कोभिड-१९ अपडेट: भाइरसबाट न्यु साउथ वेल्समा थप दुईको मृत्यु, क्विन्सल्यान्डको एक्का स्थगित

यो बुधवार, ४ अगस्टको अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

NSW Premier Gladys Berejiklian arrives to speak to the media during a press conference in Sydney, Wednesday, August 4, 2021. (AAP Image/Joel Carrett) NO ARCHIVING

Source: AAP Image/Joel Carrett

मुख्य बुँदाहरू: 

  • न्युकासल/हन्टर क्षेत्रका ढल परिक्षण गर्दा भारी मात्रामा भाइरस भेटियो,
  • ब्रिस्बेनको “एक्का” छु्ट्टी हाललाई स्थगित,
  • साउथ अस्ट्रेलियामा थप एक सामुदायिक सङ्क्रमण र
  • भिक्टोरियमा हिजो मङ्गलवार गरिएका परिक्षणबाट नयाँ सङ्क्रमित नभेटिएको स्थानिय अधिकारीहरूको भनाई ।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्सले मङ्गलवार राती आठ बजेसम्मको गणना अवधिमा सामुदायिक सङ्क्रमणका थप २३३ नयाँ मामिलाहरू दर्ता गरेको छ भने खोप नलगाएका एक २० वर्ष कटेका एक युवक को गए राती मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन्।

ती युवकका अलावा राज्यमा कोभिड-१९ का कारण थप एक जनाको मृत्यु पनि पुष्टि गरिएको छ।

प्रिमियर ग्लाडिस बेरिजिक्लियनका अनुसार सोही अवधिमा राज्यभर १०५,००० मानिसहरूको कोभिड-१९ परीक्षण भएको थियो।

उनले न्यु साउथ वेल्स स्वास्थ्य विभाग हन्टर/न्युकासल क्षेत्रको ढलमा कोरोनाभाइरस भेटिएकाले निकै चिन्तित रहेको पनि आज सिड्नीमा आयोजित पत्रकार सम्मेलनका क्रममा बताएकी छिन्।

बेरिजिक्लियन भन्छिन् कि ती स्थानका मानिसहरू परीक्षणका लागि अगाडी आउनुपर्छ।

“ढलको परीक्षण गर्दा भाइरसको सङ्ख्या निकै देखिएको छ जसको मतलब न्युकासल वरपरका इलाकाहरूमा पहिचान नभएका सङ्क्रमणहरू हुन सक्छन्,” उनले भनिन्।

विशेष गरेर बर्मिङघम गार्डेन्स, मेरिल्यान्ड, फ्लेचर, मिन्मी, क्यामरन पार्क, मेफिल्ड, स्टकटन र फर्न बेका मानिसहरूलाई सतर्क रहन भनिएको छ।

कोरोनाभाइरस सङ्क्रमित भएर गए राती मृत्यु भएका भनिएका युवकका परिवारलाई समवेदना व्यक्त गर्दै प्रिमियरले भनिन् कि यो रोग कत्तिको घातक छ भनेर यस पछिल्लो घटनाक्रमबाट प्रस्ट हुन्छ।

उनले भाइरसद्वारा सबै उमेरका मानिसहरूलाई प्रभावित गर्ने बताउँदै ती युवकले कोभिड-१९ विरुद्धको खोपको कुनै मात्रा नलगाएको पनि पुष्टि गरिन्।

“हामीले जानेसम्म मृत्यु एकदमै अचानक भएको थियो,” ग्लाडिस बेरिजिक्लियनले भनिन्।

न्युकासलका अलावा न्यु साउथ वेल्स हेल्थ थुप्रै अपार्टमेन्ट भवनहरूमा देखिन थालेबाट चिन्तित बनेको राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले बताएकी छिन्।

उनी भन्छिन् कि स्वास्थ्य विभाग हाल क्याम्पबेलटाउन स्थित एक अपार्टमेन्ट भवनमा देखिएका नौ सङ्क्रमणका घटनाबारे छानबिन गर्दै छ।

चान्टले उक्त अपार्टमेन्टमा भाइरस विशेष गरेर परिवार तथा इष्टमित्र मार्फत फैलिएको देखिएको बताएकी छिन्।

उनी भन्छिन् कि पहिलेका कोरोनाभाइरस भन्दा डेल्टा भेरिएन्टले सङ्क्रमितको सम्पर्कमा आउने नजिकका मानिसहरूलाई बढी प्रभावित गरेको देखिएको छ।

“यसै कारणले पनि हामीले मानिसहरू जम्मा हुने साझा ठाउँहरूमा मास्क लगाउन अनिवार्य गरेका हौँ,” उनले भनिन्।

“अपार्टमेन्टहरूमा बस्नुहुन्छ भने जतिसक्दो चाँडो आफ्नो परीक्षण गराउनुहोस्, आइसोलेसनमा रहिरहनुहोस्।”

उनले अन्य मानिसहरूसँग लिफ्टमासँगै ओहोरदोहोर गर्दा वा अन्य साझा सुविधाहरूको प्रयोग गर्दा सकेसम्म अन्य व्यक्तिहरूसँगको संसर्ग घटाउन पनि आग्रह गरेकी छिन्।

प्रिमियरले आगामी १६ तारिखदेखि सबै १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूले प्रत्यक्ष पठनपाठन नगर्ने सङ्केत गरेकी छिन्।

प्रत्यक्ष पठनपाठनको मौका सीमित रहने बताउँदै उनले सरकारद्वारा यस बारेमा थप निर्णय अबका केही दिनमा लिने तयारी गरिरहेको उल्लेख गरिन्।

डेल्टा भेरिएन्टद्वारा अति प्रभावित आठ काउन्सिल क्षेत्रकाका विद्यार्थीहरूलाई आगामी ९ तारिखदेखि फाइजरद्वारा निर्मित खोप दिन थालिने तर खोपको प्रभाव देखिन केही समय लाग्ने पनि बेरिजिक्लियनको भनाई छ।

“हामी यसबारेमा थप यो हप्ता भित्रै वा अर्को साताको सुरुसम्ममा आफ्नो योजना सार्वजनिक गर्नेछौँ,” उनले भनिन्।

“म के स्पष्ट पार्न चाहन्छु भने अवस्थालाई थप नाजुक तुल्याउने वा स्वास्थ्यमा जोखिम उत्पन्न गराउने कुनै पनि कदम हामी चाल्ने छैनौँ।”

तथापि ग्लाडिस बेरिजिक्लियनले आगामी अक्टोबरमा हुने परीक्षामा भाग लिन पाउने आश्वासन १२ कक्षामा पढ्ने सबै विद्यार्थीहरूलाई दिएकी छिन्।

क्विन्सल्यान्ड

क्विन्सल्यान्डले आज बुधवार थप १६ स्थानीय सङ्क्रमण दर्ता गरेको छ।

आज घोषणा गरिएका एक बाहेक सबै स्थानीय सङ्क्रमणका मामिलाहरू इन्दुरूपिल्ली डेल्टा क्लस्टरसँग सम्बन्धित रहेको बताइएको छ र उक्त एउटा सङ्क्रमणको घटना बाहेक बाँकी सम्पूर्ण मामिलाहरू हाल लकडाउनमा रहेका ११ काउन्सिल क्षेत्र भित्र नै रहेको पनि सरकारी भनाई छ।

इन्दुरूपिल्ली डेल्टा क्लस्टरसँग सम्बन्धित नरहेका सङ्क्रमित भने पूर्ण रूपमा कोभिड-१९ विरुद्धको खोप लगाइसकेका एक जहाजका चालक रहेको पनि स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

राज्यका डेपुटी प्रिमियर स्टिभन माइल्सले केही घण्टा अगाडी ब्रिसबेनमा आयोजित कोभिड-१९ अपडेट सम्बन्धी पत्रकार सम्मेलनका क्रममा अत्यावश्यक बाहेक अन्य कामका लागि घरबाट ननिस्कन मानिसहरूलाई आग्रह गर्दै भने कि घर बाहिर राख्ने फर्निचर किन्ने समय यो होइन।

“आफ्नो निवासबाट निस्कँदा त्यसको जिम्मेवारी व्यक्ति स्वयमले लिनु पर्दछ नाकी खुद्रा पसल वा (अन्य) व्यापार गर्नेहरूले,” उनले भने।

राज्यकी स्वास्थ्य मन्त्री युभेट डी'आथ भन्छिन् कि यसरी ठुलो सङ्ख्यामा मानिसहरू परीक्षणका लागि अगाडी आउनु आगामी आइतबार लकडाउनबाट बाहिर निस्कन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

“आगामी पाँच दिनमा हामी लकडाउनबाट बाहिर निस्कन्छौँ कि भाइरस समुदायमा फैलाउँछौँ भनेर हुने निर्णय तपाईँको हातमा छ,” उनले भनिन्।

हिजो मङ्गलवार क्विन्सल्यान्डभर ५१ हजारभन्दा बढी कोरोनाभाइरस परीक्षणहरू गरिएका थिए र पछिल्लो प्रकोपबाट राज्यमा हालसम्म ६३ जना सङ्क्रमित भइसकेका छन्।

आगामी बुधवार आयोजना हुन कृषिसँग सम्बन्धित रहेको पूर्व नियोजित वार्षिक कार्यक्रम “एक्का” हाललाई स्थगन गरिएको छ।

अस्ट्रेलियाका अन्य राज्य तथा प्रदेशहरू

भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कुनै किसिमका सङ्क्रमणहरू नदेखिएको स्थानीय अधिकारीहरूको भनाई छ।

केही हप्ता अघि झन्डै ४०,००० मानिस आइसोलेसनमा रहेता पनि अब केवल ३,००० भन्दा कम मात्रले अनिवार्य क्वारेन्टिन गरिरहेको आजको कोभिड-१९ अपडेटका क्रममा बताइएको छ।

यसै गरी राज्यभरका सङ्क्रमण स्थलहरूको सूचि पनि ३३ स्थानहरूमा सीमित पारिएको छ।

हाल भिक्टोरियाली अस्पतालमा ९ जना कोरोनाभाइरसका बिरामी भर्ती रहेका र ती मध्ये दुई जना सघन उपचार कक्षमा रहेको पनि राज्यको स्वास्थ्य अधिकारीहरूको भनाई छ।

साउथ अस्ट्रेलियामा भने थप एक सामुदायिक सङ्क्रमण पुष्टी भएको छ र ती २० वर्ष कटेका युवक हाल क्वारेन्टिनमा रहेको बताइएको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

6 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now