Explainer

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्स र टास्मेनियाले होम क्वारेन्टिनको परीक्षण सुरु गर्ने घोषणा

यो शुक्रवार, १७ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Dr Jamal Rifi administers a Covid vaccine to 12 year old Bailee Little at a pop-up drive through vaccination clinic at Belmore Oval, in Sydney, Friday, September 17, 2021.

Dr Rifi administers Covid vaccine to 12 year old at a pop-up drive through vaccination clinic at Belmore Oval, in Sydney, September 17, 2021. Source: AAP Image/Dan Himbrechts

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्स र टास्मेनियाद्वारा खोपको पुरा मात्रा लगाइसकेका मानिसहरूले भाग लिन पाउने नयाँ क्वारेन्टिन परीक्षण कार्यक्रमको घोषणा,
  • भिक्टोरियामा मध्यरात पछि प्रतिबन्धहरूमा केही खुकुलो,
  • एसीटीको वृद्ध स्याहार क्षेत्रमा कार्यरतहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने र
  • क्वीन्सल्यान्डमा सामुदायिक सङ्क्रमणको थप एक मामिला पुष्टि।
 


न्यु साउथ वेल्स

बिहीवार बेलुका आठ बजेसम्मको २४ घण्टामा न्यु साउथ वेल्सले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १,२८१ नयाँ मामिलाहरू दर्ता गरेको छ।

प्रिमियर ग्लाडिस बेरिजिक्लियनले सिड्नीमा पत्रकारहरूका माझ बोल्दै यसको पुष्टि गरेकी हुन्।

उनका अनुसार सोही अवधिमा थप १२ राज्यवासीहरूको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ। 

यसरी मृत्यु हुनेमा दुई जना २० वर्षमाथिका युवकहरू पनि रहेको बताइएको छ भने तीन जना डबो स्थित एक वृद्ध स्याहार केन्द्रका बासिन्दाहरू हुन्।

ती १२ मध्ये ७ जनाले खोप नलगाएको राज्यकी उप-प्रमुख स्वास्थ्य अधिकारी डा मेरिएन गेलले पुष्टि गरेकी छिन्।
प्रिमियरले भने राज्यका १६ वर्ष माथिका योग्य मानिसहरूको कुल सङ्ख्याको ५० प्रतिशतले अबका केही समय भित्रै कोभिड-१९ विरुद्ध खोपको दुवै मात्रा लगाइसक्ने भन्दै प्रसन्नता व्यक्त गरेकी छिन्।

उनका अनुसार अबको केही हप्ता भित्रैमा न्यु साउथ वेल्सले पनि होम क्वारेन्टिनको परीक्षण सुरु गर्नेछ।

उक्त परीक्षण सफल भए खोपको दुवै मात्रा लगाइसकेका घर फर्किने अस्ट्रेलियाली तथा अन्य यात्रुहरूले पनि होटेलको सट्टा निजी निवासमै क्वारेन्टिन गर्न पाउने ग्लाडिस बेरिजिक्लियनको भनाई छ।

उनी भन्छिन् कि १६ वर्ष माथिका राज्यवासीहरूको कुल सङ्ख्याको ८० प्रतिशतले खोपको दुवै मात्रा पुरा गरेपछि भने यो योजना सुरु गरिने छ।

“खोप लगाइसक्नु भएको छैन भने, अगाडि आउनुहोस्, खोप लगाउनुहोस्,” उनले भनिन्।
राज्यका पर्यटन मन्त्री स्टुवर्ट एरेसका अनुसार भने होम क्वारेन्टिन परीक्षण योजना सेप्टेम्बरको अन्त्यसम्ममा सुरु गर्ने आफूहरूको लक्ष्य छ।

सात दिने उक्त परीक्षण कार्यक्रममा १७५ जनालाई सहभागी गराइने जानकारी दिँदै उनले भने कि तिनमा ५० जना क्वान्टसका कर्मचारीहरूका साथै प्रहरी र स्वास्थ्य अधिकारीहरूद्वारा चुनिएका अन्य १२५ जनाले भाग लिनेछन्।

“साउथ अस्ट्रेलियाको परीक्षण कार्यक्रमबाट सङ्कलन गरिएको प्रमाणहरूलाई आधार बनाएर हाम्रो कार्यक्रम अगाडि बढ्ने छ,” एरेसले भने।

उक्त परीक्षण सफल भएमा होम क्वारेन्टिनलाई द्रुत रूपमा अगाडी बढाइने प्रिमियर बेरिजिक्लियनको भनाई छ।

उता, गेलले हाल न्यु साउथ वेल्स स्वास्थ्य विभागले १५,००० कोभिड-१९ बिरामीहरूको रेखदेख गरिरहेको बताएकी छिन्।

उनी भन्छिन् कि यी मध्ये अधिकांश घरमा नै आराम गरिरहेका मानिसहरू हुन्।

त्यसै गरी हाल राज्यभरका अस्पतालहरूमा १,२४५ जना कोरोनाभाइरस सम्बन्धी जटिलताका कारण भर्ती रहेको बताउँदै उनले २२८ जना बिरामीहरूलाई आइसियुमा भर्ना गरिएको पनि जानकारी दिएकी छिन्।

ती मध्ये ११२ जना बिरामीहरूलाई भेन्टिलेटरमा राखिएको छ। 

भिक्टोरिया

भिक्टोरियाले मध्यरातसम्मको २४ घण्टामा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ५१० नयाँ घटनाहरू दर्ता गरेको छ।

सोही अवधिमा थप एक जनाको कोभिड-१९ सङ्क्रमणका कारण राज्यमा मृत्यु भएको पनि भिक्टोरियाली स्वास्थ्य विभागले जनाएको छ।

विभागका अनुसार आज पुष्टि गरिएका ती ५१० मामिलाहरू मध्ये १२४ जनाको सङ्क्रमण स्रोत स्थापित गरिसकिएको छ।

हिजो ५५ हजार भिक्टोरियालीको कोभिड-१९ परीक्षण गरिएको थियो।
बिहीवार दिनभर झन्डै ४४ हजार राज्यवासीहरूले खोप लगाए पछि भने भिक्टोरियामा कोरोनाभाइरस विरुद्ध उपलब्ध खोपको पहिलो मात्रा लगाउने योग्य मानिसहरूको सङ्ख्या ७० प्रतिशत नाघेको छ।

योसँगै, आज मध्यरात पछि भिक्टोरियालीहरुले कोरोनाभाइरस प्रतिबन्धहरूमा केही छुट पाउने छन् भने प्रतिबन्धहरूबाट बाहिर निस्कने पूर्ण योजना प्रिमियर ड्यानिएल एन्ड्रुजले आगामी आइतबार सार्वजनिक गर्नेछन्।

खोपको दुवै मात्रा लगाउने भिक्टोरियालीहरूको सङ्ख्या भने ४९.९४ प्रतिशत रहेको छ।
अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर
आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।
अत्यावश्यक भनेर वर्गीकृत भएका काममा जान, कोभिड-१९ को खोप लगाउन, कोरोनाभाइरस परीक्षण र जरुरी किनमेल लगायत आफन्तजनको हेरचाह गर्न जानुहुन्छ भने चाहिँ तपाईँलाई पाँच किलोमिटरको नियम लागू हुँदैन। 

*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे। 

[link title="अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर" url="node/1827625"]

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीमा थप ३० जनामा कोभिड-१९ पुष्टि भएको छ।

मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार यी सबै मानिसहरू सामुदायिक रूपमा सङ्क्रमित भएका हुन्।

उनी भन्छन् कि ती मध्ये कम्तीमा पनि १४ जना समुदायमा सक्रिय रहेका थिए।

यसै गरी ११ जनाको सङ्क्रमण स्रोतबारे पहिचान हुन बाँकी नै छ।
हाल क्यानबेरा स्थित अस्पतालमा कोरोनाभाइरसका कारण ८ जना भर्ती रहेको बताउँदै बार्रले भने कि एक जनाको सघन उपचार हाल जारी छ र उनी भेन्टिलेटरमा छन्।

आज देखि, वृद्ध स्याहार क्षेत्रमा अनिवार्य खोप सम्बन्धी व्यवस्था लागू भएको छ, खोप नलागेका कामदारहरू कोभिड -१ ९ विरुद्धको खोपको पहिलो मात्रा नपाएसम्म आफ्नो कार्यस्थलमा प्रवेश गर्न पाउने छैनन्।

टास्मेनिया

प्रिमियर पिटर गट्विनले आजदेखि आफ्नो राज्यमा ६० वर्ष माथिकाले पनि फाइजर खोप लगाउन पाउने बताएका छन्।

उनी भन्छन् कि राज्यले नोभेम्बर २ तारिखसम्ममा ८० प्रतिशत बासिन्दाहरूलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ।

“डिसेम्बर १ तारिखसम्ममा भने ९० प्रतिशत टास्मेनियालीले खोप पाउन् भन्ने हाम्रो लक्ष्य हो,” उनले भने।

देशको ८० प्रतिशत योग्य वासिन्दाहरुलाई खोप लगाइदिने लक्ष्य पुरा हुँदा आत्मविश्वासका साथ राज्यको सीमा खुलोस् भनेर आफूहरूले सो उपलब्धि हासिल गर्न चाहेको पनि गट्विनको भनाई छ।

यसै गरी टास्मेनियाले रिजनल न्यु साउथ वेल्सबाट घर फर्किने राज्यवासीकालागि १४ दिने होम क्वारेन्टिन परीक्षण सुरु गर्ने घोषणा गरेको छ।

पिटर गट्विनका अनुसार सो परीक्षण योजना अर्को साताबाट सुरु हुनेछ र कोभिड-१९ विरुद्ध पूर्ण मात्रा खोप लगाइसकेका मानिसहरू टास्मेनिया फर्किन योग्य हुनेछन्।

तर, होम क्वारेन्टिनका लागि योग्य हुन फर्किने बासिन्दाहरूले आफू सङ्क्रमित नभएको प्रमाणका साथै अरू कोही नबस्ने उचित वासस्थान उपलब्ध रहेको पनि देखाउनुपर्नेछ।

क्वीन्सल्यान्ड

बितेका २४ घण्टामा क्वीन्सल्यान्डले कोभिड-१९ सामुदायिक सङ्क्रमणको थप एक नयाँ मामिला दर्ता गरेको राज्यकी स्वास्थ्य मन्त्री युभेट डी'आथले बताएकी छिन्।

तर यसबाट अधिकारीहरू चिन्तित नबनेको उनको भनाई छ।

ती सङ्क्रमित व्यक्ति होम क्वारेन्टिनमा नै रहेकाले डी'आथले चिन्ता गर्नुपर्ने कारण नभएको बताएकी हुन्।

उनका अनुसार यी सङ्क्रमित व्यक्ति पनि दक्षिणी क्वीन्सल्यान्ड स्थित सनीब्याङ्क क्लस्टरसँग सम्बन्धित छन्।

यो सप्ताहान्त राज्य सरकारद्वारा सञ्चालित खोप केन्द्रहरूमा बिना बुकिङ फाइजरद्वारा निर्मित खोप उपलब्ध हुने भन्दै स्वास्थ्य मन्त्रीले क्वीन्सल्यान्डवासीलाई “सुपर फाइजर विकेन्डमा” भाग लिन आह्वान गरेकी छिन्।

राज्यमा खोप लगाउने मानिसहरूको सहभागिता अन्य राज्य तथा प्रदेशहरूको तुलनामा निकै कम रहेपछि क्वीन्सल्यान्ड सरकारले ६० वर्ष माथिका राज्यवासीहरू पनि फाइजर खोपका लागि योग्य हुने घोषणा केही दिन अघि गरेको थियो।
 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।




Share

Published

Updated

By SBS/ALC Content
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand