विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्त राज्य समक्ष सुपुर्दगी गर्ने सम्बन्धी पूर्ण सुनाई आगामी फेब्रुअरी महिना देखि सुरु हुने भएको छ।
लण्डन स्थित एक अदालतमा उक्त मुद्दालाई थप तीन महिनाले लम्ब्याउन ४८ वर्षीय अस्ट्रेलियाली नागरिकका वकिलहरूले आग्रह गरेका थिए।
तर गोप्य अमेरिकी सैन्य जानकारी हात पारे बापत कारबाहीको लागि उनलाई संयुक्त राज्य पठाइने प्रक्रिया अझै ढिलो गर्नुपर्ने कुनै कारण नरहेको जिल्ला न्यायाधीश भनेसा बारेट्सरले घोषणा गरिन्।
स्विडेनमा कथित यौन हमलाबारे मुद्दाको आडमा आफूलाई संयुक्त राज्य समक्ष हस्तान्तरण गरिने योजना रहेको दाबी गर्दै असान्जले गए सात वर्ष देखि लण्डन स्थित दक्षिण अमेरिकी राष्ट्र इक्वेडोरको दूतावासमा शरण लिँदै आएका थिए। तर गए अप्रिल महिनामा दूतावास बाट निकालिएपछि ब्रिटिस प्रहरीद्वारा उनलाई हिरासतमा लिइएको थियो।

अदालत बाहिर असान्ज समर्थकहरूको भेला
संयुक्त राज्य माथि जासुसी गरेको आरोप लागेका विकिलिक्सका संस्थापक बारे सुनुवाइ भएको अदालत बाहिर उनका समर्थकहरूको उपस्थिति रहेको थियो।
गए केही महिना देखि फ्रान्समा सरकार विरोधी प्रदर्शनमा संलग्न 'येल्लो भेस्ट' नामक पहेँलो ज्याकेट लगाउने प्रदर्शनकारीहरू पनि पेरिस बाट त्यहाँ आइ पुगेका थिए।
ती मध्येका एक थिए जिन-ब्याप्टिस्ट रेड्ड। जुलियन असान्जले आम मानिसहरूको प्रतिनिधित्व गर्ने आफ्नो विश्वास रहेको भन्दै, उक्त मुद्दाले विश्वव्यापी स्तरमै प्रजातन्त्रको बाटो निर्धारण गर्ने उनी बताउँछन्।
"गए नौ वर्ष देखि असान्ज्ले विश्वभरिका मानिसहरूको स्वतन्त्रता, जानकारी पाउने अधिकार, न्याय र सत्यताका लागि लडाई लडी रहेका छन्", उनले भने।
जुलियन असान्जले एक पूर्व अमेरिकी सैन्य विश्लेषक चेल्सी म्यानिङ्गसंग मिलेर अमेरिकी सरकारको गोप्य जानकारीहरू हात पार्न कम्प्युटरको पासवर्ड चोरी गरेको लगायतका कुल १८ भिन्न आरोप संयुक्त राज्य द्वारा उनीमाथि लगाइएको छ।
ती आरोपहरू माथि संयुक्त राज्यमै कारबाही हुनुपर्ने लक्षका साथ अमेरिकी अधिकारीहरूले उनलाई त्यहाँ लैजान काम गरिरहेका छन्।
तर सोमवार लण्डन अदालतमा जुलियन असान्जलाई आफ्नो मुद्दाबारे तयारी गर्न थप समय प्रदान गर्नुपर्ने भनी उनका वकिलहरूद्वारा राखिएका मागलाई न्यायाधीश भनेसा बारेट्सरले अस्वीकार गरेकी हुन्।
अहिले नै बिस्तारै अगाडी बढिरहेको मुद्दामा थप ढिलाइ गर्नाको औचित्य नरहेको उनको भनाइ थियो।

अदालतको उक्त निर्णय प्रति आफू दुःखित भएको विकिलिक्सका प्रदान सम्पादक क्रिस्टिन हराफ्फ्सनले बताए।
"विश्व शक्ति द्वारा उक्त मुद्दाको लागि तयारी गर्न १० वर्ष समय पाएको तर जुलियन असान्जले चाहिँ गए ६ महिना देखि बेल्मार्श जेलमा समय बिताउँदै कुनै कानुनी कागजपत्रहरू हेर्न नपाउनु कहाँको न्याय हो?", उनले प्रश्न गरे।
४८ वर्षीय असान्जको समर्थनको लागि ब्रिटेन पुगेकी फ्रान्सवा निकोलाले पनि उक्त लडाई अन्त्य नभएको बताइन।
निकोलले अफ्रिकी राज्य बेनिनमा कथित फ्रान्सेली भ्रष्टाचारबारे गोप्य सरकारी जानकारी सार्वजनिक गरेकी थिइन्। असान्ज प्रति भएका व्यवहार प्रति फ्रान्समा धेरै चिन्ता रहेको भन्दै उनले उक्त मुद्दा एक "घोटाला" भएको बताइन।
त्यस्तै विकिलिक्सका प्रदान सम्पादक क्रिस्टिन हराफ्फ्सनले पनि यदि दोषी ठहर भए असान्जले अमेरिकी जेलमा आजीवन सजाय पाउन सक्ने आफ्नो चिन्ता रहेको बताएका छन्।
साथै अहिले जुलियन असान्जको स्वास्थ्य स्थिति पनि धेरै नाजुक रहेको उनले जोड दिए।
