मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्समा १६ वर्ष माथिका ४७.५ प्रतिशत जनसङ्ख्याले लगाए खोपको पुरै मात्रा,
- भिक्टोरियाली रिजनल शहर शेपर्टन मध्यरातदेखि लकडाउन मुक्त हुँदै,
- एसीटीद्वारा ७५ प्रतिशत प्रदेशवासीलाई खोपको पहिलो मात्रा लगाइदिने लक्ष्य पुरा र
- क्वीन्सल्यान्डमा नयाँ सामुदायिक सङ्क्रमण मामिला शून्य।
न्यु साउथ वेल्स
मङ्गलवार बेलुका आठ बजेसम्म न्यु साउथ वेल्समा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १,२५९ नयाँ मामिलाहरू पुष्टि भएका छन्।
सिड्नीको कुडोस ब्याङ्क अरिना स्थित खोप केन्द्रको प्राङ्गणबाट बोल्दै प्रिमियर ग्लाडिस बेरिजिक्लियनले उक्त आँकडा सार्वजनिक गरेकी हुन्।
प्रिमियरले अति कोभिड-१९ प्रभावित १२ काउन्सिल क्षेत्रमा लागू रात्रिकालीन कर्फ्यु सम्बन्धी व्यवस्था अन्त्य भएको पनि घोषणा गरेकी छिन्।
राज्यमा खोपका लागि १६ वर्ष माथिका योग्य बासिन्दाहरूको ८० प्रतिशतले आज कोरोनाभाइरस विरुद्ध खोपको पहिलो मात्रा लगाइसक्ने बताउँदै उनले कर्फ्यु भोलि बिहानदेखि हट्ने जानकारी दिएकी हुन्।
“यदि तपाईँ ती स्थानीय सरकार क्षेत्रमा हुनुहुन्छ भने, त्यहाँ लागू हरेक नियमको पालना गर्नुहोस्,” बेरिजिक्लियनले भनिन्।
सोह्र वर्ष माथिका ७० प्रतिशत योग्य बासिन्दाहरूले कोभिड-१९ विरुद्ध खोप लगाइसकेपछि क्याफे, हजामको पसल र जिमहरू सीमित क्षमतामा खुल्ने व्यवस्था हुने पनि उनले बताएकी छिन्।
ग्लाडिस बेरिजिक्लियनका अनुसार केवल खोप लगाएका मानिसहरूले मात्रै प्रवेश पाउने स्थलहरू भनेर स्वास्थ्य आदेशहरू जारी गरिनेछन्।
“म यो स्पष्ट पार्न चाहन्छु,” उनले भनिन्।
“यदि तपाईँले खोप लगाउनु भएको छैन भने तपाईँ रेस्टुरेन्ट जान पाउनुहुने छैन, तपाईँ क्याफे छिर्न सक्नुहुने छैन।”
उता, राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा. केरी चान्टले वागा-वागा, यङ र मड्जीका बासिन्दाहरूलाई कोरोनाभाइरसका लक्षणहरू देखा पर्नासाथ परीक्षणका लागि अगाडी आउन भनेकी छिन्।
राज्यका स्वास्थ्य अधिकारीहरूले कोभिड-१९ सङ्क्रमित एक व्यक्तिले रिजनल न्यु साउथ वेल्सका यी शहरहरु पुगेको पुष्टि गरेपछि डा. चान्टले उक्त आग्रह गरेकी हुन्।
भिक्टोरिया
मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ४२३ नयाँ मामिला दर्ता गरेको छ।
भिक्टोरियाली स्वास्थ्य विभागका अनुसार सोही अवधिमा थप दुई जनाको कोभिड-१९ सङ्क्रमणका कारण मृत्यु भएको छ।
प्रिमियर ड्यानिएल एन्ड्रुजले एक साताका लागि रिजनल शहर बालाराट लकडाउनमा फर्किने घोषणा गरेका छन्।
अघिल्लो साता चार जना बासिन्दामा सङ्क्रमण पुष्टि भएपछि र स्थानीय ढलमा भाइरस ठुलो रूपमा देखा परेपछि लकडाउन सम्बन्धी निर्णय लिइएको एन्ड्रुजले बताएका छन्।
शेपर्टन बारे बोल्दै उनले भने कि सबैको उत्कृष्ट कामका कारण प्रतिबन्ध खुकुलो पार्न सम्भव भएको हो।
“यो गोलबर्न भ्यालीका मानिसहरूको कारण सम्भव भएको हो, सबैलाई धन्यवाद छ,” उनले भने।
“उनीहरू सबैले गजबको काम गरेर देखाएका छन्।”
यसै गरी प्रिमियरले राज्य प्रणाली मार्फत खोप लगाउने मानिसहरूको सङ्ख्या भिक्टोरियामा १० लाख नाघेको बताएका छन्।
“मलाई यो बताउन पाउँदा औधी खुसी लागेको छ कि हामीले पाँच हप्तामा १० लाख खोप लगाइसकेका छौँ,” उनले भने।
हालसम्म राज्यका योग्य बासिन्दाहरूको ६८.३ प्रतिशतले खोपको पहिलो मात्रा लगाई सकेका छन् भने आउँदो शुक्रवारसम्ममा यो आँकडा ७० प्रतिशत पुग्ने बताइएको छ।
प्रिमियर एन्ड्रुजका अनुसार भिक्टोरियाली अस्पतालहरूमा कोरोनाभाइरस सङ्क्रमित १७३ जनाको उपचार जारी छ र ती मध्ये ४४ जनालाई आइसियुमा भर्ती गरिएको पनि उनले जानकारी दिए।
“तेइस जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,” उनले भने।
अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर
आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे।
[link title="अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर" url="node/1827625"]

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
एसीटीले बितेका २४ घण्टामा कोरोनाभाइरसका थप १३ नयाँ स्थानीय सङ्क्रमणका मामिला दर्ता गरेको छ।
मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार ती मध्ये आठ जना समुदायमा सक्रिय थिए।
उनी भन्छन् कि हाल कोभिड-१९ सम्बन्धी जटिलताका कारण क्यानबेरा स्थित अस्पतालमा सात जना बिरामी भर्ती छन् जसमध्ये १ जनालाई आइसियुमा भर्ती गरेर भेन्टिलेटरमा राख्नु परेको छ।
न्यु साउथ वेल्समा १६ वर्ष माथिका योग्य राज्यवासीहरूको ८० प्रतिशतले कोरोनाभाइरस विरुद्ध खोपको पहिलो मात्रा लगाउँदै गर्दा एसीटीमा भने आज ७५ प्रतिशत योग्य बासिन्दाहरूले खोपको पहिलो मात्रा लगाई सक्ने मुख्यमन्त्री बार्रले बताएका छन्।
“अब छिट्टै नै खोपको पहिलो मात्रा चाहने सबैलाई हामी खोप उपलब्ध गराउने छौँ,” उनले भने।
यसका साथै उनले १६ वर्ष माथिका ७० प्रतिशत बासिन्दाहरूले खोपको पूर्ण मात्रा नलगाएसम्म प्रदेशमा हाल जारी प्रतिबन्धहरू नहट्ने पनि बताएका छन्।
क्वीन्सल्यान्ड
बितेका २४ घण्टामा क्वीन्सल्यान्डले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणको कुनै पनि नयाँ मामिला दर्ता गरेको छैन।
प्रिमियर अनास्टेसिया पलाशेका अनुसार आगामी सप्ताहान्त खोपलाई लिएर आफ्नो राज्यमा महत्त्वपूर्ण हुने बताएकी छिन्।
उनी भन्छिन् कि क्वीन्सल्यान्डभरका सामुदायिक खोप केन्द्रहरूमा मानिसहरूले बिना बुकिङ नै खोप लगाउन सक्नेछन्।
साथै कमनवेल्थ सरकारका तर्फबाट थप फाइजर निर्मित खोपहरू आपूर्ति भएकाले ६० वर्ष माथिका मानिसहरू अब सो खोपका लागि योग्य भएको उनको भनाई छ।
हालसम्मको खोप दर हेर्दा, क्वीन्सल्यान्ड देशका अन्य राज्य तथा प्रदेशको तुलनामा सबैभन्दा पछाडि रहेको छ।
प्रिमियरका अनुसार खोपका लागि योग्य क्वीन्सल्यान्डवासीहरूको केवल ५७.१२ प्रतिशतले पहिलो मात्रा र ३८.७८ प्रतिशतले दुवै मात्रा पाएका छन्।
नर्दर्न टेरिटरी
उच्च जोखिम उद्योगमा काम गर्ने नर्दर्न टेरिटरीका कामदारहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने भएको छ।
मुख्यमन्त्री माइकल गनरले प्रदेशको कोभिड-१९ तेस्रो तहको कार्य योजना अनुसार यसबारे घोषणा गरेका हुन्।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
