कोभिड-१९ अपडेट:न्यु साउथ वेल्सको ट्यामवर्थ लकडाउनमा जाँदै, रिजनल भिक्टोरियामा लकडाउन हट्दै

यो सोमवार, ९ अगस्ट २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Health Workers at a drive-through COVID-19 vaccine hub in Melton, Monday, August 9, 2021. Victoria has entered a seven-day lockdown to contain a growing outbreak of the Delta variant of COVID-19 in the state. (AAP Image/Luis Ascui) NO ARCHIVING

Health Workers at a drive-through COVID-19 vaccine hub in Melton, Monday, August 9, 2021. Source: AAP Image/Luis Ascui

मुख्य बुँदाहरू:

  • ट्यामवर्थ लकडाउनमा जाँदै, बाइरन बे उच्च सतर्कतामा,
  • आज मध्यरातदेखि रिजनल भिक्टोरियाको लकडाउन अन्त्य हुँदै,
  • अस्ट्रेलियाको पहिलो ड्राइभ-इन खोप केन्द्र मेलबर्न भन्दा पश्चिममा पर्ने मेल्टनमा खुल्यो र
  • टास्मेनियामा अनिवार्य क्युआर कोड चेकइन सुरु हुने घोषणा।

न्यु साउथ वेल्स

आइतबार बेलुका आठ बजेसम्मको अवधिमा न्यु साउथ वेल्सले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप २८३ मामिलाहरू दर्ता गरेको छ।

ती मध्ये एक तिहाइभन्दा धेरै मानिसहरू सङ्क्रमित अवस्थामा छँदा समुदायमा सक्रिय रहेको प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताएकी छिन्।

उनी भन्छिन् १०० भन्दा बढी सङ्क्रमण पुष्टि भएका मानिसहरू पूर्ण रूपमा आइसोलेसनमा थिएनन्।

यसै गरी न्युकासलबाट ट्यामवर्थ भ्रमणमा गएकी एक महिला कोभिड-१९ सङ्क्रमित भएको पुष्टि भएपछि आज साँझ ५ बजेदेखि उक्त रिजनल शहर लकडाउनमा जाने भएको छ।

हालसम्म ट्यामवर्थका केही स्थानहरूलाई सङ्क्रमित ठाउँहरूको सूचीमा राखिएता पनि उक्त सहरमा कोही पनि कोरोनाभाइरसबाट सङ्क्रमित पुष्टि भैसकेका भने छैनन्।

यसै गरी बाइरन बेका बासिन्दाहरूलाई पनि कोभिड-१९ परीक्षणका लागि अगाडी आउन राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले आग्रह गरेकी छिन्।

उनी भन्छिन् कि कोरोनाभाइरस सङ्क्रमित एक व्यक्तिले उक्त क्षेत्रमा पाँच दिन बिताएका थिए।

हाल न्यु साउथ वेल्सभरका अस्पतालहरूमा कोभिड-१९ सङ्क्रमित बिरामीहरूको सङ्ख्या ३४९ रहेको पनि डा चान्टको भनाई छ।

यसै गरी सघन उपचार कक्षमा ६७ कोरोनाभाइरस बिरामीहरूको उपचार हाल चलिरहेको समेत उनले बताएकी छिन्।

तर रोयल प्रिन्स अल्फ्रेड हस्पिटलका सघन उपचार प्रबन्धक डा रिचर्ड टोराटोले आइसियु सीमित उपलब्धता भएको स्रोत रहेको बताउँदै मानिसहरूलाई सतर्क तुल्याएका छन्।

उता, प्रिमियरले भने केस सङ्ख्या घटे र खोप दर बढे सेप्टेम्बरदेखि प्रतिबन्धहरू खुकुलो हुनसक्ने आफ्नो भनाई दोहोर्‍याएकी छिन्।

भिक्टोरिया

भिक्टोरियाली अधिकारीहरूका अनुसार गएको २४ घन्टे अवधिमा राज्यभर थप ११ कोभिड-१९ सङ्क्रमितहरूको पहिचान गरिएको छ।

प्रिमियर ड्यानिएल एन्ड्रुज भन्छन् कि एक बाहेक कुनै पनि सङ्क्रमितहरू आइसोलेसनमा रहेका थएनन् तर पहिले घोषित मामिलाहरूसँग उनीहरूको सङ्क्रमण जोडिएको छ।

“सङ्क्रमणको सुरुवाती दौरमा सङ्क्रमितहरू आइसोलेसनमा नहुनु सामान्य कुरा हो,” उनले भने।

आज पुष्टि गरिएका मध्ये सात जना सङ्क्रमित मेलबर्नको पश्चिममा रहको क्यारोलिन स्प्रिङ्ग्स सपिङ सेन्टरसँग सम्बन्धित रहेको पनि बताइएको छ।

यसै गरी आज मध्यरातदेखि रिजनल भिक्टोरिया लकडाउनबाट बाहिर आउने घोषणा पनि प्रिमियर एन्ड्रुजले गरेका छन्।

उनी भन्छन् कि मेलबर्न बाहिर कोरोनाभाइरस सङ्क्रमणका कुनै मामिलाहरू नभेटिएकाले उक्त निर्णय लिइएको हो।

अब रिजनल भिक्टोरिया लकडाउनमा जानु पूर्वको स्थितिमा फर्कने छ जस अनुसार स्कूलहरू, होटेल-क्याफे-पब तथा खुद्रा पसलहरू पुनः खुल्नेछन् र मानिसहरूलाई घरबाट निस्कन पाँच कारणहरूको नियम लागू हुने छैन।

मेलबर्नदेखि रिजनल भिक्टोरियाका पसलहरूमा क्रेता आए-नआएको अनुगमनको जिम्मा भने पसलेहरूलाई दिइएको छ।

मेलबर्नको लकडाउन खुल्ने बारे भने उनले अहिल्यै यसै भनेर भन्न नसकिने बताएका छन्।

गत बिहीवार एक साताका लागि भन्दै एन्ड्रुज सरकारले भिक्टोरियालाई लकडाउनको घोषणा गरेको थियो।

आजैदेखि भिक्टोरियाको मेल्टनमा अस्ट्रेलियाकै पहिलो ड्राइभ-इन खोप केन्द्र सञ्चालनमा आएको छ।

आफ्नो सवारीमा बसी-बसी नै खोप लगाउन मिल्ने उक्त केन्द्र मेलबर्नभन्दा केही पश्चिममा पर्ने मेल्टनको पूर्व बनिङ्ग्स गोदाममा खुलेको हो।

क्वीन्सल्यान्ड

गएको २४ घन्टमा क्वीन्सल्यान्डले कोरोनाभाइरस सङ्क्रमणका चार थप सामुदायिक घटनाहरू दर्ता गरेको छ।

ब्रिसबेनमा आज बिहान आयोजित कोभिड-१९ अपडेट सम्बन्धी पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रिमियर अनास्टेसिया पलाशेले सो तथ्याङ्क सार्वजनिक गरेकी हुन्।

ती चारै मामिला इन्दूरूपिल्ली क्लस्टरसँग सम्बन्धित रहेको पनि उनको भनाई छ।

ती मध्ये तीन सङ्क्रमित आइरनसाइड स्टेट स्कुल र एक ब्रिसबेन ग्रामर स्कूलसँग जोडिएको पनि प्रिमियरले बताएकी छिन्।

हिजो आइतबार सङ्क्रमित पुष्टि भएका ६० वर्षीय ट्याक्सी ड्राइभर भने अघिल्लो हप्ताका सङ्क्रमित जल पाइलटको केससँग जोडिएको बताइएको छ।

केर्न्समा हालसम्म थप सङ्क्रमित फेला परेका छैनन्।

प्रिमियर पलाशेले १६ देखि ५९ उमेर समूहका मानिसहरूले खोप लगाउन सक्ने सार्वजनिक खोप क्लिनिक ब्रिसबेन कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टरमा पर्सि बुधवारदेखि सञ्चालनमा आउने पनि बताएकी छिन्।

उनका अनुसार उक्त खोप केन्द्रले राज्यवासीहरूलाई फाइजरद्वारा निर्मित खोप मात्र लगाइदिनेछ।

अनास्टेसिया पलाशे भन्छिन् कि न्यु साउथ वेल्सको स्थिति बिग्रँदै गए, सीमावर्ती इलाकाहरूमा थप कडाइ गरिनेछ।

टास्मेनिया

टास्मेनियामा आगामी शुक्रवार साँझ ६ बजेदेखि लागू हुने गरी उबर तथा ट्याक्सी सेवाहरूले अनिवार्य क्युआर चेकइन प्रणाली सुरु गर्नुपर्नेछ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

5 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now