ्नो घरमा १०० जनासम्म पाहुनाहरूलाई आमन्त्रित गर्न सक्नेछन्।
हाल यो सङ्ख्या ३० जनामा सीमित छ।
खुल्ला सार्वजनिक स्थानमा हुने जमघटमा भने २०० जनासम्मले भाग लिन पाउने छन्।

क्यासिनो, नाइट क्लब र क्यारेओके जस्ता मनोरञ्जनात्मक कार्यक्रम आयोजना स्थलहरूमा प्रति चार वर्ग मिटरमा एक जनामा सीमित प्रतिबन्धलाई प्रति दुई वर्ग मिटरमा एक जना हुने गरी खुकुलो पारिएको पनि उनले बताए।
मेलबर्न सहरमा रहेका सरकारी कार्यालय तथा निजी कम्पनीहरूमा लागू रहेको कुनै एक समय अधिकतम ७५ प्रतिशत कर्मचारी मात्र रहन पाउने प्रावधान पनि हटेको छ। यद्धपी, यस्ता अफिसहरूमा पनि प्रति दुई वर्ग मिटरमा एक जना हुनुपर्ने नियम भने लागू रहने बताइएको छ।
भिक्टोरियाली सरकारी सेवामा रहेका कर्मचारीहरूको हकमा भने उनीहरूले हप्ताको तीन दिन कार्यालय जानै पर्ने व्यवस्था गरिएको पनि कार्यवाहक प्रिमियर जेम्स मेलिनोले जानकारी दिए।

तर, कर्मचारीहरूलाई घर नजिकैबाट काम गर्न सहज होस् भनेर बृहत् मेलबर्न महानगरीय क्षेत्र भित्र पाँच नयाँ "उप-नगरीय सरकारी केन्द्र"हरूको स्थापना गरिने पनि मेलिनोको भनाई छ।
हाल पश्चिमी मेलबर्न स्थित फुट्सक्रेमा सञ्चालनमा रहेको त्यस प्रकारको "हब" बारे उनले भने, "यो हामीले काम गर्ने र जीवन जिउने तरिकामा आएको आमूल परिवर्तनको वाहक हो।"
"हामीले पाएको प्रतिक्रियाबाट प्रेरित भएर चालिएको यो स्थायी कदम हो। धेरै मानिसहरूलाई काम र जीवन बिच सन्तुलन चाहिएको छ।"
यसै क्रममा, खेलकुद आयोजना हुने रङ्गशालाहरूमा पनि बिहीबारदेखि लागू हुने गरी, कुल क्षमताको ७५ प्रतिशतसम्म मानिसहरू आउन सक्नेछन्।
सन् २०२० मा आजकै दिन, भिक्टोरिया राज्यमा पहिलो लकडाउनको घोषणा गरिएको थियो।
