Explainer

कोभिड-१९ अपडेट: मेलबर्न विश्वकै लामो समयसम्म लकडाउन भएको शहर हुँदै गर्दा लकडाउनको अन्तिम सातामा न्यु साउथ वेल्स प्रवेश

यो सोमवार, ४ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

People are seen exercising at Albert Park Lake in Melbourne, Monday, October 4, 2021. Melbourne has become the most locked down city in the world, surpassing the 245-day record set by Argentina's Buenos Aires. (AAP Image/Daniel Pockett) NO ARCHIVING

People are seen exercising at Albert Park Lake in Melbourne, Monday, October 4, 2021. Source: AAP Image/Daniel Pockett

मुख्य बुँदाहरू:

  • भिक्टोरियाका ४५ प्रतिशत नयाँ सङ्क्रमित ३० वर्ष मुनिका,
  • न्यु साउथ वेल्सको लिजमोर सात दिने लकडाउनमा जाँदै,
  • क्यानबेराका १२ वर्ष माथिका ९३ प्रतिशत भन्दा पनि बढी मानिसहरूले खोपको पहिलो मात्रा लगाए र
  • क्वीन्सल्यान्डमा थप एक सामुदायिक सङ्क्रमण पुष्टि।

भिक्टोरिया

बितेका २४ घण्टामा भिक्टोरियाले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १,३७७ नयाँ मामिलाहरू दर्ता गरेको छ।

योसँगै राज्यमा सक्रिय मामिलाहरूको सङ्ख्या १२,७११ पुगेको डेपुटी प्रिमियर जेम्स मेलिनोले बताएका छन्।

उनी भन्छन् कि सोही अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण चार भिक्टोरियालीको ज्यान गएको छ।

पछिल्लो २४ घन्टमा ज्यान गुमाउनेमा ६० वर्ष कटेका एक पुरुष र एक महिला रहेको बताइएको छ भने ७० वर्ष माथिकी एक वृद्धा एवम् ८० वर्षभन्दा ज्येष्ठ एक वृद्ध पनि रहेका छन्।
भाइरसका जीवाणुहरू राज्यको उत्तर-पश्चिममा पर्ने मिल्डुराको ढल परीक्षणका क्रममा भेटिएपछि, अधिकारीहरूले स्थानीय वासिन्दाहरुलाई सतर्क रहन आग्रह गर्दै कोभिड-१९ सम्बन्धी लक्षणहरू देखा पर्नासाथ परीक्षणका लागि अगाडि आउन भनेका छन्।

त्यसै गरी रिजनल भिक्टोरियाका मोर्वेल र शेपर्टनमा पहिलो दर्जाका थप सङ्क्रमण स्थलहरू सूचिकृत गरिएको छ।

अर्को तर्फ, छ पटक गरेर मेलबर्नवासीहरूले २४६ दिन लकडाउनमा बिताउँदै गर्दा, सर्वाधिक लामो समयसम्म प्रतिबन्धात्मक आदेशहरूको पालना गरेको सहरका रूपमा मेलबर्नको नाम सबैभन्दा अगाडी आएको छ।

यसअघि, अर्जेन्टिनाको राजधानी ब्युनोस एरिजले सबैभन्दा लामो समय लकडाउन भएको सहरको उपाधि पाएको थियो।

भिक्टोरियाका अस्पतालहरूमा हाल ४९८ जना कोभिड-१९ सम्बन्धी जटिलताका कारण भर्ती छन् जसमध्ये ९६ जनाको सघन उपचार भइरहेको छ।

अधिकारीहरुका अनुसार भेन्टिलेटरमा राखेर उपचार हुनेको सङ्ख्या ५९ पुगेको छ।

हालसम्म १२ वर्ष माथिका ८१.१ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेका भिक्टोरियामा, राज्य सरकारद्वारा सञ्चालित खोप केन्द्रहरूमा अझै पनि फाइजरका लागि ४,२००; एस्ट्राजेनेकाका लागि ८,५०० र मोर्डनाका निम्ति २३,००० स्थानहरू उपलब्ध रहेको बताइएको छ।

जीपी तथा औषधी पसलहरू मार्फत पनि हजारौँ सङ्ख्यामा थप खोपहरु उपलब्ध रहेका छन्।

न्यु साउथ वेल्स

आइतबार बेलुका आठ बजेसम्मको अवधिमा न्यु साउथ वेल्समा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप ६२३ नयाँ मामिलाहरू दर्ता गरिएका छन्।

मध्य अगस्ट यता कुनै पनि २४ घण्टे गणना अवधिमा पुष्टि भएको यो नै सबैभन्दा कम दैनिक सङ्क्रमण सङ्ख्या हो।

न्यु साउथ वेल्स राज्यको स्वास्थ्य विभागका अनुसार सोही अवधिमा थप ६ बासिन्दाहरूको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।

योसँगै, हाल जारी प्रकोपबाट राज्यमा ३७८ जनाले ज्यान गुमाइसकेका छन्।
न्यु साउथ वेल्सका स्वास्थ्य उप-प्रमुख डा जेरेमी मक्अन्ल्टीले हालसम्म राज्यका ८८.४ प्रतिशत वयस्कहरूले खोपको कम्तीमा पनि एक मात्रा लगाएको बताउँदै खोपको दुवै मात्रा भने ६७.१ प्रतिशत बासिन्दाहरूले पाएको जानकारी दिए।

उता, लिजमोर काउन्सिल क्षेत्रमा लकडाउन आगामी ११ अक्टोबरसम्मका लागि लागू हुने गरी आज घोषणा गरिएको छ।

२८ सेप्टेम्बरदेखि उक्त क्षेत्र पुगेका मानिसहरूका हकमा पनि सो प्रतिबन्धात्मक आदेश लागू हुनेछ।

अधिकांश न्यु साउथ वेल्स भने लकडाउनको अन्तिम सातामा प्रवेश गर्दै गर्दा लिजमोरमा प्रतिबन्ध सुरु भएको हो।

हाल १६ वर्ष माथिका योग्य बासिन्दाहरूको ६७.१ प्रतिशतले खोपको पुरा मात्रा लगाउँदै गर्दा, राज्य लकडाउनबाट बाहिर निस्कने तयारीमा छ।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

बितेको २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका २८ नयाँ मामिलाहरू दर्ता गरेको एसीटीमा, कोरोनाभाइरस सङ्क्रमणका कारण सोहीभर दुई प्रदेशवासीको ज्यान गएको छ।

मुख्यमन्त्री एन्ड्रु बार्र भन्छन् कि ती मध्ये एक महिलाले खोपको दुवै मात्रा लगाएता पनि निकै वृद्ध थिइन्।

क्यानबेरा स्थित अस्पतालमा हाल १६ जना भर्ती रहेको पनि उनको भनाई छ।

“ती मध्ये पाँच जना आइसियुमा छन् र एकलाई भेन्टिलेटरमा राखिएको छ,” उनले भने।
आज सार्वजनिक भएका सङ्क्रमण मध्ये १४ जना पहिले जानकारीमा आइसकेका सङ्क्रमितसँग सम्बन्धित छन् भने जम्मा आठ जना मात्रै पुरै अवधि क्वारेन्टिनमा रहेको बार्रले बताएका छन्।

मुख्यमन्त्री बार्र भन्छन् कि प्रदेशको खोप दर निकै चाखलाग्दो हिसाबले उक्लने क्रम जारी नै छ।

“हिजो, १२ वर्ष माथिका योग्य बासिन्दाहरूले खोपको पहिलो मात्रा लगाउने दर ९३.४ प्रतिशत पुगेको थियो,” उनले भने।

“पहिलो मात्राका लागि यो निकै उच्च दर हो, जब दोस्रो मात्रा लगाउने मौका आउने छ, हाम्रो समुदायले निकै बलियो सुरक्षा प्राप्त गर्नेछ।”  

क्वीन्सल्यान्ड

बितेका २४ घण्टामा क्वीन्सल्यान्डले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणको थप एक नयाँ मामिला दर्ता गरेको छ।

राष्ट्रिय रग्बी लिग अन्तर्गतको फाइनल खेल आयोजना भएको भोलिपल्ट ब्रिसबेनको उत्तरी भेगमा बसोबास गर्ने एक ५० वर्षीय महिलामा सो सङ्क्रमण पुष्टि भएको हो।

स्वास्थ्य अधिकारीहरूका अनुसार ती महिला कसरी सङ्क्रमित बन्न पुगिन् भन्ने बारे छानबिन जारी नै छ।
क्वीन्सल्यान्डकी प्रमुख स्वास्थ्य अधिकारी डा ज्यानेट यङ भन्छिन् कि खोपको दुवै मात्रा लगाइसकेकी सो महिला अघिल्लो महिनाको २४ तारिखदेखि नै सङ्क्रमित थिइन्।

“उनी कहाँ सङ्क्रमित भइन् भन्ने बारे हामी छानबिन गरिरहेका छौँ,” यङले भनिन्।

योसँगै राज्यको सङ्क्रमित स्थानहरूको सूचि पनि लम्बिएको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

Published

By SBS/ALC Content
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
कोभिड-१९ अपडेट: मेलबर्न विश्वकै लामो समयसम्म लकडाउन भएको शहर हुँदै गर्दा लकडाउनको अन्तिम सातामा न्यु साउथ वेल्स प्रवेश | SBS Nepali