कोभिड-१९ महामारीका कारण अस्ट्रेलियाको सीमा बन्द हुँदा पहिलो पटक अभिभावक बन्ने सबैले केही न केही कठिनाई भोगे।
अस्ट्रेलियामा नै आफन्त हुनेहरूलाई थोर बहुत सजिलो थियो।
तर नेपाल वा अन्य देशबाट यहाँ सरेर घरजम गर्नेहरूलाई सामान्य बेलामा त गाह्रो हुन्छ भने बोर्डर बन्द, लकडाउन अनि सुपरमार्केटहरूमा अत्यावश्यक सामानहरूको हाहाकार माझ, महामारीमा परिवारको नयाँ सदस्यलाई स्वागत गर्ने सोचैले मात्र पनि पिरेको 'Mum माने आमा' लाई अस्ट्रेलियामा बसोबास गर्दै आएका केही नेपाली पृष्ठभूमिका अस्ट्रेलियाली आमाहरूले बताएका छन्।
पोडकास्टको दोस्रो भागमा मेधा निरौला भन्छिन्, “नेपालबाट आफन्तहरू आउन नपाउने कुराले बच्चाको आगमन र त्यसपछिको ठुलो जिम्मेवारी श्रीमान् श्रीमतीबाट मात्र पुरा गर्न सकिँदैन कि भन्ने थियो।”
"सुरुवातमा त डर नै लागेको थियो, सकिन्छ सकिँदैन भन्ने भएको थियो तर गर्दै जाँदा सकिँदो रै'छ।"
उता, अर्की सहभागी सबिना पोखरेलले भने इन्टरनेटको खुब साथ पाएको कुरा सुनाइन्।

आफ्नो आमा आफूसँगै भएको भए गुगल धेरै हेर्नु पर्ने थिएन कि भन्ने आफ्नो मनको कुरा खोल्दै भन्दै उनले भनिन्,"ला! अब कसरी सुताउने? अब ला के खुवाउने? अब ला खाएन, खाएन भने के गर्ने? त्यो सब पीर लिनु पर्थेन होला मैले।"
पोडकास्टको तेस्रो पाहुना अनिता ढकालले भने श्रीमानहरूलाई पनि गाह्रो हुने भएकाले आफ्ना साथीभाईहरूको भूमिका पनि महत्त्वपूर्ण हुने विचार व्यक्त गर्छिन्।
"श्रीमान् जो निकटको (सुत्केरीको) स्याहार गर्ने व्यक्त हो उसलाई चाहिँ एकदमै धेरै प्रेसर पर्छ नि त। जतिखेर पनि ह्यान्डल गर्न गाह्रो हुन्छ होला।"

तर नेपालबाट सहयोग आउन नसक्ने अवस्थामा श्रीमानले नै सबैभन्दा ठुलो भूमिका निर्वाह गर्नु पर्ने विचार भने जेनरल प्राक्टिस्नर डा. सृजना शर्माको छ।
उनले भनिन्, "नेपालमा धेरै ठुलो फेमिलीमा बस्या हुन्छ र (श्रीमानले सबै काम) गर्न जरुरी देखिएको हुँदैन।"
बुवाहरूको प्रत्यक्ष संलग्नताले बच्चा र बुवा बिचको सम्बन्ध प्रगाढ बनाउने डाक्टर शर्माको तर्कलाई पोडकास्टको दोस्रो भागका सहभागी नव-अभिभावकहरू सबैको सहमती थियो।

दोस्रो भाग सुन्नुहोस्: २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव नेपालबाट आएर अस्ट्रेलियामा आमा बन्नुका विभिन्न पाटाहरूलाई केलाइएको १० भागको साप्ताहिक पोडकास्ट शृङ्खला, 'Mum माने आमा', को नयाँ भाग हरेक मङ्गलवार सम्पूर्ण पोडकास्ट प्लेटफर्महरूमा उपलब्ध हुने गरेको छ। एसबीएस नेपालीका अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।
पोडकास्ट शृङ्खलाका बारेमा:
अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका आमा बनेका वा बन्ने प्रतीक्षामा रहेकाहरूका लागी बच्चा पाउने योजना देखि बच्चा जन्मिएपछि सम्मका यात्रा तुलनात्मक रूपमा सहज पनि हुन सक्छन् तर यो मातृत्व यात्रा अड्चन बिनाको भने छैन।
सबैको मातृत्व अनुभव फरक फरक भए पनि समानता पनि उत्तिकै हुन सक्छ।
Mum माने आमा पोडकास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।
पहिलो भागमा प्रस्तोताहरू सुनिता पोखरेल र शिखा बस्नेतले सर्जु देउजा, रिचा सिलवाल र रत्ना महर्जनसँग मातृत्वको अनुभव बारे गरेको कुराकानी सुन्नुहोस्: १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू
