मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्समा थप दुई नयाँ कोभिड-१९ सम्बन्धी भुक्तानी,
- मेलबर्नको लकडाउन थप दुई साताका लागि लम्बियो,
- नर्दर्न टेरिटरीका केही क्षेत्र लकडाउनमा र
- अस्ट्रेलियन क्यापिटल टेरिटरीमा थप १९ सामुदायिक सङ्क्रमणका मामिला र क्वीन्सल्यान्डमा शून्य सामुदायिक सङ्क्रमण
न्यु साउथ वेल्स
आइतबार बेलुका आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्सले कोरोनाभाइरसका कारण सात सङ्क्रमितको मृत्यु तथा सामुदायिक सङ्क्रमणका ४७८ मामिलाहरू दर्ता गरेको छ।
आज घोषणा भएका मामिलाहरू मध्ये ३३७ सङ्क्रमितका स्रोत बारे अधिकारीहरूले छानबिन गरिरहेको बताइएको छ भने २९० जना आइसोलेसनमा रहे-नरहेको बारेमा पनि सोधपुछ जारी छ।
थप एक जनाको मृत्यु भने गणना अवधि पश्चात् भएको राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताएकी छिन्।
हाललाई यो सुविधा अति कोरोना प्रभावित काउन्सिल क्षेत्रमा बस्ने र कोभिड-१९ को लक्षण भएका मानिसहरूका लागि उपलब्ध हुने बताइएको छ।
यसै गरी अस्थायी भिसामा रहेका र अन्य आय सहायता नपाउने मानिसहरूले रेड क्रसको माध्यमबाट ४०० डलरको नयाँ “हार्डसिप” भुक्तानी प्राप्त गर्न सक्नेछन्।
उनले राज्यको पश्चिममा पर्ने डबो र वल्गेटमा देखा परेको पछिल्लो स्थिति बारे पनि गहिरो चिन्ता व्यक्त गरेकी छिन्।
तर उनले सिड्नीका केही सबर्बहरुमा कोभिड-१९ सङ्क्रमण लगातार रूपमा बढ्दै गएकोमा पनि सबै जना गम्भीर हुनुपर्ने बताउँदै ती स्थानका बासिन्दाहरूलाई घर बाहिर नजान आग्रह गरेकी छिन्।
प्रिमियरले चासो दिएकी सबर्बहरू:
- मेरील्यान्ड्स
- गीलफर्ड
- ग्रानभील
- ब्ल्याकटाउन
- माउन्ट ड्रुइट
- यगूना
- ग्रीनएकर र
- ब्याक्ङ्क्सटाउन।
उनी भन्छिन् कि हाल देखा परिरहेको सामुदायिक सङ्क्रमणका घटनाहरू विचलित तुल्याउने प्रवृत्तिका छन्।
“हामी सबैले यी आँकडाहरू तल झरेको हेर्न कति कडा परिश्रम गरेका छौँ भनेर म यो भन्दा बढी जोड दिन सक्दिन,” उनले भनिन्।
“एकदमै जरुरी नभएसम्म हामी सबै घरमा नै बसौँ।”
हिजो आठ बजे उप्रान्त मृत्यु भएका व्यक्ति एक १५ वर्षे किशोर रहेको राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले सार्वजनिक गरेकी छिन्।
ती किशोर न्युमोकोक्कल मेनिन्जाइटिसबाट ग्रसित रहेता पनि उनी कोभिड-१९ सङ्क्रमित समेत भएको डा चान्टको भनाई छ।
कोरोनाभाइरसका कारण मृत्यु हुने अन्य मानिसहरूमा ४० वर्ष माथिका एक पुरुष, ७० वर्ष कटेकी एक महिला र एक पुरुषका साथै ८० वर्ष माथिका दुई वृद्ध र एक वृद्धा रहेको पनि बताइएको छ।
ग्लाडिस बेरिजिक्लियनका अनुसार नयाँ देखिएका सङ्क्रमणहरू प्रमुख रूपमा ४० वर्ष मुनिका व्यक्तिहरूलाई प्रभावित गरेको छ।
उनी भन्छिन् कि ७० प्रतिशत नयाँ सङ्क्रमण ४० वर्षभन्दा मुनिका मानिसहरूमा देखिएको छ।
“त्यसैले हामीले खोप कार्यक्रम १६ देखि ३९ वर्षकाहरूमाथि केन्द्रित गरेका छौँ,” उनले भनिन्।
“औँलामा गन्न सकिने मानिसहरूले गलत काम गरे पनि सङ्क्रमणका नयाँ लहर सुरु हुन बेर लाग्दैन।”
भिक्टोरिया
बितेका २४ घण्टामा भिक्टोरियाले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप २२ घटनाहरू दर्ता गरेको छ।
यी मध्ये पाँच मामिलाहरू हाल जारी कुनै प्रकोपसँग नजोडिएको स्थानीय अधिकारीहरूको भनाई छ भने आठ सङ्क्रमितहरू समुदायमा सक्रिय रहेको पनि बताइएको छ।
हाल राज्यमा सक्रिय रहेका २०५ केस मध्ये छ जना अस्पतालमा रहेको पनि अधिकारीहरूले बताएका छन्।
र, ती सबै ४० वा सो भन्दा कम उमेरका रहको पनि उनीहरूको भनाई छ।
आज आयोजित कोभिड-१९ अपडेटका क्रममा राज्यका प्रिमियर ड्यानिएल एन्ड्रुजले मेलबर्नमा हाल लागू रहेको लकडाउनको समयावधि थप दुई हप्ताका लागि थप गरिएको घोषणा गर्नुका साथै राती ९ बजेदेखि शहरमा कर्फ्यु लाग्ने पनि बताएका छन्।
कर्फ्यु राती ९ बजेदेखि बिहान ५ बजेसम्म लाग्ने पनि उनको भनाई छ।
यसैगरी, अत्यावश्यक कर्मचारी तथा घरमा नै बसेर अध्ययन गर्न नसक्ने विद्यार्थीहरू कार्यस्थल तथा विश्वविद्यालय जान स्विकृति पत्र बोक्नुपर्ने पनि उनले बताएका छन्।
बालबालिका खेल्ने स्थान, बास्केटबल कोर्ट तथा अन्य मनोरञ्जनका साधन उपलब्ध सार्वजनिक स्थल पनि बन्द हुनेछन्।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
प्रिमियर भन्छन् कि सप्ताहान्तमा आयोजित एक गैर-कानूनी रूपमा आयोजित स्वयंवर समारोहमा ६९ जना उपस्थित थिए र त्यहाँबाट सङ्क्रमण फैलिएको छ।
“कुरा यत्ति हो कि अब त्यो सङ्क्रमणले कति जनालाई आफ्नो चपेटामा लिन्छ भन्ने,” उनले भने।
सेन्ट किल्डा नामक सबर्बमा आयोजना भएको उक्त पार्टीमा गएका झन्डै ७० मध्ये तीनजनामा कोभिड-१९ सङ्क्रमण पुष्टि गरिसकिएको छ।
क्वीन्सल्यान्ड
क्वीन्सल्यान्डले बितेका २४ घण्टामा कोभिड-१९ सम्बन्धी कुनै पनि सामुदायिक सङ्क्रमण दर्ता गरेको छैन।
राज्यकी प्रमुख स्वास्थ्य अधिकारी ज्यानेट यङका अनुसार राज्यमा बितेका १० दिन यता थप स्थानीय सङ्क्रमण भेटिएको छैन।
यसका साथै उनले क्वीन्सल्यान्डवासीहरूलाई मास्क लगाइराख्न पनि आग्रह गरेकी छिन्।
उनी भन्छिन् कि दक्षिणी छिमेकी राज्य न्यु साउथ वेल्सका रिजनल भूभागमा डेल्टा प्रकोप फैलँदै गएबाट आफू निक्कै चिन्तित बनेकी छिन्।
“हामीलाई थाहा छ कि यो सङ्क्रमणको लहर बिस्तारै हाम्रो सीमासम्म आइपुग्ने छ,” उनले भनिन्।
“त्यसैले न्यु साउथ वेल्स गइराख्ने र सीमावर्ती इलाकाहरूमा बस्ने मानिसहरूले अत्यावश्यक भएमा मात्र उता जानु महत्त्वपूर्ण छ।”
यसै गरी ती सीमा साटिएका स्थानहरूमा बस्ने समुदायहरूलाई खोप लगाइदिएर कोभिड-१९ बाट थप सुरक्षा प्रत्याभूत गरिनुपर्ने उनको भनाई छ।
ती इलाकाहरूमा बसोबास गर्ने अत्यावश्यक काम गर्ने मानिसहरूलाई आउँदो शुक्रवार खोपको कम्तीमा पनि एक मात्रा लगाइदिने कार्यक्रम छ।
राज्यका डेपुटी प्रिमियर स्टिभन माइल्सले १,००० मानिसहरू अटाउने क्वारेन्टिन केन्द्रै निर्माण गर्न सङ्घीय सरकारसँग एक ज्ञापन पत्रमा सही गरेको बताएका छन्।
ब्रिसबेन विमानस्थल नजिकै पर्ने पिन्केन्बामा सो सुविधा निर्माण हुने पनि उनको भनाई छ।
“यस्तो सुविधाको आवश्यकता अहिलेभन्दा पहिले कहिल्यै पनि महत्त्वपूर्ण थिएन।”
सङ्घीय सरकारले उक्त केन्द्रको निर्माण गर्नेछ भने क्वीन्सल्यान्ड राज्य सरकारले त्यसको व्यवस्थापन तथा सञ्चालन गर्नेछ।
- क्वीन्सल्यान्डका कोभिड-१९ परिक्षण केन्द्रहरूबारे आधिकारिक जानकारी यहाँ छ।
- क्वीन्सल्यान्डका खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
नर्दर्न टेरिटरी
मुख्यमन्त्री माइकल गनरले बृहत् डार्विन तथा क्याथरिन क्षेत्रमा लागू हुने गरी ७२ घण्टाका लागि लकडाउनको घोषणा गरेका छन्।
स्थानीय समयानुसार मध्यान्न १२ बजेदेखि लागू भएको उक्त लकडाउन समुदायमा कोभिड-१९ सङ्क्रमित व्यक्ति फेला परेपछि लागू गर्ने निर्णय भएको हो।
डार्विनमा बोल्दै मुख्यमन्त्री गनरले अहिलेलाई बिहीवार मध्यान्नसम्मका लागि भन्दै उक्त प्रतिबन्धात्मक आदेशको घोषणा आज बिहान गरेका थिए।

उनले सङ्क्रमित मानिस बारे जानकारी दिँदै भने कि कानूनसम्मत रोजगारीका लागि ती व्यक्ति विदेशबाट सिड्नी र क्यानबेरा हुँदै नर्दर्न टेरिटरी आइपुगेका हुन्।
"भर्खरै विदेशबाट आएका हुनाले उनी सिड्नीको क्वारेन्टिनमा १४ दिन बसेका थिए," गनरले भने।
"अगस्ट १० तारिखमा परीक्षण गर्दा नेगेटिभ देखिएपछि उनी अगस्ट १२ तारिखमा होटेल क्वारेन्टिनबाट निस्केका थिए।"
त्यसपछि क्यानबेरा हुँदै उनी डार्विन गत बिहीवार अबेर आइपुगेको बताइएको छ।
गनर भन्छन् कि ती व्यक्ति डार्विन सिबीडीका अनेकौँ स्थानहरू पुगेका थिए।
हिजो एक भाडाको सवारीबाट क्याथरिन स्थित नट्स रिसोर्टमा काम गर्न पुगेपछि उनी कोरोना सङ्क्रमित भएको पत्ता लागेको बताइएको छ।
उनी अब हावर्ड स्प्रिङ्ग्स स्थित क्वारेन्टिन केन्द्रमा स्थानान्तरण हुनेछन्।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
एसीटीले आज थप १९ सामुदायिक सङ्क्रमण फेला परेको घोषणा गरेको छ।
योसँगै क्यानबेरामा सक्रिय मामिलाहरूको कुल सङ्ख्या बिहीवार लकडाउन घोषणा भएयता २८ पुगेको छ।
क्यानबेरामा पत्रकारहरू माझ बोल्दै मुख्यमन्त्री एन्ड्रु बार्रले अब एसीटीको लकडाउन कम्तीमा पनि थप दुई हप्ताका लागि बढाइएको घोषणा गरेका छन्।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
