न्यु साउथ वेल्समा आजदेखि मोबाइल फोनमै लाइसेन्स उपलब्ध

न्यु साउथ वेल्सका विभिन्न स्थानहरूमा भएका सफल परीक्षण पछि, राज्य व्यापी रूपमै डिजिटल लाइसेन्स सुरु गरिने घोषणा केही महिना अगाडी सरकारले गरेको थियो।

Digital driver's license

Source: The Feed/SBS

न्यु साउथ वेल्सको सवारी चालक अनुमति पत्र आज देखि डिजिटल संस्करणमा पनि उपलब्ध रहने भएको छ।

यसका साथ् सर्भिस एनएसडब्ल्युको एप मार्फत आफ्नो फोनमा डाउनलोड गर्न मिल्ने उक्त लाइसेन्सलाई कानुनी रूपमै परिचय पत्रको रूपमा पनि प्रयोग गर्न मिल्ने छ।

थप शुल्क नलाग्ने उक्त डिजिटल लाइसेन्स आफ्नो फोनमा डाउनलोड गर्न मानिसहरुले माइ सर्भिस एनएसडब्ल्यु खाता पनि खोल्नुपर्ने हुन्छ।

प्रहरीद्वारा लाइसेन्स जाँच गरिँदा वा पब, बार, रेस्टुरेन्ट र नाइट-क्लब लगायतका स्थानहरूमा आफ्नो परिचय प्रमाणित गर्न पनि मानिसहरुले आफ्नो डिजिटल लाइसेन्स प्रस्तुत गर्न सक्नेछन्।

तर सवारी साधन चलाएको बेला सडकको छेउमा प्रहरीलाई डिजिटल लाइसेन्स देखाउँदा, सवारीसाधन चलाउँदा मोबाइल फोन प्रयोग सम्बन्धी कानून पनि लागू हुनेछ।

प्रहरीद्वारा माग नगरिएसम्म सवारी चालकहरूले आफ्नो मोबाइल फोन छुन नहुने नियमको पालना गर्नुपर्ने जोड दिइएको छ।

A mock-up of NSW digital drivers licence.
A mock-up of NSW digital drivers licence. Source: NSW Government

प्रविधिको परीक्षण

ग्रामीण न्यु साउथ वेल्सका सहरहरू डब्बो र अलबरीका साथै सिड्नीका पूर्वी सबर्बहरुमा बस्ने झन्डै १४ हजार जनाले मोबाइल एप मार्फत उपलब्ध हुने उक्त डिजिटल लाइसेन्सको परीक्षण गरेका थिए।

उक्त परीक्षण सफल भएको भन्दै गए जुन महिनामा तत्कालीन ग्राहक सेवा सम्बन्धी राज्य मन्त्री भिक्टर डोमिनेलोले “स्मार्टफोनहरूले आजकल वालेटको पनि भूमिका निभाइरहेको अवस्थामा मानिसहरूले डिजिटल लाइसेन्सलाई पनि आफ्नो फोनमा राख्न सक्छन्,”भनी बताएका थिए।

सर्भिस न्यु साउथ वेल्सको एप मार्फत उपलब्ध रहने त्यस्तो लाइसेन्सलाई पिन नम्बरका साथ सुरक्षित राखिन सक्ने पनि मन्त्री डोमिनेलोको भनाइ थियो।

“प्लास्टिकका सवारी चालक अनुमति पत्रको तुलनामा डिजिटल लाइसेन्सले मानिसहरूको परिचय चोरी हुनबाट सुरक्षित राख्नेछ,” उनले भने।

Digital Driving License
A consumer using a new app that the state government wants to roll out using digital licences across NSW. Source: NSW Government

राज्य सरकारका अनुसार उक्त प्रविधिलाई सवारी साधन चलाउन बाहेक परिचय वा उमेरको प्रमाणको लागि पनि प्रयोग गर्न सकिने छ।

यसका साथै, होटेल, बार, बैङ्क र धूम्रपान बिक्रेताहरूले पनि डिजिटल लाइसेन्सलाई मान्यता दिन मिल्ने बनाउने आफ्नो योजना रहेको सरकारको भनाइ छ।

मन्त्री डोमिनेलोका एक प्रवक्ताका अनुसार अझै परीक्षणमा रहेको उक्त लाइसेन्सलाई केही महिना भित्र राज्य भर लागु गरिने छ।

साथै, परीक्षण कालमा डिजिटलका साथै प्लास्टिकको लाइसेन्स राख्नु परेता पनि, आधिकारिक रूपमै नयाँ लाइसेन्स सुरु गरिए पछि, मानिसहरूले खालि एप मार्फत नै त्यसको प्रयोग गर्न पाउने छन्।

सरकारका अनुसार डिजिटल लाइसेन्सको प्रयोग अनिवार्य भने हुने छैन।

अस्ट्रेलियाका अन्य राज्यहरूमा त्यस्तो लाइसेन्सलाई उमेर प्रमाणित गर्ने आधिकारिक श्रोतको रूपमा स्वीकार गरिहाल्ने अवस्था पनि नरहेको सरकारको भनाइ छ। 

अरू राज्यमा के छन् त व्यवस्था?

यसै गरी, क्वीन्सल्याण्ड राज्यमा पनि आगामी केही महिनामा “डिजिटल वालेट” को परीक्षण सुरु गरिने योजना रहेको बताइएको छ।

उक्त वालेटमा सिकारु सवारी चालक अनुमति पत्रका साथै फोटो परिचय कार्ड र मरिन लाइसेन्स पनि रहने क्वीन्सल्याण्ड यातायात विभागको भनाइ छ।

दक्षिण अस्ट्रेलियामा माई एसए गभ नामक एप मार्फत डिजिटल परिचय पत्र सुरु भइसकेको छ भने भिक्टोरियाले सन् २०१७ देखि उमेर प्रमणिकरणको लागि डिजिटल प्रविधिको परीक्षण गर्दै आएको छ।

पश्चिम अस्ट्रेलियामा यस्ता प्राविधिक योजनाहरू बारे बेला बखत कुरा उठ्ने गरे तापनि अहिलेसम्म केही ठोस कदम त्यहाँको सरकारले लिएको छैन।

टासमानिया र नर्दर्न टेरीटोरीमा भने उक्त विषयबारे केही आधिकारिक चर्चा नभएको बताइएको छ।


3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now