मुख्य बुँदाहरू :
- अति कोरोना प्रभावित काउन्सिलहरूमा प्रतिबन्धहरू थप कडाइ गरिएको न्यु साउथ वेल्सको घोषणा,
- भिक्टोरियाली क्षेत्रीय शहर शेपर्टनमा एक सङ्क्रमित भेटिएपछि हाल त्यहाँ कन्ट्याक्ट ट्रेसिङको काम सुरु,
- क्यानबेरामा थप १२ सामुदायिक सङ्क्रमणका मामिला पुष्टि र
- साउथ अस्ट्रेलियाद्वारा आफ्नो सीमा सम्बन्धी प्रतिबन्धहरू केही खुकुलो पारेको भनाई।
न्यु साउथ वेल्स
हिजो राती आठ बजेसम्मको गणना अवधिभर न्यु साउथ वेल्समा कोभिड-१९ का थप ६४४ सामुदायिक सङ्क्रमणहरू पुष्टि गरिएको छ।
आज बिहान सिड्नीमा आयोजित आफ्नो दैनिक कोरोनाभाइरस अपडेटका क्रममा प्रिमियर ग्लाडिस बेरिजिक्लियनले उक्त जानकारी दिएकी हुन्।
बेरिजिक्लियनका अनुसार सोही अवधिमा थप चार जनाले पनि कोभिड-१९ सङ्क्रमणका कारण आफ्नो ज्यान गुमाएका छन्।
उनी भन्छिन् कि बिहीवार दिनभरिमा राज्यभर १३२,००० जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका थिए।
"अहिलेसम्म न्यु साउथ वेल्समा ५६ लाख डोज खोप लगाइसकिएको छ र राज्यमा बस्ने ५४ प्रतिशत मानिसहरूले कम्तीमा पनि एक डोज पाइसकेका छन्," उनले भनिन्।
"र, हाम्रो जनसङ्ख्याको २९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेका छन्।"
यद्यपि, राज्यमा सामुदायिक सङ्क्रमणका मामिलाहरू बढ्दै जाँदा आज न्यु साउथ वेल्स प्रिमियरले थप कडा कोभिड-१९ प्रतिबन्धहरूको घोषणा गरेकी छिन्।
बेरिजिक्लियनका अनुसार राज्यमा बढ्दो सङ्क्रमणका बिच हाल जारी व्यवस्थामा कडाइ गर्नु परेको हो।
"हामी सबै उपायहरू अपनाउँदै छौँ र यो समय संयमित भएर नियमहरूको पालना गर्ने समय हो," उनले भनिन्।
"हामी मध्ये धेरैले यस अवस्थालाई गम्भीरता पूर्वक लिएका छौँ, अब बाँकी सबैले पनि गम्भीर हुनै पर्ने बेला आएको छ।"
सिड्नीमा हाल जारी लकडाउन थप एक महिनाका लागि लम्ब्याउनुका साथै प्रिमियर ग्लाडिस बेरिजिक्लियनले पश्चिमी तथा दक्षिण-पश्चिमी सिड्नीका अति कोरोना प्रभावित काउन्सिल क्षेत्रहरूमा कर्फ्युको घोषणा गरेकी छिन्।
अब ती स्थानीय सरकार क्षेत्रमा बसोबास गर्ने मानिसहरूले बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म घरबाट निस्कन पाउने छैनन्।
अत्यावश्यक कामदारहरूलाई भने कर्फ्युबाट छुट दिइएको छ।
प्रिमियर बेरिजिक्लियनले सेन्ट्रल कोस्ट र शेलहार्बरलाई भने रिजनल क्षेत्रमा परिभाषित गरिएको भन्दै त्यहाँ राज्यका अन्य क्षेत्रीय स्थान झैँ लकडाउन अगस्ट २८ तारिखमा अन्त्य हुने बताइन्।
तर, ती स्थानमा सोमवार मध्यरातदेखि व्यायामका बेला बाहेक मानिसहरूले बाहिर फेर हिँडडुल गर्दा अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ।
यसै गरी, उनले चाइल्डकेयर तथा डिसेबिलिटी सपोर्टमा काम गर्ने मानिसहरूले अनिवार्य रूपमा खोप लगाउनुपर्ने बताएकी छिन्।
प्रिमियर भन्छिन् कि ३० अगस्टसम्ममा उनीहरूले खोपको पहिलो मात्रा नलगाए, ती कामदारहरूले बाल एवं अपाङ्ग स्याहार क्षेत्रमा काम गर्न पाउने छैनन्।
राज्य प्रहरीका प्रमुख मिक फुलरले भने सोमवार यता अपरेसन स्टे एट होम कारबाही सुरु भए यता ३,५०० जरिमानाका पुर्जी काटिसकिएको बताउँदै मानिसहरूलाई नियमहरू उल्लङ्घन नगर्न चेतावनी दिएका छन्।
न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले भने हाल राज्यका अस्पतालहरूमा भर्ती भएका मध्ये सघन उपचार गराइरहेका ८० जनामा अधिकांशले कोरोनाभाइरस विरुद्ध खोप नलगाएको बताएकी छिन्।
उनी भन्छिन् कि आज थप कडाइ गरिएका नियमहरूले खोपबाट मानिसहरूलाई सुरक्षित पार्न मद्दत मिल्ने छ।
"न्यु साउथ वेल्समा बस्ने मानिसहरूका लागि आउँदा ४ देखि ६ हप्ता अफ्ठेरो हुनेछ भन्ने मैले बुझेकी छु," उनले भनिन्।
"तर, म यहाँ हरेक दिन उभिएर यी उच्च अस्पताल भर्ती दर र यी मृत्युहरूका बारेमा घोषणा गर्न चाहन्न।"
न्यु साउथ हेल्थका अनुसार कोबर, पोर्ट मक्वारी, पार्क्स, कूनाम्बल र बेल्लामीका ढल प्रशोधन केन्द्रहरूमा जाँच गर्दा भाइरसका अंशहरू भेटिएका छन् र ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई कोभिड-१९ का लक्षण देखापर्ना साथ परीक्षणका लागि अगाडी आउन आग्रह गरिएको छ।
भिक्टोरिया
प्रिमियर ड्यानिएल एन्ड्रुजले हिजो बिहीवार गरिएको झन्डै ५०,००० मानिसहरूको कोभिड-१९ परीक्षणको नतिजाबाट ५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको आज बताएका छन्।
उनी भन्छन् कि राज्यमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३४९ रहेको छ जसमध्ये १५ जना अस्पतालमा भर्ना छन् र छ जनाको उपचार आइसियुमा भइरहेको छ।
"हामी ठिक छेउमा छौँ, अलिकति तलमाथि भए अवस्था अनियन्त्रित हुन सक्छ," उनले राज्यवासीलाई सतर्क गर्दै भने।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
आज घोषणा गरिएका ५५ मामिलाहरू मध्ये ३० जना सङ्क्रमितहरू समुदायमा सक्रिय रहेको र छ जनाका बारेमा थप छानबिन भइरहेको पनि उनको भनाई छ।
अस्ट्रेलियामा रहेका बालबालिकाहरू कसैले पनि कोभिड-१९ विरुद्ध खोप नपाएको तर सयौँका सङ्ख्यामा उनीहरू सङ्क्रमित बन्न थालेको भन्दै प्रिमियर एन्ड्रूजले कसैका लागि नभए ती बच्चाहरू अनुहारले खोप लगाउन मानिसहरूलाई प्रोत्साहन हुनुपर्ने बताएका छन्।
"यो देशका कुनै बच्चाहरूलाई पनि खोप लगाइएको छैन," उनले भने।
"र, यो नै खोप लगाएर कोभिड-१९ को फैलावटलाई नियन्त्रण गर्न मानिसहरूलाई प्रोत्साहन गर्न काफी हुनपर्छ।"
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
गएका २४ घण्टा यता एसीटीमा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १२ नयाँ मामिलाहरू पुष्टि भएका छन्।
मुख्य मन्त्री एन्ड्रु बार्र भन्छन् कि यी मध्ये १ जना कसरी सङ्क्रमित बन्न पुगे भनेर छानबिन जारी नै रहेको छ भने बाँकीका ११ मामिलाहरू पहिले घोषणा गरिएका सङ्क्रमणहरूसँग सम्बन्धित हुन्।
क्यानबेरामा हाल २०,००० भन्दा पनि बढी सङ्ख्यामा मानिसहरू आइसोलेसनमा छन् भने २५० भन्दा ठुलो सङ्ख्यामा सङ्क्रमित स्थानहरू सूचिकृत गरिएको छ।
क्वीन्सल्यान्ड
क्वीन्सल्यान्डमा शुक्रवार स्थानिय सङ्क्रमणको थप एक मामिला पुष्टि भएको छ।
राज्य अधिकारीहरुका अनुसार हाल आइसोलेसनमा रहेका एक बच्चामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो।
पश्चिमी ब्रिसबेन स्थित इन्दूरूपिल्ली हाई स्कुल क्लस्टरसँग ती सङ्क्रमित बालकको सम्बन्ध रहेको बताइएको छ र उनी हाल निको भइसकेको राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा ज्यानेट यङको भनाई छ।
यसका साथै, राज्यमा कोभिड-१९ सम्बन्धी प्रावधानहरूमा केही परिवर्तन भएको छ।
आज दिउँसो ४ बजेदेखि ब्रिसबेन शहर लगायत ११ काउन्सिल क्षेत्रहरूमा बस्ने मानिसका घर तथा बाहिर खुल्लामा ३० जनासम्म भेला हुन पाउने छन्।
११ काउन्सिल क्षेत्रहरू
- ब्रिसबेन सिटी,
- मोरेटन बे रिजनल काउन्सिल,
- गोल्ड कोस्ट,
- इप्सविच,
- लक्य भ्याली रिजनल काउन्सिल,
- लोगन सिटी,
- नूसा,
- रेडल्यान्ड,
- सेनिक रिम रिजनल काउन्सिल,
- सोमर्सेट रिजनल काउन्सिल र
- सनसाइन कोस्ट रिजनल काउन्सिल
यसै गरी, विवाह र मृत्यु संस्कारमा १०० जनासम्मले भाग लिन सक्नेछन्। विवाहमा हुने नाचगानमा भने एकसाथ २० जना मात्र सरिक हुने व्यवस्था अधिकारीहरूले गरेका छन्।
सामुदायिक खेलकुद पनि केही प्रतिबन्धहरूका साथ यो सप्ताहान्तदेखि सुरु हुनेछ।

डा यङले मास्कको प्रयोग हाललाई जारी राख्न मानिसहरूलाई अनुरोध गरेकी छिन्।
"कृपया मास्क लगाइ नै रहनुहोस्, विशेष गरी जब तपाईँ भौतिक दूरी कायम गर्न सक्नुहुन्न," उनले भनिन्।
उता, राज्यकी स्वास्थ्य मन्त्री युभेट डी'आथले थप क्वीन्सल्यान्डवासीहरूलाई खोप लगाउन आग्रह गरेकी छिन्।
उनका अनुसार हिजो बिहीवार राज्यमा २०,४२० जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका थिए।
साउथ अस्ट्रेलिया
साउथ अस्ट्रेलियाले उत्तरी लगायत रिजनल क्वीन्सल्यान्डका बासिन्दाहरूका लागि आफ्नो सीमा प्रतिबन्ध हटाइएको घोषणा गरेको छ।
यसका साथै, नर्दर्न टेरिटरीका अधिकांश भूभागमा बसोबास गर्ने मानिसहरूका लागि पनि आफ्नो राज्यमा प्रवेश पाउन अब थप सहज भएको उसको भनाई छ।
राज्यका प्रहरी कमिस्नर ग्रान्ट स्टिभन्स भन्छन् कि क्याथरिनका बासिन्दाहरू बारे पनि निर्णय छिट्टै हुनेछ।
तर उनले अरू राज्यमा हाल देखा परिरहेको डेल्टा प्रकोप बारे बोल्दै साउथ अस्ट्रेलियाका बासिन्दाहरूलाई कोभिड-१९ प्रतिबन्धहरू फेरी कुनै पनि बेला पुनः कडा पारिन सकिने बारे सतर्क रहन भनेका छन्।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
