मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्सका थप स्थानहरूमा कडा प्रतिबन्धहरू,
- मेलबर्नका व्यापार-व्यवसायहरूका लागि थप आर्थिक राहतको घोषणा,
- देशको राजधानी क्यानबेरा सहित अस्ट्रेलियन क्यापिटल टेरिटरी आज साँझ ५ बजेदेखि एक हप्ते लकडाउनमा र
- साउथ अस्ट्रेलियामा बस्ने मानिसहरूले हवाईजहाज चढेर क्वीन्सल्यान्ड जान पाउने।
न्यु साउथ वेल्स
बुधवार बेलुका आठ बजेसम्मको गणना अवधिभर न्यु साउथ वेल्समा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ३४५ नयाँ मामिलाहरू पुष्टि गरिएका छन्।
बिहीबार बिहान सिड्नीमा बोल्दै प्रिमियर ग्लाडिस बेरिजिक्लियनले यसको घोषणा गरेकी हुन्।
उनका अनुसार ती ३४५ मध्ये कम्तीमा पनि ६० जना मानिसहरू सङ्क्रमण अवधिभर नै समुदायमा सक्रिय रहेका थिए।
ती दुवै वृद्धहरू ९० वर्ष माथि रहेका थिए जसमध्ये एकले फाइजरद्वारा निर्मित खोपको दुई मात्रा नै लगाइसकेको बताइएको छ भने अर्काले एस्ट्राजेनेका खोपको पहिलो डोज मात्र पाएका थिए।
प्रिमियर बेरिजिक्लियनले बेसाइड, स्ट्राटफिल्ड र बर्वूड काउन्सिल क्षेत्रहरूलाई थप चासोका इलाकाका रूपमा वर्गीकृत गरिएको पनि बताएकी छिन्।
योसँगै यी काउन्सिल एरियामा बस्ने मानिसहरूले पाँच किलोमिटरभन्दा टाढा भ्रमण गर्न नपाउने लगायतका कडा प्रतिबन्धहरूको सामना आज बेलुका ५ बजेदेखि गर्नुपर्नेछ।
"बेसाइडको कुरा गर्दा बेक्स्ली, ब्याङ्क्सिया र रकडेल विशेष चासोका सबर्बहरू रहेका छन्," उनले भनिन्।
"यहाँ सङ्क्रमणका थप मामिलाहरू फेला परेका छन् र यी ठाउँहरूमा बस्नुहुन्छ भने कृपया परीक्षणका लागि अगाडि आउनुहोस्।"
यस्तै उनले अबर्न र ग्रानभिल जस्ता सबर्बहरु रहेको कम्बर्ल्यान्ड काउन्सिल क्षेत्रमा बस्ने मानिसहरूलाई पनि सतर्क रहन भनेकी छिन्।
न्यु साउथ वेल्सको लकडाउन सूचिमा परेका थप काउन्सिल क्षेत्रहरू यस प्रकार छन्:
- बोगन,
- बर्क,
- ब्रेवारिन्ना,
- कूनाम्बल,
- गिल्गान्ड्रा,
- नारोमाइन,
- वाल्गेट र
- वारेन।
भिक्टोरिया
भिक्टोरियाली अधिकारीहरूले राज्यमा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप २१ केसहरू पुष्टि गरेका छन्।
यस्तै थप दुई मामिलाहरू भने अन्तर राज्य यात्रीहरू रहेको पनि उनीहरूको भनाई छ।
सिड्नीबाट आएका ती दुई यात्रुहरूलाई आवश्यक कागजपत्र नरहेको भन्दै बुधवार बेलुका स्थानीय विमानस्थलबाट होटेल क्वारेन्टिनमा लगिएको थियो।
आज पुष्टि गरिएका मामिलाहरूका साथ भिक्टोरियामा हाल १३७ सक्रिय सङ्क्रमितहरू रहेका छन् भने सङ्क्रमित स्थानहरूको सूचि ३०० नाघिसकेको छ।

राज्यका कोभिड-१९ परीक्षण कमान्डर जेरोइन वाइमरका अनुसार आज सार्वजनिक गरिएका २१ मध्ये १० केसहरू अल-ताक्वा कलेजसँग, ४ न्युपोर्ट फुटबल क्लबसँग र ३ क्यारोलाइन स्प्रिङ्ग्स सपिङ सेन्टरसँग सम्बन्धित छन्।
यसै गरी तीन सङ्क्रमितहरू ग्लेनरोइ बस्ने दुई परिवारहरूमा देखिएको हो भने चौथो मामिला थप अनुसन्धानकै क्रममा रहेको पनि उनले बताएका छन्।
वाइमरका अनुसार आगामी चार हप्ताका लागि राज्यद्वारा सञ्चालित खोप क्लिनिकहरूको क्षमता २४०,००० रहेको छ र प्राय: गरेर यी उपलब्धता एस्ट्राजेनेका खोपका लागि हुन्।
आगामी महिना दिनका लागि अढाई लाखभन्दा बढी भिक्टोरियालीहरुले खोपका लगाउन समय लिइसकेका छन्।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।

हिजो थप एक साताका लागि भन्दै मेलबर्नमा जारी लकडाउनको समय सीमा बढाइएपछि आज भिक्टोरियाली रोजगार मन्त्री मार्टिन पकुलाले व्यवसायहरूका लागि थप आर्थिक सहयोगका कार्यक्रमहरू घोषणा गरेका छन्।
उनले यी नयाँ सहयोगहरू आफू सम्मिलित प्रिमियर ड्यानिएल एन्ड्रुज नेतृत्वको राज्य सरकार र प्रधानमन्त्री स्कट मोरिसनको सङ्घीय सरकार बिच निकै फलदायी वार्ताको निष्कर्षबाट प्राप्त भएको बताएका छन्।
यसअघिका लकडाउनमा मोरिसन सरकारले भिक्टोरियालाई उपेक्षा गरेको आरोपहरू लाग्दै आइरहेको थियो।
३६ करोड ७० लाख डलर बराबरको उक्त नयाँ राहत प्याकेजले मेलबर्न सहरका एक लाख भन्दा पनि बढी व्यापार-व्यवसायहरुलाई थप सहयोग पुग्ने बताइएको छ।
एसीटी
एक वर्ष यता कोरोनाभाइरसको कुनै सामुदायिक घटना दर्ता नगरेको अस्ट्रेलियन क्यापिटल टेरिटरीले गएको २४ घण्टामा पहिलो पटक कोभिड-१९ को नयाँ केस फेला परेको बताएको छ।
योसँगै एसीटीका मुख्यमन्त्री एन्ड्रु बार्रले आज बेलुका पाँच बजेदेखि एक साताका लागि भन्दै लकडाउनको घोषणा गरेका छन्।
उनले क्यानबेरावासीहरूलाई लकडाउन अवधिभर अत्यावश्यक कार्यका लागि बाहेक घरबाट ननिस्कन भनेका छन्।
- दैनिक उपभोग्य सामानहरूको किनमेल
- खोप लगाउन, स्वास्थ्योपचार वा कोभिड-१९ को परीक्षणका लागि
- आफन्तजनको हेरचाह
- व्यायाम (दैनिक १ घण्टा)
- अत्यावश्यक काम
यो पछिल्लो घटनासँगै आजदेखि अगस्ट २३ सम्मका लागि विश्राममा जाने अस्ट्रेलियाली सङ्घीय संसद्को चालू अधिवेशन पनि प्रभावित हुने देखिएको छ।
न्यु साउथ वेल्सका सिड्नी लगायत विभिन्न स्थानहरू, मेलबर्न र क्वीन्सल्यान्डका केही ठाउँमा लकडाउन तथा कडा प्रतिबन्धहरू जारी रहेकाले अधिकांश संसद् सदस्यहरू क्यानबेरामा नै समय बिताउने योजनामा रहेका छन्।
क्वीन्सल्यान्ड
क्वीन्सल्यान्डका अधिकारीहरूले आज बिहीवार कोभिड-१९ सामुदायिक सङ्क्रमणको थप १० मामिलाहरू पुष्टि गरेका छन्।
गए केही दिन यता जस्तै यी १० जना इन्दूरूपिल्ली क्लस्टरसँग नै सम्बन्धित रहेको बताइएको छ।
आफ्नो दैनिक कोभिड-१९ अपडेटका क्रममा राज्यकी प्रिमियर अनास्टेसिया पलाशेले सङ्क्रमित सङ्ख्या आगामी केही दिनसम्म सुधार नहुने लक्षण देखिएको बताएकी छिन्।
"क्लस्टरसँग सम्बन्धित सबैको १२ दिनमा परीक्षण गर्दै जाँदा सङ्क्रमित सङ्ख्या यस्तै नै रहने अपेक्षा छ," उनले भनिन्।
आज दिउँसो १२ बजेदेखि क्वीन्सल्यान्डले आफ्नो सीमा साउथ अस्ट्रेलियाका बासिन्दाहरूका लागि खुल्ला गरेको छ।
तर, साउथ अस्ट्रेलियाबाट क्वीन्सल्यान्ड प्रवेश हाललाई हवाई मार्गबाट मात्र सम्भव रहेको बताइएको छ।
सडक मार्गबाट आउँदा न्यु साउथ वेल्स हुँदै आफ्नो राज्यमा प्रवेश गर्नुपर्ने र हाल त्यहाँको अवस्था नाजुक रहेकाले मानिसहरूलाई सो बाटोबाट नआउन प्रिमियरले सतर्क गराएकी हुन्।

यसै गरी उनले गोल्डकोस्ट लगायत न्यु साउथ वेल्ससँग सीमा जोडिएका अन्य स्थानमा बसोबास गर्ने आफ्ना राज्यवासीहरूलाई न्यु साउथ वेल्स प्रवेश नगर्न पनि आग्रह गरेकी छिन्।
"हामी स्थितिलाई आगामी २४ देखि ४८ घण्टा एकदमै नजिकबाट अनुगमन गर्नेछौँ," उनले भनिन्।
"हामी चाहँदैनौ कि भाइरस उत्तर तर्फ आओस्; यसका लागि हामी कडा सीमा प्रतिबन्धहरू लागू गर्न पनि तयार छौँ।"
उता, क्वीन्सल्यान्डकी प्रमुख स्वास्थ्य अधिकारी ज्यानेट यङले आफूलाई मास्क खासै मन नपरे पनि समुदाय तथा स्कूलहरूमा यसको प्रयोग जारी नै रहने बताएकी छिन्।
उनी भन्छिन् कि अर्को आइतवारसम्ममा यसबारे थप निर्णय लिन आफू सक्षम हुनेछिन्।

"हेरौँ कस्तो हुन्छ, तर म तपाईँहरूलाई के आश्वासन दिन चाहन्छु भने मास्क लगाउनु नपर्ने अवस्था हुँदासाथ प्रिमियमलाई यसबारे सल्लाह दिनेछु," उनले भनिन्।
- क्वीन्सल्यान्डका कोभिड-१९ परिक्षण केन्द्रहरूबारे आधिकारिक जानकारी यहाँ छ।
- क्वीन्सल्यान्डका खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
