मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्समा डेल्टा भेरिएन्टबाट प्रभावित हुनेमा कम उमेरका मानिसहरू ज्यादा,
- आगामी पाँच हप्ताभित्र भिक्टोरियाली सरकारको १० लाख खोप डोज लगाउने योजना,
- अस्ट्रेलियन क्यापिटल टेरिटरीमा थप दुई जनामा कोभिड-१९ सङ्क्रमण र
- क्यानबेराबाट क्वीन्सल्यान्ड आउने मानिसहरू सबैले क्वारेन्टिनमा बस्नुपर्ने।
न्यु साउथ वेल्स
बिहीवार बेलुका आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्सले ३९० कोभिड-१९ सामुदायिक सङ्क्रमणका घटनाहरू दर्ता गरेको प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताएकी छिन्।
सोही अवधिमा करिब १२८,००० मानिसहरूको कोरोनाभाइरसका लागि परीक्षण गरिएको पनि उनको भनाई छ।
आफ्नो दैनिक कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा उनले उक्त तथ्याङ्क आज बिहान सिड्नीमा सार्वजनिक गरेकी हुन्।
उनी भन्छिन् कि कम्तीमा पनि आउँदा केही दिनहरूसम्म सङ्क्रमितहरू सङ्ख्यामा बढोत्तरी हुने क्रम रोकिने छैन।
राज्यको डब्बो तथा वल्गेटमा फेला परेका सङ्क्रमितहरू प्राय: गरेर आदिवासी र बालबालिका रहेको पनि अधिकारीहरूको भनाई छ।

न्यु साउथ वेल्स हेल्थकी डा मेरीयान गेल भन्छिन् कि पछिल्लो दुई हप्तायता सङ्क्रमित हुनेमा २० देखि २९ वर्ष उमेर समूहका मानिसहरू अधिक छन्।
उनले सबैलाई खोप लगाउन पनि आग्रह गरेकी छिन्।
कोभिड-१९ सङ्क्रमणकै कारण राज्यले थप दुई मृत्युका घटनाहरू पनि दर्ता गरेको छ।
यसरी कोरोनाभाइरसका कारण ज्यान गुमाउनेमा ४० वर्ष कटेकी एक महिला रहेको बताइएको छ।
प्रिमियरका अनुसार ती महिलाले खोप लगाएकी थिइनन् र उनको मृत्यु निजी आवासमा भएको हो।
ज्यान गुमाउने अर्का मानिस भने ९० वर्षभन्दा बढी उमेरका वृद्ध रहेको र उनी हन्टर न्यु इङ्गल्यान्ड क्षेत्रका बासिन्दा रहेको पनि उनको भनाई छ।
प्रिमियर बेरिजिक्लियनका अनुसार न्यु साउथ वेल्समा आगामी अक्टोबर मसान्तसम्ममा ७० प्रतिशत बासिन्दाहरूले खोप लगाइसक्ने छन्।
उनी भन्छिन् कि ८० प्रतिशत मानिसहरूले खोप लगाएपछि भने समुदायले कोभिड-१९ सँगै साँच्चिकै अर्थपूर्ण रूपमा आफ्नो जीवन जिउन सक्नेछन्।
"अहिलेको आँकडाहरूले न्यु साउथ वेल्समा खोपका दुवै मात्रहरू लगाउने मानिसहरूको सङ्ख्या अक्टोबरको अन्त्यसम्ममा ७० प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ," उनले भनिन्।
"र, नोभेम्बरको मध्यसम्ममा ८० प्रतिशतले खोपका दुवै डोजहरू लगाइसक्ने हामीले आसा लिएका छौँ।"
आज दिनको अन्त्यसम्ममा हाई स्कुल पढ्ने १५,००० छात्रछात्राहरूले कोभिड-१९ खोप लगाइसक्ने पनि उनको भनाई छ।
न्यु साउथ वेल्स सरकारले कोरोना अति प्रभावित दक्षिण-पश्चिम सिड्नीका १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई खोपका लागि प्राथमिकतामा राखेको छ।
वर्षको अन्तिम परीक्षाका लागि उनीहरू सुरक्षित रहुन् भन्ने उद्देश्यका साथ राज्य सरकारले सो कदम लिएको बताउँदै आएको छ।
भिक्टोरिया
गएका २४ घण्टायता भिक्टोरियामा कोरोनाभाइरसका थप १५ सामुदायिक सङ्क्रमणहरू दर्ता गरिएका छन्।
ती मध्ये आठ जना क्वारेन्टिमा रहेको प्रिमियर ड्यानिएल एन्ड्रुजको भनाई छ।
एन्ड्रुजका अनुसार आगामी पाँच हप्ताभित्र भिक्टोरियाली सरकारले १० लाख डोज खोप लगाइदिने योजना बनाएको छ।
सेप्टेम्बर १९ तारिखसम्मका लागि उक्त लक्ष्य तोकिएको भन्दै फाइजर तथा एस्ट्राजेनेका दुवै खोपहरू १८ वर्ष माथिका सबैका लागि अब राज्य सरकारद्वारा सञ्चालित ५० खोप केन्द्रहरूबाट उपलब्ध हुने पनि उनले बताएका छन्।
हिजो बिहीवार भिक्टोरियाली सरकारद्वारा सञ्चालित यस्ता कोभिड-१९ खोप क्लिनिकहरूमा रेकर्ड तोड २७,४२७ डोज खोप लगाइएको थियो।
"यो हाम्रो लक्ष्य हो र म विश्वस्त छु कि भिक्टोरियालीहरु यसमा भाग लिन अगाडी आउने छन्," उनले भने।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
एसीटीले कोभिड-१९ सामुदायिक सङ्क्रमणका का थप दुई नयाँ मामिलाहरू शुक्रवार सार्वजनिक गरेको छ।
प्रदेशकी प्रमुख स्वास्थ्य अधिकारी केरीन कोलम्यान भन्छिन् २४ घण्टामा सामुदायिक सङ्क्रमणका ६ घटनाहरू देखिनु निकै गम्भीर अवस्था हो।
उनले लकडाउन अन्त्य बारे निर्णय आगामी साताको सुरु तिरै हुने पनि बताएकी छिन्।

हाल हप्ता दिनका लागि भनेर हिजो बेलुका पाँच बजेदेखि लागू गरिएको लकडाउन समाप्तिका लागि सङ्क्रमण सङ्ख्याहरू बारे राम्रो समीक्षा हुनुपर्ने पनि कोलम्यानको भनाई छ।
उता, मुख्यमन्त्री एन्ड्रु बार्र भन्छन् कि अहिलेलाई सङ्क्रमित भनेर पहिचान गरिएका व्यक्तिका निकट सम्बन्धी र कोरोनाभाइरसका लक्षण भएका मानिसहरू मात्र परीक्षणका लागि अगाडी आउनुपर्छ।
बिहीवार प्रदेशभरका कोभिड-१९ परीक्षण केन्द्रहरूमा मानिसहरूको ठुलो घुइँचो देखिएको थियो।

यसै क्रममा प्रदेशकी स्वास्थ्य मन्त्री रेचल स्टेफेन-स्मिथले क्यानबेरावासीहरू समक्ष खेद प्रकट गरेकी छिन्।
शुक्रवार समेत परीक्षणका लागि लामो समय मानिसहरूले पर्खनुपरेपछि उनले यसका लागि माफी मागेकी हुन्।
"परीक्षण स्थानहरूबाट घर फर्काइएका मानिसहरू प्रति म क्षमा प्रार्थी छु," उनले भनिन्।
स्टेफेन-स्मिथले क्यानबेरा स्थित स्वास्थ्य सेवाहरू लकडाउनका बखत सीमित हुने पनि बताएकी छिन्।

बिरामी तथा कर्मचारीहरूको सुरक्षार्थ मानिसहरूलाई क्यानबेरा अस्पताल भ्रमण नगर्न पनि उनले अपिल गरेकी छिन्।
मुख्यमन्त्री बार्रले स्थानीय अधिकारीहरू प्रदेशमा एक वर्ष यता पहिलो पटक देखिएको कोरोना पोजेटिभ केसको बारेमा थप अनुसन्धान गरिरहेका बताएका छन् भने कोलम्यानले ती व्यक्ति कसरी सङ्क्रमित बन्न पुगे भन्ने बारे अहिल्यै केही पनि स्पष्ट नभइसकेको बताएकी छिन्।
क्वीन्सल्यान्ड
बितेका २४ घण्टामा क्वीन्सल्यान्डले कोरोनाभाइरसका थप सात स्थानीय सङ्क्रमण दर्ता गरेको छ।
पछिल्लो डेल्टा प्रकोपका अन्य मामिलाहरू झैँ आज घोषणा गरिएका सबै सामुदायिक सङ्क्रमणहरू पनि पश्चिमी ब्रिसबेन स्थित इन्दूरूपिल्ली क्लस्टरसँग सम्बन्धित छन्।
प्रिमियर अनास्टेसिया पलाशेका अनुसार सातै सङ्क्रमितहरू होम क्वारेन्टिनमा रहेका मानिसहरू हुन्।
बितेका दुई हप्ता यता लकडाउनमा रहेका १५,००० भन्दा बढी मानिसहरू अबका केही दिनमा आइसोलेसनबाट बाहिर आउने बताइएता पनि उनीहरू क्वारेन्टिनमा बसेको १० देखि १२ दिन भित्र कोभिड-१९ पोजेटिभ देखिए, त्यस्ता व्यक्तिहरू थप १४ दिनका लागि समुदायमा निस्कन पाउने छैनन्।
यस्तै, अगस्ट ९ तारिख पछि क्यानबेराबाट क्वीन्सल्यान्ड प्रवेश गरेका सबै जनाले १४ दिने क्वारेन्टिनमा बस्नुपर्ने पनि स्थानीय अधिकारीहरूले बताएका छन्।
सङ्घीय संसद्को चालू अधिवेशनमा भाग लिएर विश्रामका लागि आफ्नो क्षेत्र फर्किने सांसदहरूले पनि उक्त स्वास्थ्य निर्देशनको पालना गर्नुपर्ने क्वीन्सल्यान्डकी प्रमुख स्वास्थ्य अधिकारी ज्यानेट यङको भनाई छ।
आफ्नो दैनिक कोभिड-१९ पत्रकार सम्मेलनका क्रममा प्रिमियर पलाशेले न्यु साउथ वेल्स समकक्षी ग्लाडिस बेरिजिक्लियनले उक्त राज्यमा भाइरस नियन्त्रणका लागि गरिरहेको काम बारे पारदर्शी हुनुपर्ने बताएकी छिन्।
सङ्क्रमण न्यु साउथ वेल्सका रिजनल क्षेत्र तथा क्यानबेरासम्म पनि फैलिएको र यसले पुरै राष्ट्रलाई जोखिम रहेको भन्दै उनले बेरिजिक्लियनले आफ्नो अभियान बारे सबैलाई स्पष्ट पार्नुपर्ने माग गरेकी हुन्।
- क्वीन्सल्यान्डका कोभिड-१९ परिक्षण केन्द्रहरूबारे आधिकारिक जानकारी यहाँ छ।
- क्वीन्सल्यान्डका खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
