मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्समा ६७ प्रतिशत वयस्क बासिन्दाहरूले लगाए कोभिड-१९ खोपको पहिलो मात्रा,
- भिक्टोरियामा कोरोना सङ्क्रमित स्थानहरूको सूचिमा १,००० भन्दा बढी ठाउँहरू,
- एसीटीको लकडाउन सेप्टेम्बर १७ तारिखसम्म लम्बियो र
- साउथ अस्ट्रेलियाद्वारा नर्दर्न टेरिटरी र क्वीन्सल्यान्डबाट आउने यात्रुहरूका लागि प्रतिबन्ध हटाइएको घोषणा।
न्यु साउथ वेल्स
सोमवार राती आठ बजेसम्म न्यु साउथ वेल्समा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १,१६४ मामिला पुष्टि भएका छन्।
आफ्नो दैनिक अपडेटका क्रममा प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आज बिहान सिड्नीमा यसबारे जानकारी दिएकी हुन्।

उनका अनुसार सोही अवधिमा राज्यभर कोभिड-१९ का कारण थप तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एक ५० वर्ष माथिकी महिला एवं ८० र ९० वर्ष कटेका वृद्धहरू रहेका छन्।
उता, राज्यभरका ६७ प्रतिशत वयस्कहरूले कोरोनाभाइरस विरुद्ध खोपको पहिलो मात्रा पाइसकेको पनि उनले जानकारी दिएकी छिन्।
ग्लाडिस बेरिजिक्लियन भन्छिन् कि न्यु साउथ वेल्सले सो उपलब्धि हिजो सोमवार हात पारेको हो।
हाल राज्यभर कोभिड-१९ जटिलताका कारण ८७१ जना अस्पतालमा भर्ती छन् र ती मध्ये १४३ जनाको सघन उपचार भइरहेको बताइएको छ।
भेन्टिलेटरको आवश्यकता भने ५८ बिरामीलाई रहेको पनि अधिकारीहरूको भनाई छ।
न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टका अनुसार पार्कली सुधार गृहमा कोरोनाभाइरस सल्किएसँगै उक्त जेललाई हाल लकडाउनमा राखिएको छ।

उनका अनुसार उक्त सुधार गृहमा देखा परेको कोभिड-१९ प्रकोपबाट हिजो बेलुका आठ बजेसम्मको २४ घन्टे गणना अवधिमा थप ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ।
र, योसँगै पार्कली सुधार गृहका एक कर्मचारीका साथै ७४ कैदीहरूमा कोरोनाभाइरस सङ्क्रमण देखा परेको पनि डा चान्टको भनाई छ।
साथै उनले गीलफर्ड, मेरील्यान्ड्स, अबर्न, ग्रीनएकर, ब्याङ्क्सटाउन र ब्ल्याकटाउनका बासिन्दाहरूलाई परीक्षणका लागि अगाडी आउन आह्वान गरेकी छिन्।
राज्यका स्वास्थ्य मन्त्री ब्राड हाजार्डले भने १८ वर्षभन्दा माथिका मानिसहरूलाई एस्ट्राजेनेका खोप लगाउन सल्लाह दिएका छन्।
फाइजरद्वारा निर्मित कोमिनार्टी खोपको उपलब्धता पर्याप्त नरहेको भन्दै उनले त्यस्तो आग्रह गरेका हुन्।

उता, राज्यको डबो शहरमा एक आदिवासी मानिसको कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गएको सोमवार घोषणा गरिएपछि उनी पश्चिमी न्यु साउथ वेल्समा हाल जारी कोरोना प्रकोपबाट मृत्यु हुने पहिलो व्यक्ति भएको बताइएको छ।
भिक्टोरिया
अस्ट्रेलियाको दक्षिण-पूर्वी राज्य भिक्टोरियाले गएका २४ घण्टमा कोभिड-१९ का थप ७६ सामुदायिक सङ्क्रमणका मामिलाहरू दर्ता गरेको छ।
भिक्टोरियाली सरकार प्रमुख ड्यानिएल एन्ड्रूजका अनुसार ती ७६ जना मध्ये ४५ सङ्क्रमितका स्रोत पत्ता लागिसकेको छ भने बाँकीका ३१ जना कसरी सङ्क्रमित भए भन्ने बारे छानबिन जारी छ।
उनी भन्छन् कि आज पुष्टि गरिएका मामिलाहरू मध्ये ३६ जना आइसोलेसनमा बसिसकेका मानिसहरू हुन्।
एन्ड्रूजले भोलि बुधवार राज्यमा हाल जारी लकडाउन बारे थप जानकारी दिने पनि बताएका छन्।
तर उनका अनुसार विद्यालयहरू भने तत्काल खुल्ने सम्भावना छैन।
साथै भिक्टोरियाली प्रिमियरले एस्ट्राजेनेका खोपको उपलब्धतामा कुनै समस्या नरहेको भन्दै राज्यवासीहरूलाई खोप लगाएर सुरक्षित हुन आग्रह गरेका छन्।
“उपयुक्त खोप त्यो हो जुन तपाईँले हात पार्न सक्नुहुन्छ,” उनले भने।

- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
एसीटीमा कोभिड-१९ का थप १३ मामिलाहरू दर्ता भएका छन्।
यी गएका २४ घण्टा भित्र पुष्टि गरिएका मामिलाहरू हुन्।
र, योसँगै क्यानबेरामा कोरोनाभाइरसका सक्रिय सङ्क्रमितहरूको सङ्ख्या २४२ पुगेको छ।

मुख्यमन्त्री एन्ड्रु बार्र भन्छन् कि प्रदेशमा हाल जारी प्रतिबन्धहरूले काम गरिरहेको छ र यसै कारण लकडाउनको समयावधि थप दुई हप्ताका लागि लम्ब्याइएको हो।
बार्रको पछिल्लो घोषणासँगै क्यानबेराको लकडाउन अब कम्तीमा सेप्टेम्बर १७ तारिखसम्म हट्ने छैन।
तर बाहिर खुल्लामा गएर मानिसहरूलाई व्यायाम गर्न प्रदान गरिएको छुटमा भने थप सहुलियत हुनेछ।
“अब बिहीवारदेखि दुई घण्टासम्म तपाईँले घर बाहिर (हिँडडुल वा व्यायामका लागि) बिताउन सक्नुहुनेछ,” मुख्यमन्त्री बार्रले भने।
यसै गरी भवन बाहिर गरिने कामहरू जस्तै घर निर्माण, बाग-बगैँचाको साज-सज्जा लगायतका ‘कोभिडसेफ’ सम्बन्धी नियमहरू भित्र रहेर गर्न शुक्रवारदेखि स्वीकृति हुनेछ।
लकडाउनको समयावधि बढ्दै जाँदा एसीटी सरकारले व्यापार-व्यवसायहरूका लागि आर्थिक सहयोग पनि बढाइएको बताएको छ।
एन्ड्रु बार्रका अनुसार कोभिड-१९ स्वास्थ्य प्रतिबन्धहरूका कारण आफ्नो कारोबारमा कम्तीमा पनि ३० प्रतिशत गिरावट भोगेका व्यापार-व्यवसायहरूले थप राहत पाउनेछन्।
“कर्मचारी भएका रोजगारदाताहरूले थप १०,००० डलरसम्म पाउनेछन् भने एकल व्यवसायीहरूले अर्को ३,५०० डलरसम्म सरकारी अनुदान प्राप्त गर्नेछन्,” उनले भने।
- क्यानबेराका सङ्क्रमित स्थानहरूको सूचि र खोपका बारेमा थप जानकारी।
साउथ अस्ट्रेलिया
दक्षिण-पूर्वी क्वीन्सल्यान्ड र नर्दर्न टेरिटरीको क्याथरिनबाट साउथ अस्ट्रेलिया प्रवेश गर्ने यात्रुहरू माथि लागू रहेका सबै खालका प्रतिबन्धहरू हटाइएको घोषणा साउथ अस्ट्रेलियाको सरकारले गरेको छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
