मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्स सरकारको अगस्ट मसान्तसम्म ६० लाख मात्रा खोप लगाउने लक्ष्य,
- क्विन्सल्यान्डमा सक्रिय केसहरू सङ्ख्या ४७ पुग्यो,
- भिक्टोरियामा थप चार सामुदायिक सङ्क्रमणका मामिला र
- सङ्घीय सरकारद्वारा थप कोभिड-१९ सहायता भुक्तानीको घोषणा।
न्यु साउथ वेल्स
मङ्गलवार न्यु साउथ वेल्समा थप १९९ सामुदायिक सङ्क्रमणका मामिलाहरू पुष्टि भएका छन्।
आज बिहान सिड्नीमा पत्रकारहरूसँग बोल्दै राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले उक्त तथ्याङ्क सार्वजनिक गरेकी हुन्।
सोमवार बेलुका आठ बजेसम्मको गणना अवधिमा १०४,५३६ जनाको कोरोनाभाइरस परीक्षण पश्चात् झन्डै २०० मानिसहरूमा सामुदायिक सङ्क्रमण पुष्टि भएको हो।
बेरिजिक्लियनका अनुसार ती १९९ मध्ये ५० जना सङ्क्रमित अवस्थामा समुदायमा सक्रिय रहेका थिए।
यसरी सङ्क्रमित हुने मानिसहरूमा अधिकांश अति डेल्टा प्रभावित आठ काउन्सिल क्षेत्रमा बसोबास गर्नेहरू रहेका पनि उनको भनाई छ।
कार्यस्थल तथा निजी आवास नै सङ्क्रमण फैलावटका मुख्य केन्द्रहरू भएको बताउँदै प्रिमियरले भनिन् कि मानिसहरूलाई घरबाट निस्कनै पर्ने भए सम्पर्कमा आउने सबै जना सङ्क्रमित छन् भनेर व्यवहार गर्नुहोस्।
उनले यी अति प्रभावित आठ काउन्सिलका मानिसहरूलाई यथाशीघ्र खोप लगाउन पनि आग्रह गरेकी छिन्।
ग्लाडिस बेरिजिक्लियनका अनुसार उनीहरूले खोप लगाउन अति नै जरुरी छ।“खोपको एकै मात्राले पनि तपाईँ कत्तिको कम सङ्क्रमित हुनुहुन्छ र तपाईँले सङ्क्रमणलाई कति कम फैलाउनुहुन्छ भनेर निर्धारण गर्छ,” उनले भनिन्।
“त्यसैले खोप तपाईँलाई अस्पतालबाट टाढै राख्न र आफ्ना प्रियजनलाई बचाउन मात्र होइन, तपाईँले अरूलाई रोग सार्ने मौका समेत यसले घटाउँछ; प्रकोपको बिचमा हामीले यसलाई बिचार गर्नै पर्ने हुन्छ।”
आफ्नो सरकारको लक्ष्य लकडाउन अगस्ट २९ तारिखमा अन्त्य गर्ने रहेता पनि सङ्क्रमण सङ्ख्याले त्यसको निर्धारण गरिने उनको भनाई छ।
“हामी मध्ये जति धेरैले खोप लगाउँछौँ, अगस्ट २९ उप्रान्त स्वतन्त्रतापूर्वक बाच्न हामी त्यति नै समर्थ हुनेछौँ,” प्रिमियरले भनिन्।
यसका साथै उनले न्यु साउथ वेल्स सरकार खोप लगाउन मानिसहरूलाई प्रोत्साहन हुने गरी थप कार्यक्रम ल्याउन काम गरिरहेको पनि बताएकी छिन्।
उनले भनिन् कि राज्य सरकार अगस्ट मसान्तसम्म ६० लाख खोपका मात्राहरू प्रयोग भएको हेर्न चाहन्छ।
पछिल्लो सार्वजनिक आँकडा अनुसार न्यु साउथ वेल्समा हालसम्म ३९ लाख डोज खोप मानिसहरूलाई लगाइसकिएको छ।
न्यु साउथ वेल्सको खोप कार्यक्रम बारे जानकारीका लागि यहाँ जानुहोस्।

मङ्गलवारको पत्रकार सम्मेलनकै क्रममा राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले हाल न्यु साउथ वेल्सभर कुल ५३ जना कोरोनाभाइरस पीडितहरू सघन उपचार कक्षमा भर्ती रहेको बताएकी छिन्।
उनका अनुसार यसरी उपचार भइरहेका मानिसहरू २० वर्ष उमेरदेखि ७० वर्ष माथिसम्मका छन् जसमा पाँच जना त २० देखि ३० वर्ष उमेर समूहका हुन्।
डा चान्टका अनुसार ती ५३ मध्ये ४३ जना बिरामीहरूले कोभिड-१९ विरुद्ध खोप लगाइसकेका थिएनन्।
उनले केही ९० वर्ष माथिका मानिसहरूले अझै पनि खोप नलगाएको बताउँदै यसलाई अत्यन्त दुखद भनेर वर्णन गरेकी छिन्।
केरी चान्टले आपूर्तिमा समस्या नभएको भए आफ्नो ध्यान राज्यका १८ देखि ३९ वर्ष उमेर समूहका मानिसहरूलाई खोप लगाउनमा जाने थियो पनि भनेकी छिन्।
कार्यस्थलहरूमा रोग फैलाउनेमा प्रमुख यही उमेर समूहका मानिसहरू रहेको तथ्य औँल्याउँदै उनले उक्त कुरा बताएकी हुन्।
क्विन्सल्यान्ड
क्विन्सल्यान्डका डेपुटी प्रिमियर स्टिभन माइल्सले मङ्गलवार बिहान ब्रिसबेनमा आयोजित कोभिड-१९ अपडेट सम्बन्धी एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राज्यमा गएको २४ घण्टामा थप १६ जनामा सामुदायिक सङ्क्रमण पुष्टि गरेका छन्।
आज पुष्टि गरिएका थप १६ मामिलाका साथ क्विन्सल्यान्डको पछिल्लो डेल्टा प्रकोपबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ४७ पुगेको छ।
हिजो ३४ हजार ७१८ जना कोरोनाभाइरस परीक्षणका लागि अगाडी आएको भन्दै उनले प्रसन्नता पनि व्यक्त गरे।
“यो उत्कृष्ट नतिजा हो,” माइल्सले भने।
तर राज्यकी प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर ज्यानेट यङले भने कोरोनाभाइरस परीक्षण सङ्ख्याको लक्ष्य ४०,००० तोकेकी छिन्।
उनी भन्छिन् कि परीक्षण गराउनुहोस्।
“कुनै लक्षण छ भने टेस्ट गराउनुहोस्,” प्रोफेसर यङले विशेष गरी राज्यका ११ काउन्सिल क्षेत्रमा बस्ने मानिसहरुलाई भनिन्।
"भाइरसलाई नफैलाउनुहोस्।"
क्विन्सल्यान्डका कोभिड-१९ परिक्षण केन्द्रहरूबारे आधिकारिक जानकारी यहाँ छ।
क्विन्सल्यान्डकी स्वास्थ्य मन्त्री युभेट डी'आथका अनुसार सङ्घीय सरकारले एस्ट्राजेनेका खोपका थप डेढ लाख मात्राहरू तत्काल उपलब्ध गराउने घोषणाको स्वागत गरेकी छिन्।
उनी भन्छिन् कि उक्त प्रस्ताव निकै स्वागत योग्य छ र क्विन्सल्यान्ड तीसँगै थप खोपहरूका लागि पनि तयार छ।

हिजो सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले उक्त घोषणा गरेका थिए।
अस्ट्रेलियाका अन्य राज्य तथा प्रदेशहरू
भिक्टोरियामा थप चार सामुदायिक सङ्क्रमणका मामिला पुष्टि स्थानिय अधिकारीहरूले गरेका छन् भनेसङ्घीय सरकारद्वारा कोरोनाभाइरस प्रतिबन्धहरुका कारण आठ घण्टाभन्दा बढि समयको रोजगारी गुमाएका मानिसहरुलाई थप कोभिड-१९ सहायता भुक्तानी दिने घोषणा गरेको छ। यसका लागि आवेदन आजबाटै दिन मिल्ने बताइएको छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानीक्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्विन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्विन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
