मुख्य बुँदाहरु:
- न्यु साउथ वेल्समा महामारी सुरु भए यता कै अधिक स्थानीय सङ्क्रमण,
- भिक्टोरियामा एक सङ्क्रमितको बारेमा छानबिन जारी नै,
- साउथ अस्ट्रेलियामा थप दुईमा सामुदायिक सङ्क्रमण र
- क्विन्सल्यान्डका केही क्षेत्रहरूमा मास्क अर्को एक साताका लागि अनिवार्य।
न्यु साउथ वेल्स
प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आज बिहान सिड्नीमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा बुधवार साँझ आठ बजेसम्मको गणना अवधिभर राज्यमा थप २३९ जना मानिसमा कोरोनाभाइरसको सामुदायिक सङ्क्रमण पुष्टि गरेकी छिन्।
प्रिमियर बेरिजिक्लियनले बितेका २४ घण्टामा राज्यभर ११०,९६२ जना कोभिड-१९ परीक्षणका लागि अगाडी आएकोमा प्रसन्नता व्यक्त गर्दै त्यसरी परीक्षण गर्न आएका न्यु साउथ वेल्स बासिन्दाहरूलाई धन्यवाद दिएकी छिन्।
तर, डेल्टा भेरिएन्टद्वारा अति प्रभावित मानिएका आठ काउन्सिल क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि भने प्रतिबन्धहरूमा थप कडाइ गरिएको पनि उनले बताएकी छिन्।
आठ काउन्सिलहरू:
- कम्बरल्यान्ड,
- क्याम्बेलटाउन,
- क्यान्टबरी-ब्याङ्क्सटाउन,
- प्यारामाटा,
- फेयरफिल्ड,
- ब्ल्याकटाउन,
- जोर्जेस रिभर र
- लिभरपूल
माथि उल्लेखित काउन्सिल क्षेत्रमा बसोबास गर्ने मानिसहरूले अब आफ्नो घरभन्दा जम्मा पाँच किलोमिटर परसम्म मात्र जान पाउने छन्।
ग्लाडिस बेरिजिक्लियन भन्छिन् कि चासो भएका काउन्सिल क्षेत्रमा बस्ने मानिसहरूले भोलि मध्यरातदेखि आफ्नो आवासबाट पाँच किलोमिटर परिधि भित्र मात्र हिँडडुल गर्न सक्नेछन्।
“तपाईँ (घरबाट) निस्कने जे कारण भए पनि (पाँच किलोमिटर) भन्दा पर जान पाउनुहुन्न,” उनले भनिन्।
केही असाधारण परिस्थितमा भने उक्त सीमा लागू नहुने पनि प्रिमियरको भनाई छ।
साथै, उनले घरबाट निस्कँदा ती काउन्सिल क्षेत्रमा बस्ने मानिसहरूले अनिवार्य रूपमा मास्क लगाउनै पर्नेमा पनि जोड दिएकी छिन्।
“घरबाट निस्किनु हुन्छ भने तपाईँले मास्क लगाएकै हुनुपर्छ,” उनले चेतावनी दिँदै भनिन्।
मास्क लगाउनु पर्ने कतिपय अवस्थामा पनि मानिसहरूले बिना मास्क हिँडडुल गर्दा धेरै जनामा सङ्क्रमण भेटिएको बताउँदै उनले ती विशेष चासो दिइएका स्थानीय सरकार क्षेत्रका बासिन्दाहरूलाई सतर्क गरेकी छिन्।
साथै, उचित कारण बिना मास्क नलगाई हिँडेको पाइएमा हुने जरिमानाको दर पनि २०० डलरबाट बढाएर ५०० डलर पुर्याइएको छ।
आफ्नो सरकारले राज्य प्रहरीलाई थप अधिकारहरू प्रत्यायोजन गरेको पनि प्रिमियर ग्लाडिस बेरिजिक्लियनको भनाई छ।
उनका अनुसार सार्वजनिक स्वास्थ्य सम्बन्धी आदेशहरूको उल्लङ्घन गर्ने कार्य जारी राखे मानिसहरू जमघट हुने सार्वजनिक स्थल, कार्यस्थल, व्यापार-व्यवसायहरू बन्द गर्ने अधिकार भोलिदेखि न्यु साउथ वेल्स प्रहरीसँग हुनेछ।
उता, न्यु साउथ वेल्स प्रहरी कमिस्नर मिक फुलरले भोलिदेखि हजारौँका सङ्ख्यामा थप प्रहरीहरू ती आठ अति कोरोना प्रभावित काउन्सिलहरूका अलावा बृहत् सिड्नीमा परिचालन हुने बताएका छन्।
“हामी सबै जना लकडाउनबाट छिट्टै बाहिर आउन लालायित छौँ,” उनले भने।
“नयाँ अधिकारहरू र थप सङ्ख्यामा परिचालित हुने प्रहरीहरू - यी दुवै लकडाउनबाट हामीलाई यथाशिघ्र बाहिर निक्लने बारे हुन्। ”
राज्यका प्रहरी मन्त्री डेभिड एलियटले सरकारको प्रहरीलाई दिइएको थप अधिकारहरूको बचाउ गर्दै भने कि न्यु साउथ वेल्स सरकार र प्रहरी दुवै यस्तो अवस्था नआओस् भन्नेमा थिए।
यसका साथै उनले गत सप्ताहान्तमा केन्द्रीय सिड्नी सहरमा भएको विरोध प्रदर्शन बारे प्रहरीलाई १५,००० फोनकलहरु आएका छन्।
राज्यकी प्रमुख स्वास्थ्य अधिकारीले भने बुधवार थप दुईजनाको कोरोनाभाइरसका कारण मृत्यु भएको बताएकी छिन्।
उनका अनुसार लिभरपूल अस्पतालमा एक ९० वर्षभन्दा उच्च उमेर भएकी एक वृद्धा र रोयल नर्थ सोर अस्पतालमा अर्का एक ८० वर्ष कटेका वृद्धले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्।
भिक्टोरिया
भिक्टोरियामा थप छ जनामा सामुदायिक सङ्क्रमण पुष्टि भएको छ।
राज्यका स्वास्थ्य मन्त्री मार्टिन फोलीका अनुसार हाल भिक्टोरियाभर कोरोनाभाइरसका २०५ सक्रिय मामिलाहरू छन्।
ती मध्ये सात जना अस्पतालमा भर्ती रहेको पनि उनको भनाई छ।
सात बिरामीमा दुईलाई सघन उपचार कक्षमा राखिएको र ती मध्ये एकलाई भेन्टिलेटरको आवश्यकता परेको पनि उनले बताएका छन्।
आज घोषणा गरिएका सङ्क्रमितहरू मध्ये चार जना उनीहरू अनिवार्य क्वारेन्टिनमा बसेको १३औँ दिनमा गरिएको कोभिड-१९ परीक्षणका क्रममा पोजेटिभ पुष्टि भएको पनि मन्त्री फोलीले मेलबर्नमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने।
“यसले हामीलाई क्वारेन्टिनबाट निस्कनु अगाडी परीक्षण गर्नु कत्तिको जरुरी छ भनेर देखाएको छ,” उनले भने।
यसै गरी भिक्टोरियाकी परीक्षण उप-कमान्डर नेओमी ब्रोम्लीले मूनी भ्याली रेसकोर्स स्थित परीक्षण केन्द्रमा कार्यरत एक ट्राफिक कन्ट्रोलरका निकट सम्पर्कमा आएका अन्य व्यक्तिहरूको कोरोना जाँच हाल चलिरहेको बताएकी छिन्।
उक्त परीक्षण केन्द्र केही दिनका लागि बन्द हुने बताउँदै उनले कोभिड-१९ परीक्षण गराउन खोज्ने स्थानीय बासिन्दाहरूले नजिकैको सोग्राउन्ड्स जान सल्लाह दिएकी छिन्।
अस्ट्रेलियाका अन्य राज्य तथा प्रदेश
साउथ अस्ट्रेलियाले दुई थप सामुदायिक सङ्क्रमणका मामिला दर्ता गरेको छ। स्थानीय अधिकारीहरुका अनुसार ती दुवै सङ्क्रमितहरू क्वारेन्टिमा छन्।
दक्षिण-पूर्वी क्विन्सल्यान्डका ११ काउन्सिल क्षेत्रमा बस्ने मानिसहरूलाई थप एक हप्ता मास्क लगाउन अधिकारीहरूले आदेश जारी गरेका छन्।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्विन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्विन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्विन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
यी पनि हेर्नुहोस्:

अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा