Explainer

कोभिड-१९ अपडेट: प्रतिबन्धहरू खुकुलो हुँदै जाँदा नियमहरुको बेवास्ता नगर्न राज्यवासीलाई न्यु साउथ वेल्स सरकारको आग्रह

यो सोमवार, १३ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Police patrol Bondi beach, in Sydney, Saturday, September 11, 2021.

Police patrol Bondi beach, in Sydney, Saturday, September 11, 2021. Source: AAP Image/Dan Himbrechts

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा १२ वर्ष माथिका बालबालिकाहरूले जीपी क्लिनिकहरूमा खोप लगाउन पाउने,
  • कोभिड-१९ का कारण भिक्टोरियाली रेल सेवा अवरुद्ध हुने क्रम जारी, र
  • एसीटी र क्वीन्सल्यान्डमा पनि १२ वर्ष माथिका बालबालिकाहरूका निम्ति खोप उपलब्ध हुने। 

न्यु साउथ वेल्स

आइतबार बेलुका आठ बजेसम्मको अवधिमा न्यु साउथ वेल्समा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १,२५७ मामिलाहरू पुष्टि भएका छन्।

आज बिहान सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा प्रिमियर ग्लाडिस बेरिजिक्लियनले पछिल्लो सङ्क्रमण सङ्ख्या सार्वजनिक गरेकी हुन्।
राज्यको खोप दर केही सुस्त हुँदै गएको भन्दै उनले राज्यवासीलाई खोप लगाउन आग्रह गरिन्।

उनी भन्छिन् कि पश्चिम तथा दक्षिण-पश्चिमी सिड्नी अझै ठुलो चिन्ताका स्थानहरू हुन्।

“तर भित्री सहरका ग्लेब र रेडफर्नमा पनि सङ्क्रमणमा बढोत्तरी हुन थालेको छ,” उनले भनिन्।
बृहत् सिड्नी र रिजनल न्यु साउथ वेल्सभर सङ्क्रमण स्थिर हुँदै गएता पनि हन्टर, सेन्ट्रल कोस्ट र वलङगङ जस्ता ठाउँहरूमा भने कोरोनाभाइरस व्याप्त हुन थालेको प्रिमियर बेरिजिक्लियनको भनाई छ।

ग्रिनएकर, अबर्न, यागूना, लिभरपूल।, पन्चबावल, गीलफर्ड, कन्डेल पार्क र बस्बी लगायतका सबर्बमा हाल उच्च सङ्क्रमण देखिएको छ।

राज्य स्वास्थ्य विभागका एक अधिकारी डा जेरेमी मक्अनल्टीका अनुसार हाल न्यु साउथ वेल्सका अस्पतालहरूमा १,१८९ मानिसहरू कोभिड-१९ सम्बन्धी जटिलताहरूका कारण भर्ती गरिएका छन्।

ती मध्ये २२२ जनाको उपचार सघन कक्षमा भइरहेको पनि उनको भनाई छ।

मक्अनल्टी भन्छन् कि ९४ जनालाई भेन्टिलेटरमा राखिएको छ।

आजैदेखि राज्यभरका १२ देखि १५ वर्ष उमेरका बालबालिकाहरू जीपी क्लिनिकहरूबाट फाइजर खोप लगाउन पाउने भएका छन् भने मोडर्नाद्वारा उत्पादित खोप भने फार्मेसीहरूबाट अर्को सातादेखि उपलब्ध हुनेछन्।

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टे अवधिमा भिक्टोरियाले कोरोनाभाइरस स्थानीय सङ्क्रमणका थप ४७३ मामिलाहरू दर्ता गरेको छ।

सङ्क्रमण मामिलाहरू बारे बोल्दै भिक्टोरियाली स्वास्थ्य मन्त्री मार्टिन फोली भन्छन् कि ८९ प्रतिशत सङ्क्रमितहरू ५० वर्षभन्दा कम उमेरका हुन्।
यसै गरी राज्यका अस्पतालहरूमा कोभिड-१९ सङ्क्रमणका कारण भर्ना गरिएका १५७ जना मध्ये दुवै मात्रा खोप लगाउने कोही पनि नरहेको उनको भनाई छ।

“त्यसैले सन्देश स्पष्टै छ - खोपले तपाईँलाई अस्पतालबाट टाढै राख्छ,” उनले भने।

फोलीका अनुसार हाल भिक्टोरियाली अस्पतालहरूमा ३८ जना कोरोना सङ्क्रमित बिरामीहरूको उपचार आइसियुमा भइरहेको छ भने ती मध्ये २६ जनालाई भेन्टिलेटरको आवश्यकता परेको छ।

आइतबार मात्रै राज्य सरकारद्वारा सञ्चालित खोप केन्द्रहरूमा ३०,०३२ जनाले खोप लगाएको भन्दै भिक्टोरियाली स्वास्थ्य मन्त्रीले राज्यभर पहिलो मात्रा खोप लगाउने योग्य मानिसहरूको सङ्ख्या ६६.९ प्रतिशत पुगेको बताएका छन्।

“खोपको दुवै मात्रा लगाउनेको सङ्ख्या ४१ प्रतिशत पुगेको छ,” उनले भने। 

सत्तरी प्रतिशत योग्य मानिसहरूले कोभिड-१९ खोपको पहिलो मात्रा लगाएपछि हाल जारी प्रतिबन्धहरू हल्का रूपमा खुकुलो पारिने राज्य सरकारले बताउँदै आएको छ।

उता, गए राती थप चार बाल स्याहार केन्द्रहरू सङ्क्रमण स्थलका सूचिमा “टियर १”  अन्तर्गत परेका छन् भने पाँच भी-लाइन रेल चालकहरू सङ्क्रमित बने पछि राज्यको रेल सेवा प्रभावित बन्न पुगेको अधिकारीहरूले बताएका छन्।
अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर
आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।
अत्यावश्यक भनेर वर्गीकृत भएका काममा जान, कोभिड-१९ को खोप लगाउन, कोरोनाभाइरस परीक्षण र जरुरी किनमेल लगायत आफन्तजनको हेरचाह गर्न जानुहुन्छ भने चाहिँ तपाईँलाई पाँच किलोमिटरको नियम लागू हुँदैन। भिक्टोरियाली सरकारका अनुसार यस प्रकारको यात्रा प्रतिबन्ध आगामी सेप्टेम्बर २ तारिख रातीको ११:५९ बजेसम्म कायम रहनेछ।

*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे। 

[link title="अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर" url="node/1827625"]
SBS News graphic
Source: SBS News

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

क्यानबेरामा थप १३ नयाँ स्थानीय सङ्क्रमणका घटनाहरू पुष्टि गरिएका छन्।

मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार ती मध्ये १० जना समुदायमा सक्रिय रहेका थिए।

उनी भन्छन् कि सात सङ्क्रमितका स्रोत पहिचान भइसकेको छ भने बाँकीका छ जना बारे छानबिन जारी छ।
हाल एसीटीका अस्पतालमा नौ जना कोरोनाभाइरसका कारण भर्ती छन् जसमा तीन जनाको उपचार आइसियुमा भइरहेको मुख्यमन्त्रीको भनाई छ।

उनका अनुसार एक बिरामीलाई भने भेन्टिलेटरमा राख्नुपरेको छ। 

राज्य सरकारद्वारा सञ्चालित खोप क्लिनिकहरूमा १२ देखि १५ वर्षसम्मका बालबालिकाहरूले आगामी २० सेप्टेम्बरदेखि फाइजर खोपका लागि नाम दर्ता गर्न सक्ने पनि अधिकारीहरूले बताएका छन्।

क्वीन्सल्यान्ड

बितेका २४ घण्टामा क्वीन्सल्यान्डले थप दुई नयाँ स्थानीय सङ्क्रमणका घटनाहरू दर्ता गरेको छ।

प्रिमियर अनास्टेसिया पलाशेका अनुसार यी दुवै सङ्क्रमितहरु शुक्रवार बताइएको सङ्क्रमण स्थल - दक्षिण ब्रिसबेन स्थित सनीब्याङ्कमा रहेको विद्यालयसँग सम्बन्धित हुन्।

उनी भन्छिन् कि दुवै सङ्क्रमितहरू आइसोलेसनमा बसिरहेका हुनाले समुदाय सुरक्षित छ।

तर उनले राज्यमा अर्को प्रकोप सुरु हुनु अगावै मानिसहरूलाई खोप लगाउन आग्रह गरेकी छिन्।
सङ्घीय सरकारबाट उपलब्ध थप खोपहरूका कारण नयाँ र ठुला सार्वजनिक खोप केन्द्रहरू खोल्न आफ्नो सरकार सक्षम रहेको पनि पलाशेको भनाई छ।

आजदेखि क्वीन्सल्यान्डमा १२ देखि १५ वर्ष उमेर समूहका बालबलिकाहरूलाई खोप लगाउन नाम दर्ता गर्न सकिने राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा ज्यानेट यङले बताएकी छिन्।

उनले आफूहरू न्यु साउथ वेल्सबाट कोभिड-१९ सङ्क्रमित ट्रक चालकहरू क्वीन्सल्यान्ड प्रवेश हुने कार्य जारी नै रहँदा  चिन्तित रहेको पनि उल्लेख गरेकी छिन्।

कोभिड-१९ सम्बन्धि अन्य समाचार

खोप बारे अस्ट्रेलियाली सल्लाह समूह अटागीले १२ वर्ष माथिका सबैका लागि मोडर्ना खोपलाई पनि सिफारिस गरेको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 

 


Share

Published

Updated

By SBS/ALC Content
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand