मुख्य बुँदाहरू:
- पश्चिमी न्यु साउथ वेल्सको ओबेरन स्थित ढलको नमुना सङ्कलन गर्दा भाइरस फेला पर्यो,
- रिजनल भिक्टोरियाको बालाराट लकडाउन मुक्त हुँदै,
- एसीटी आफ्नो खोप लक्ष्य तर्फ अग्रसर र
- क्वीन्सल्यान्डमा बिना बुकिङ खोप लगाउने स्थानहरू बढ्यो।
न्यु साउथ वेल्स
मङ्गलवार राती आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्सले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणको १,०३५ नयाँ मामिलाहरू दर्ता गरेको छ।
सोही अवधिमा राज्यमा थप पाँच जनाले कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाएको पनि प्रिमियर ग्लाडिस बेरिजिक्लियनले पुष्टि गरेकी छिन्।
उनी भन्छिन् कि राज्यका १६ वर्ष माथिका ७० प्रतिशत बासिन्दाहरूले खोपको दुवै मात्रा लगाएपछि प्रतिबन्धहरू खुकुलो पारिँदा प्रयोगमा आउने खोप राहदानी वा भ्याक्सिन पासपोर्टको तयारीमा न्यु साउथ वेल्स सरकार लागेको छ।
“पहिलेको व्यवस्था भन्दा यो नितान्त फरक हुनेछैन।”
बेरिजिक्लियनका अनुसार सर्भिस न्यु साउथ वेल्सको चेक इन प्रणाली र मेडिकेयरद्वारा जारी हुने खोप कार्डलाई मिलाएर एक नयाँ एपको परीक्षण रिजनल न्यु साउथ वेल्सबाट सुरु गरिनेछ।
उता, पश्चिमी न्यु साउथ वेल्सको ओबेरन स्थित ढलको नमुना सङ्कलन गर्दा भाइरस फेला परेपछि अधिकारीहरूले स्थानीय समुदायलाई कोभिड-१९ सम्बन्धी लक्षण देखा पर्नासाथ परीक्षणका लागि अगाडि आउन आग्रह गरेका छन्।
भिक्टोरिया
मध्यरातसम्मको गणना अवधिसम्ममा भिक्टोरियामा कोरोनाभाइरस स्थानीय सङ्क्रमणका थप ६२८ नयाँ मामिलाहरू पुष्टि भएका छन्।
यी मध्ये ५७ प्रतिशत मेलबर्नका उत्तरी सबर्बहरूका बासिन्दा हुन्।
सोही अवधिमा कोभिड-१९ सङ्क्रमणका कारण राज्यमा थप तीन जनाको मृत्यु भएको पनि स्थानीय स्वास्थ्य विभागले बताएको छ।
हाल भिक्टोरियाभर ६,२२३ सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये २५७ जनाको अस्पतालमा उपचार जारी छ।
यसरी अस्पतालमा भर्ती भएकाहरू मध्ये ५८ बिरामीहरु सघन उपचार कक्षमा छन् जसमा ३७ व्यक्तिहरूलाई भेन्टिलेटरमा राखिएको पनि अधिकारीहरूले जानकारी दिएका छन्।
योसँगै, भिक्टोरियाली डेपुटी प्रिमियर जेम्स मेलिनोले आज मध्यरातदेखि उक्त रिजनल शहर लकडाउन मुक्त हुने बताएका छन्।
“सम्पूर्ण बालाराट समुदायलाई मेरो धन्यवाद छ,” उनले भने।
“तर मानिसहरूले जनस्वास्थ्य सम्बन्धी आदेशहरूको पालना कायमै राख्नुपर्छ, मास्क (भवन) बाहिर र भित्र अझै पनि लगाउनु पर्छ।”
यसै गरी भिक्टोरियाली सरकारले १९ करोड डलर खर्चेर ५१,००० वायु शुद्धीकरण यन्त्रहरू सरकारी, कम शुल्कका क्याथोलिक एवम् स्वतन्त्र विद्यालयहरूमा जडान गरिने पनि घोषणा आज गरेको छ।
शिक्षा मन्त्री समेत रहेका मेलिनोका अनुसार विद्यालयहरूमा वायु शुद्धीकरण गर्न अस्ट्रेलियामा पहिलो पटक यति ठुलो धनराशी लगानी गर्न लागिएको हो।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
एसीटीले पछिल्लो २४ घण्टे गणना अवधिमा कोभिड-१९ स्थानीय सङ्क्रमणको थप १७ मामिलाहरू दर्ता गरेको छ।
मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार ती मध्ये ११ जना समुदायमा सक्रिय थिए।
एसीटीमा हालसम्म ८१ प्रतिशत योग्य बासिन्दाहरूले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने दुवै डोज लगाउने मानिसहरूको सङ्ख्या ५६ प्रतिशत छ।
क्वीन्सल्यान्ड
बितेका २४ घण्टामा क्वीन्सल्यान्डले कोभिड-१९ स्थानीय सङ्क्रमणको थप एक मामिला दर्ता गरेको छ।
प्रिमियर अनास्टेसिया पलाशेका अनुसार आज पुष्टि गरिएका उक्त मामिला दक्षिण ब्रिसबेनको सनीब्याङ्क क्लस्टरसँग सम्बन्धित रहेको छ।
हाल घरमा नै क्वारेन्टिन गरिरहेका व्यक्ति भएका कारण उनीबाट समुदायलाई कुनै जोखिम नरहेको पनि पलाशेले बताएकी छिन्।
यसै गरी आजदेखि लागू हुने गरी कबुलचर, डूम्बेन, किप्पा-रिङ र ब्रिसबेन इन्टरटेन्मेन्ट सेन्टरका खोप केन्द्रहरूमा पनि मानिसहरूले सोझै उपस्थिति जनाएर खोप लगाउन पाउने भएका छन्।
गत सप्ताहान्तका बेला “सुपर फाइजर वीकेन्ड” कार्यक्रम मार्फत हजारौँ क्वीन्सल्यान्डवासीहरुले बिना बुकिङ खोप लगाउन आएपछि यस्तो व्यवस्था गरिएको प्रिमियरको भनाई छ।
“मानिसहरूले यस्तो वक-इनलाई सजिलो व्यवस्थाका रूपमा लिएका छन्,” पलाशेले भनिन्।
“अबको केही सप्ताहान्तमा हामी फेरी सुपर फाइजर वीकेन्डको आयोजना गर्नेछौं।”
पछिल्लो सरकारी आँकडा अनुसार क्वीन्सल्यान्डका ६१ प्रतिशत योग्य बासिन्दाहरूले कोभिड-१९ विरुद्ध उपलब्ध खोपको पहिलो मात्रा लगाइसकेका छन् भने कम्तीमा पनि ४२ प्रतिशतले दुवै मात्रा पाइसकेका छन्।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
