मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्समा देखा परेका नयाँ मामिलाहरू मध्ये अधिकांश ४० वर्ष मुनिका मानिसहरू,
- भिक्टोरियाली प्रिमियरद्वारा कोरोनाभाइरस परीक्षणका लागि मानिसहरूलाई अगाडि आउन आग्रह,
- अस्ट्रेलियन क्यापिटल टेरिटरीमा स्थानिय सङ्क्रमणका थप १७ नयाँ घटना दर्ता र
- नर्दर्न टेरिटरीमा सोमवार गरिएका परीक्षणबाट थप सामुदायिक सङ्क्रमण फेला परेन।
न्यु साउथ वेल्स
हिजो बेलुका आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्समा कोरोनाभाइरसका कारण थप एक मृत्युका साथै सामुदायिक सङ्क्रमणका ४५२ मामिलाहरू पुष्टि भएका छन्।
आज बिहान सिड्नीमा आयोजित पत्रकार सम्मेलनका क्रममा राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले उक्त जानकारी दिएकी हुन्।
कोभिड-१९ सङ्क्रमणका कारण मृत्यु हुने पछिल्लो व्यक्ती ७० वर्ष कटेकी एक वृद्धा रहेको पनि उनको भनाई छ।
ती महिलाले कोरोनाभाइरस विरुद्ध खोपको एक मात्रा पनि नलगाएको बताइएको छ।
पत्रकार सम्मेलनकै क्रममा प्रिमियरले हालसम्म न्यु साउथ वेल्सका ५२ प्रतिशत योग्य मानिसहरूले कोभिड-१९ खोपको पहिलो मात्रा लगाइसकेको जानकारी दिएकी छिन्।उनी भन्छिन् कि अगस्ट महिनाको आखिरीसम्ममा ६० लाख बासिन्दाहरूलाई खोपको पहिलो मात्रा दिइने आफ्नो सरकारको लक्ष्य पुरा हुने देखिएको छ।
पछिल्लो आँकडाहरूका अनुसार न्यु साउथ वेल्समा ५२ लाख योग्य व्यक्तिहरूले कोरोनाभाइरस विरुद्धको खोपको कम्तीमा पनि पहिलो मात्रा पाइसकेका छन्।
सङ्क्रमण दर कम भएका र खोप दर उच्च भएका क्षेत्रहरूमा सेप्टेम्बरदेखि प्रतिबन्धहरू खुकुलो गर्ने बारे अधिकारीहरूले काम गरिरहेको समेत बेरिजिक्लियनले खुलाइन्।
उता, राज्यका क्षेत्रीय तथा ग्रामीण भेकमा कोभिड-१९ सङ्क्रमण फैलँदै गएबाट अधिकारीहरू थप चिन्तित बनेका छन्।
डेपुटी प्रिमियर जोन बारिलारो भन्छन् कि सरकारको ध्यान जोखिममा रहेका पश्चिमी न्यु साउथ वेल्सका समुदायहरू प्रति छ।
आज उक्त इलाकामा थप १८ सङ्क्रमित फेला परेको बताइँदै गर्दा ती स्थानमा हालसम्म कुल ११६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।
मानिसहरूलाई खोप लगाएर सङ्क्रमणको फैलावट रोक्न मद्दत गर्न बारिलारोले आग्रह गरेका छन्।

यसै गरी गए रातीसम्म राज्यभर ५०० भन्दा बढी मानिसहरूलाई कोभिड-१९ सम्बन्धी स्वास्थ्य प्रतिबन्धहरु उल्लङ्घन गरेको भन्दै दण्डित गरिएको न्यु साउथ वेल्स प्रहरीका डेपुटी कमिस्नर ग्यारी वर्बोइजको भनाई छ।
र, न्यु साउथ वेल्स हेल्थका डा जेरेमी मक्अन्ल्टीका अनुसार बढ्दो सङ्क्रमण सङ्ख्यालाई मध्य नजर गर्दै कन्ट्याक्ट ट्रेसिङका लागि आफूहरूले नयाँ प्रणाली लागू गरेका छन्।
उनी भन्छन् कि अबदेखि मानिसहरूको परीक्षण गर्दा उनीहरू पोजेटिभ भएको नतिजा आउँदासाथ टेक्स्ट सन्देशबाट सूचित हुनेछन्।
"सङ्क्रमित मानिसहरूलाई उनीहरू पनि अब एक केस भएको र आफू लगायत घरका अन्य सदस्य पनि तत्काल आइसोलेसनमा बस्नुपर्ने भन्नका लागि यस्तो व्यवस्था गरिएको हो," उनले भने।
भिक्टोरिया
मङ्गलवार भिक्टोरियामा कोभिड-१९ सङ्क्रमणका थप २४ स्थानीय मामिलाहरू दर्ता गरिएको छ।
अधिकारीहरुका अनुसार ती दुई दर्जन केसहरू मध्ये झन्डै आधा समुदायमा सक्रिय रहेका थिए।
प्रिमियर ड्यानिएल एन्ड्रूज भन्छन् कि अब आफूहरूको ध्यान सकेसम्म बढी सङ्ख्यामा मानिसहरूलाई कोरोनाभाइरस परीक्षणका लागि अगाडी आउन प्रोत्साहन गर्नुमा रहेको छ।
"हिजो ३१,५१९ जना परीक्षणका लागि अगाडी आएका थिए," उनले भने।
"अस्तिको तुलनामा यो सङ्ख्या केही बढी भएता पनि पर्याप्त छैन र म प्रत्येक भिक्टोरियालीलाई तपाईँको परिस्थिति जे-जस्तो भए पनि लक्षण देखिनासाथ जँचाउन अगाडि आउनुहोस् भन्छु।"
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
क्वीन्सल्यान्ड
क्वीन्सल्यान्डमा बितेका २४ घण्टामा थप एक सामुदायिक सङ्क्रमण पुष्टि भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार उक्त स्थानीय सङ्क्रमण पनि पश्चिमी ब्रिसबेन स्थित इन्दूरूपिल्ली क्लस्टरसँग सम्बन्धित छ।
प्रिमियर अनास्टेसिया पलाशेका अनुसार ती सङ्क्रमित व्यक्ति आइसोलेसनमा रहेका छन्।
न्यु साउथ वेल्ससँग सीमा जोडिएका स्थानहरूमा अनुगमन चुस्त बनाउन भन्दै उनले थप ५० प्रहरी अधिकृतहरू खटाइन लागिएको पनि आज बिहान ब्रिसबेनमा आयोजित कोभिड-१९ प्रेस सम्मेलनका क्रममा बताइन्।
शुक्रवारदेखि कोभिड-१९ विरुद्धको कम्तीमा पनि एक डोज खोप लगाएका अत्यावश्यक कामदारहरूलाई मात्र क्वीन्सल्यान्डमा प्रवेश दिइने छ।
उनी भन्छिन् कि क्वीन्सल्यान्डवासीलाई सुरक्षित राखिराख्न यस्ता कदमहरू मद्दतगार साबित भएका छन्।
"हामीले डेल्टा स्ट्रेन उत्तर तर्फ लागिरहेको देखेका छौँ," पलाशेले भनिन्।
"यो उपाय (सीमा नियन्त्रण), प्रतिरक्षाका लागि हाम्रो अन्तिम अस्त्र हो।"
सीमावर्ती इलाकामा बस्ने मानिसहरूका लागि जीवन सहज होस् भनेर आफूले न्यु साउथ वेल्स सरकार समक्ष दुई राज्य बिचको सीमा केही समयका लागि ट्वीड रिभरमा सार्न आग्रह गरिएको पनि उनले बताएकी छिन्।
"यसो गर्दा जीवनयापन सजिलो हुन्छ तर यसबारेको निर्णय अब न्यु साउथ वेल्सकी प्रिमियरको हातमा छ," पलाशेले भनिन्।
यसका साथै, केही हप्ता पहिले स्थगन गरिएको ब्रिसबेनको एक चर्चित कृषि प्रधान कार्यक्रम "एक्का" अब अक्टोबर २९ तारिखमा आयोजना हुने पनि उनको भनाई छ।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
आज एसीटीले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १७ नयाँ मामिलाहरू पुष्टि गरेको छ।
प्रदेशका मुख्यमन्त्री एन्ड्रु बार्रले क्यानबेरामा बोल्दै यसबारे जानकारी सार्वजनिक गरेका हुन्।

उनी भन्छन् कि क्यानबेरा स्थित अस्पतालमा कोभिड-१९ का कारण कसैलाई पनि भर्ना गर्नु परेको छैन र यो सुखद समाचार हो।
तर बार्रले आफ्नो प्रदेशमा हाल जारी कोरोनाभाइरस प्रकोप सुरुवाती चरणमा भएको उल्लेख गर्दै आउँदा दिनहरूमा सङ्क्रमण बढ्ने चेतावनी दिएका छन्।
नर्दर्न टेरिटरी
प्रदेशका मुख्यमन्त्री माइकल गनरले नर्दर्न टेरिटरीमा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका कुनै केस सोमबार गरिएका परीक्षणहरूबाट फेला नपरेको बताएका छन्।
हिजो उक्त प्रदेशमा १,८४६ जनाको कोभिड-१९ परीक्षण गरिएको थियो।
कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप मामिलाहरू अगाडि नआएता पनि मङ्गलवार गनरले पत्रकारहरूसँग बोल्दै प्रादेशिक अधिकारीहरूले सङ्क्रमित स्थान तथा त्यहाँ पुगेका मानिसहरूका बारेमा पुरा जानकारी प्राप्त नभए, हाल बृहत् डार्विन तथा क्याथरिनमा जारी लकडाउन थप केही समयका लागि लम्बिन सक्ने सङ्केत गरेका छन्।

प्रदेशका प्रमुख स्वास्थ्य अधिकारी ह्यु हेगी भन्छन् कि नर्दर्न टेरिटरीमा पछिल्लो पटक भाइरस कसरी प्रवेश गर्यो भन्ने बारेमा अझै स्पष्ट कुरा बाहिर आइसकेको छैन।
"हवाईजहाजमा हो वा विमानस्थलमा हो, सङ्क्रमण कहाँ घट्यो स्पष्ट छैनौँ," उनले भने।

उता, माइकल गनरले व्यापार-व्यवसाय माथि परेको प्रभाव न्यूनीकरण गर्ने गरी राहत दिने तयारी भइरहेको पनि बताएका छन्।
यसबारेमा सङ्घीय ट्रेजरर जस फ्राइडेनबर्गसँग आफूले कुरा गरेको पनि उनको भनाई छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
