भाग १: अस्ट्रेलियाका नेपाली आमाहरूको कल्पनाको संसार र यथार्थ

अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका आमा बनेका वा बन्ने प्रतीक्षामा रहेकाहरूका लागी बच्चा पाउने योजना देखि बच्चा जन्मिएपछि सम्मका यात्रा तुलनात्मक रूपमा सहज पनि हुन सक्छन् तर यो मातृत्व यात्रा अड्चन बिनाको भने छैन।
सबैको मातृत्व अनुभव फरक फरक भए पनि समानता पनि उत्तिकै हुन सक्छ।
दश भागको 'मम् माने आमा' पोड्कास्ट शृङ्खलाको पहिलो भागमा हामी प्रस्तोताहरू सुनिता पोखरेल र शिखा बस्नेतका साथै सर्जु देउजा, रिचा सिलवाल र रत्ना महर्जनको मातृत्व अनुभव सुन्ने छौँ।
कुराकानीका प्रमुख विषयहरू:
- योजना अनुरूप र योजना नै नगरी गर्भ बस्दाका दुई भिन्न अनुभव
- गर्भ बस्न कसैलाई पहिलो प्रयास नै काफी, कतिले भने शारीरिक र भावनात्मक अवरोधको सामना गर्नु पर्यो
- बच्चा जन्माउने योजना गर्दै गर्दा शारीरिक रूपमा कसरी तयार हुने
- गर्भवती नहुँदा आउने असंवेदनशील प्रश्नहरू
पोडकास्टको पहिलो भाग सुन्नुहोस्: Mum माने आमा पोडकास्टमा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।
सन् २०२० मा पहिलो बच्चालाई जन्म दिएकी ऋचा सिलवालका लागी आफ्नो श्रीमानसँग गर्भधारणको योजना बनिसके पछिको पहिलो प्रयास नै सफल भयो।
"ठ्याक्क ३० वर्ष लागेको थिएँ, प्लान गर्दा खेरि," उनले भनिन्।
"घरबाट पनि प्रेसर आएको थियो इन्फर्टिलिटी हुने चान्स र बच्चा बस्न गाह्रो हुन्छ (भनेर)।"

ऋचा भन्छिन् कि बच्चा कन्सिभ गर्न खासै समय लागेन।
तर उनको जस्तो बच्चा पाउने विचार गर्दा-गर्दै नै गर्भधारण भएको निकै सजिलो अनुभव, अस्ट्रेलियामा बस्ने अन्य थुप्रै नेपाली पृष्ठभूमिका मानिसहरुको छैन।
सिड्नीलाई घर बनाएकी सर्जु देउजालाई पहिलो सन्तान जन्मेको ११ वर्ष पछि मात्र दोस्रो सन्तान भयो।
उनले यस बिचको समयमा बच्चाको योजना नबनाएको भने होइन।

तर पोलिसिस्टिक ओभरिज सिन्ड्रम (पीसीओएस) भनिने एक स्वास्थ्य अवस्थाका कारण आफ्नो गर्भधारणको सम्भावना निकै कम भएको उनको भनाई छ।
त्यसमाथि डाक्टरले आफ्नो तौल घटाउन दिएको सल्लाह र सोचे अनुसार त्यसो नहुँदा मानसिक रूपमा निकै गाह्रो भएको पनि सर्जुले बताइन्।
यसैबिच उनले आफू गर्भवती भएको थाहा पाइन्, तर १२ हप्ता पनि नबित्दै गर्भपात भयो।
"मलाई पहिले नै थाहा थियो मेरो केही स्वास्थ्य समस्या छ ... मानसिक रूपमा पनि म डिप्रेस्ड त नभनौँ तर निकै अपसेट भएँ। "
सन् २०२० को अन्त्यतिर दोस्रो सन्तानको जन्म पछि भने उनलाई गर्भपतन र त्यति बेलाका अप्ठ्याराहरू बिर्सन सजिलो भएको छ।

आमा बन्ने पहिलो खुड्किलो अर्थात् गर्भधारण सबैको लागी सहज नहुने सर्जुको अनुभव छ।
उनी भन्छिन् कि पहिलो बच्चा बिना योजना पाउँदा र दोस्रो सन्तानका लागि लामो समयसम्म योजना बनाउनुपर्दा ठूलो मानसिक तनाव झेल्नुपर्यो।
डाक्टरको भनाई
सिड्नीमा जीपीका रूपमा कार्यरत डा सिर्जना शर्मा बच्चा पाउने सोच राख्दादेखि नै तयारी सुरु गर्नु पर्ने सुझाव दिन्छिन्।
उनी भन्छिन् कि बच्चाका लागि प्रयास सुरु गर्नुभन्दा कम्तीमा पनि तीन महिना अगाडी नै आफ्नो डाक्टरलाई भेटेर सल्लाह गर्नुपर्छ।
"स्वास्थ्य जाँचहरू, बिमा सम्बन्धी कुराहरू गर्नु जरूरी छ।"
डा शर्मा बच्चा पाउने योजना बनाउँदा नै निजी बिमा लिने हो वा हैन भन्ने बारे निर्णय लिनु पर्ने बताउँछिन्।
"२८ हप्तासम्म हरेक महिनामा डाक्टरकोमा जानु पर्छ, २८ देखि ३६ हप्तामा २/२ हप्तामा र ३६ देखि बच्चा नजन्मिएसम्म एक एक हप्तामा," उनले भनिन्।
"धेरै पटक डाक्टरकहाँ जानु हुन्छ नि, त्यसका लागी अस्ट्रेलियामा दुई वटा विकल्प छन्, सरकारी र निजी प्रणाली।"
निजी प्रणालीमा जानेहरूको सम्पूर्ण गर्भावस्थाको स्याहार एक विशेषज्ञ चिकित्सकबाट हुने उनको भनाई छ।
सरकारी प्रणालीको हकमा भने आफू बस्ने क्षेत्रको नजिक रहेको अस्पतालमा जीपीले रिफर गरिदिए पछि, त्यहाँबाट यो सेवा लिन सकिने डा शर्माले जानकारी दिइन्।

साथै, आमा बन्ने योजनामा रहेका महिलाहरूलाई शारीरिक रूपमा तयार हुन फोलिक एसिड र गर्भ रहने समयभन्दा अगाडि लिइने भिटामिन लगायतका पूरक तत्वहरूले मद्दत गर्ने पनि उनको भनाई छ।
सिर्जना शर्माको भनाईसँग ऋचा सिलवाल सहमत छिन्।
आफ्नो शारीरिक तन्दुरुस्तीलाई पहिलेदेखि नै प्राथमिकतामा राख्ने ऋचा भन्छिन् कि उनले पनि आफ्नो डाक्टरकै सल्लाह र सुझावमा भिटामिन र सप्लिमेन्टहरू लिएकी थिइन्।
कल्पनाको संसार र यथार्थ
मेलबर्न निवासी रत्ना महर्जन बच्चा पाउने भनेको फिल्ममा हेरे जस्तै सजिलो हुन्छ होला भन्ने ठान्थिन्।
गर्भ बस्न पनि उपयुक्त समय पर्खनु पर्ने, एक महिनामा केही सीमित समयमा मात्र गर्भधारणका लागी शरीर तयार हुने जस्ता कुरा आफूलाई पहिले थाहा नभएको उनले Mum माने आमा पोडकास्टलाई बताइन्।
जब बच्चा जन्माउने निधो गरिन् अनि बल्ल रत्नालाई यसबारे ज्ञान हुन थाल्यो।
उनी भन्छिन् कि निकै लामो समयको प्रयासमा पनि गर्भ नबसे पछि, इनफर्टीलिटि क्लिनिकमा श्रीमान-श्रीमती दुवैको थुप्रै 'टेस्ट'हरू गर्नु पर्यो।

आफ्नो अण्ड र शुक्राणु भेट हुने फलोपियन ट्युब ब्लक भएको र प्राकृतिक रूपमा बच्चा जन्माउन झन्डै असम्भव नै भएकोले आइभीएफ प्रणाली बारे सोच्न डाक्टरले सल्लाह दिँदा अनायासै आँखाबाट आँसु झरेको सम्झिन्छिन्, रत्ना।
"मेरो आँखाबाट आफै यति आँसु आयो कि मैले आफूले त्यो अनुभव नै गरेको छैन," उनले भनिन्।
"आँसु बगेर डाक्टरले आँसु पुछ्न टिस्यु दिएको अझै पनि याद आउँछ।"
जीवनको सम्पूर्ण कमाई खर्चिएर भए पनि बच्चा जन्माउने निधो गरेका महर्जन दम्पतीको खुसीको सीमा नै थिएन जब त्यही बिचमा रत्ना गर्भवती भएको थाहा भयो।
तर त्यो खुसी धेरै लामो समय टिकेन।
गर्भपात भए पनि उनले फेरी गर्भधारण गर्न सक्छिन् भन्ने कुराले उनले केही ढाडस पाइन् भने प्राकृतिक रूपमा नै बच्चा जन्माउन साहस पलायो।

हाल दुई स-साना सन्तानकी आमा बन्न सफल रत्ना भन्छिन् कि गर्भ बस्न त्यति गाह्रो हुँदाको समय आउने केही असंवेदनशील प्रश्नहरू निकै बिझाउँथ्यो।
"तिम्रो अहिले सम्म बच्चा भएको छैन? तिमीले बिहे गरेको कति वर्ष भयो? एउटा पाए पछि अर्को पाउने बेला भएको छैन?"
भाग २: सुत्केरीलाई श्रीमानको साथ: “नेपालमा पो ठुलो परिवार हुन्छ!”
कोभिड-१९ प्रतिबन्धका कारण नेपालमा रहेका आफन्तजनको प्रत्यक्ष साथ नपाउँदा, अस्ट्रेलियामा भर्खरै आमाबाबु बनेकाहरु सुरु केही दिन आत्तिए। तर बच्चा र श्रीमान् बिच सम्बन्ध प्रगाढ बन्दै गएको उनीहरूले “Mum माने आमा” पोडकास्ट शृङ्खलालाई बताएका छन्।
कोभिड-१९ महामारीका कारण अस्ट्रेलियाको सीमा बन्द हुँदा पहिलो पटक अभिभावक बन्ने सबैले केही न केही कठिनाई भोगे।
अस्ट्रेलियामा नै आफन्त हुनेहरूलाई थोर बहुत सजिलो थियो।
तर नेपाल वा अन्य देशबाट यहाँ सरेर घरजम गर्नेहरूलाई सामान्य बेलामा त गाह्रो हुन्छ भने बोर्डर बन्द, लकडाउन अनि सुपरमार्केटहरूमा अत्यावश्यक सामानहरूको हाहाकार माझ, महामारीमा परिवारको नयाँ सदस्यलाई स्वागत गर्ने सोचैले मात्र पनि पिरेको Mum माने आमा लाई अस्ट्रेलियामा बसोबास गर्दै आएका केही नेपाली पृष्ठभूमिका अस्ट्रेलियाली आमाहरूले बताएका छन्।
पोडकास्टको दोस्रो भागमा मेधा निरौला भन्छिन्, “नेपालबाट आफन्तहरू आउन नपाउने कुराले बच्चाको आगमन र त्यसपछिको ठुलो जिम्मेवारी श्रीमान् श्रीमतीबाट मात्र पुरा गर्न सकिँदैन कि भन्ने थियो।”
"सुरुवातमा त डर नै लागेको थियो, सकिन्छ सकिँदैन भन्ने भएको थियो तर गर्दै जाँदा सकिँदो रै'छ।"
उता, अर्की सहभागी सबिना पोखरेलले भने इन्टरनेटको खुब साथ पाएको कुरा सुनाइन्।

आफ्नो आमा आफूसँगै भएको भए गुगल धेरै हेर्नु पर्ने थिएन कि भन्ने आफ्नो मनको कुरा खोल्दै भन्दै उनले भनिन्,"ला! अब कसरी सुताउने? अब ला के खुवाउने? अब ला खाएन, खाएन भने के गर्ने? त्यो सब पीर लिनु पर्थेन होला मैले।"
पोडकास्टको तेस्रो पाहुना अनिता ढकालले भने श्रीमानहरूलाई पनि गाह्रो हुने भएकाले आफ्ना साथीभाईहरूको भूमिका पनि महत्त्वपूर्ण हुने विचार व्यक्त गर्छिन्।
"श्रीमान् जो निकटको (सुत्केरीको) स्याहार गर्ने व्यक्त हो उसलाई चाहिँ एकदमै धेरै प्रेसर पर्छ नि त। जतिखेर पनि ह्यान्डल गर्न गाह्रो हुन्छ होला।"

तर नेपालबाट सहयोग आउन नसक्ने अवस्थामा श्रीमानले नै सबैभन्दा ठुलो भूमिका निर्वाह गर्नु पर्ने विचार भने जेनरल प्राक्टिस्नर डा. सृजना शर्माको छ।
उनले भनिन्, "नेपालमा धेरै ठुलो फेमिलीमा बस्या हुन्छ र (श्रीमानले सबै काम) गर्न जरुरी देखिएको हुँदैन।"
बुवाहरूको प्रत्यक्ष संलग्नताले बच्चा र बुवा बिचको सम्बन्ध प्रगाढ बनाउने डाक्टर शर्माको तर्कलाई पोडकास्टको दोस्रो भागका सहभागी नव-अभिभावकहरू सबैको सहमती थियो।

दोस्रो भाग सुन्नुहोस्: २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव नेपालबाट आएर अस्ट्रेलियामा आमा बन्नुका विभिन्न पाटाहरूलाई केलाइएको १० भागको साप्ताहिक पोडकास्ट शृङ्खला, 'Mum माने आमा', को नयाँ भाग हरेक मङ्गलवार सम्पूर्ण पोडकास्ट प्लेटफर्महरूमा उपलब्ध हुने गरेको छ। एसबीएस नेपालीका अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।
भाग ३: पहिलो प्रेग्नेन्सी ‘टेक्स्ट बुक’ जस्तो भए पनि अरू दुईमा नसोचेका समस्या आए!
पहिलो पटक आमा बन्दा मात्र सबै कुरा नौलो लाग्छ भन्ने कतिले सोच्नुहुन्छ? Mum माने आमा पोड्कास्टका सहभागीले त गर्भावस्थाको अनुभव हरेक पटक नयाँ नै हुने बताएका छन्।
गर्भवतीलाई बोलीचालीको भाषामा 'भारी जिउ' को भनेर चिनिन्छ र सामान्यतया ९ महिना रहने यो अवस्थामा त्यो भारी जिउले धेरै किसिमका अप्ठ्याराहरू छिचोल्नु पर्ने हुन्छ।
पेट भित्र अर्को जीवन निर्माण गर्ने वातावरण बनाउन गर्भ बसेदेखि नै शारीरिक र मानसिक रूपमा महिलाहरूमा धेरै किसिमका परिवर्तनहरू आउँछन्।
कुनै परिवर्तन समस्याका रूपमा लामो समयसम्म रही रहन्छन् भने कति समय बित्दै जाँदा ठिक हुन थाल्छन्।

यस्तै अनुभवहरू सुनाएका छन् Mum माने आमा पोड्कास्टमा सहभागी भएका आमाहरूले।
हरेक पटक गर्भवती बन्दा केही छुट्टै अनुभव सँगालेकी मेलबर्न निवासी रोजी अर्यालले पहिलो पटक 'टेक्स्ट बुक' जस्तो कुनै समस्याबिना नै गर्भावस्था पार गरेको बताइन्।
दोस्रो पटक गर्भ बस्दा ९ महिनामा पाउने त हो नि भनेर ढुक्क बसेकी उनलाई १४ हप्तामा गर्भमा रहेको बच्चाको शरीरमा धेरै पानी जम्मा हुने 'हाइड्रप्स' भन्ने स्वास्थ्य अवस्था रहेको बताइयो।
र १८ हप्तामा बच्चाको मुटुको धड्कन भेट्टाइएन।

तेस्रो पटक गर्भवती हुँदा उनलाई पेल्भिक गर्डल पेन वा नाइटो भन्दा तलको हड्डीको भागमा हुने दुखाईले सतायो।
" १४/१५ हप्तापछि पेल्भिक गर्डल पेनको कारण म हिँड्न पनि नसक्ने भएँ। मलाई यसको बारेमा थाहा थिएन अनि डाक्टरलाई यसको लक्षणहरू कस्तो हुन्छ भनेर भन्न पनि आएन।"
गर्भावस्थामा हिँडडुल गर्न नै गाह्रो भएको अनुभव जमुना अधिकारी रिजालको पनि छ।
तर उनलाई भने साइटिका भनिने शरीरको तल्लो एक भागमा र विशेष गरी खुट्टामा हुने दुखाइ थियो।
उनि भन्छिन्, "घरमा यता उति जानु पर्यो भने चाहिँ श्रीमानले एक साइड बोकेर लैजाने। अलिकति हिँडेपछि चाहिँ केही हुन्थेन तर सुरुमा बसे पछि उठेर हिँड्न नमिल्ने।"
रोजी र जमुना दुबैलाई स्वीमिङ्ग गर्न थालेपछि भने दुखाइबाट राहत मिलेको थियो।
सुष्मिता खत्री खड्काले दुखाइ खासै अनुभव नगरेको भए पनि 'गन्ध लाग्ने' वा सिकनेस भने झेल्नु पर्यो।

"लगभग ५ महिनाको सुरु सम्म पनि केही पनि खान नहुने के पानी मात्र खान हुने अलि अलि नट्स खान हुने। केही खाने कुरा नै खान नहुने भमिट भइहाल्ने।"
जीपी डा सिर्जना शर्माले गर्भावस्थामा दक्षिण पूर्वी एसिया पृष्ठभूमि भएका गर्भवतीहरूमा जेस्टेस्नल डायबिटिजको जोखिम रहने बताएकी छन्।
यस्तो अवस्थामा आमाहरूमा आफूले खाएको कारणले यस्तो भएको हो कि भनेर आफूलाई दोष दिने देखिने गरेकोमा डा सिर्जना शर्मा खाएर मात्र यो अवस्था नआउने भनाइ राख्छिन्।

"म चाहिँ के भन्न चाहन्छु भने, डायबेटिज लाग्यो भन्दैमा तपाईँले केही गरेर लागेको होइन यो।"
उनी थप्छिन्,"त्यसो भन्दैमा जथाभाबी खाएर चाहिने भन्दा बढी मोटाउने त्यस्तो त गर्नु हुँदैन तर खानालाई कन्ट्रोल गरेर मैले धेरै खाएर यस्तो भएको (भन्ने) त्यो चाहिँ होइन।"
डा सिर्जना शर्मा यसका लागी प्रोफेसनल डाइटिसियन को सुझाव लिनु पर्ने बताउँछिन्।
तेस्रो भागबारे:
तीन गर्भावस्थाको अनुभव बोकेका रोजी अर्याल लीज र जमुना अधिकारी रिजालका साथै पहिलो पटक आमा बनेकी सुष्मिता खत्री खड्काले यस भागमा प्रस्तोता द्वय शिखा बस्नेत र सुनिता पोखरेलसँग अनुभव साटेका छन्। त्यस्तै सिड्नीमा जेनेरल प्राक्टिस्नर रहेकी सिर्जना शर्माले गर्भावस्थामा स्वास्थ्य हेरचाहबारे आफ्ना सुझाव राखेकी छन्।
तेस्रो भागमा समेटिएका प्रमुख विषयहरू:
- एकै व्यक्तिमा गर्भावस्था अनुभव भिन्न- भिन्न हुन सक्छ
- स्वास्थ्य समस्याहरू (साइटिका, पेल्भिक गर्डल पेन, जेस्टेस्नल डायबिटिज)
- गर्भपातको अनुभव
- गर्भावस्था सम्बन्धी अस्ट्रेलियामा उपलब्ध हुने सेवाहरू
- गलत डाइग्नोसिसको अनुभव
तेस्रो भाग सुन्नुहोस् : ३. गर्भावस्था: अनुभव र चुनौतीहरू Mum माने आमा पोडकास्टमा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।
भाग ४: अस्ट्रेलियामा भर्खर आमा बनेकाहरूले नेपालबाट पाउने सबै सुझाव लागू गर्न किन सम्भव छैन ?
गर्भावस्था र बच्चा जन्मिएपछि नेपालमा रहेको परिवारका सम्पूर्ण सुझावहरूलाई मान्न गाह्रो लाग्ने अस्ट्रेलियामा आमा बनेका नेपालीहरूको अनुभव छ।
Mum माने आमा पोड्कास्टको चौथो एपिसोडमा हामी नेपालमा बस्ने र भर्खरै आमा भएका हरूलाई पनि सबै सुझाव शत प्रतिशत ठिक लाग्छ त भन्ने बारे चर्चा गर्दै छौं।
गर्भावस्था र सुत्केरी भएको समयमा आफू नजिक नहुँदा आमा र बच्चाको स्वास्थ्यलाई लिएर नेपालमा रहेको परिवार बढी चिन्तित हुने गरेको पाइएको छ।
यस्तो बेलामा टाढा रहेको परिवारले दिन सक्ने भनेको सुझाव मात्र हो तर तिनलाई पछ्याउन सधैं सम्भव नहुने केही नव-आमाहरूले Mum माने आमालाई बताएका छन्।
अस्ट्रेलियामा पहिलो पटक आमा बनेकी ऋचा सिलवाललाई नेपालबाट सुझावहरूको ओइरो नै लागेको थियो।
ती मध्ये धेरै सुझावहरू मानेको भए पनि केही कुराहरूको आधार पत्ता लगाउन नै गाह्रो परेको उनको अनुभव छ।
बच्चालाई टोपी, मोजा र बाक्लो कपडाहरू नलगाइदिएको देख्दा नेपालमा बस्ने परिवारको कुरा संझिदै ऋचा भन्छिन्, "बच्चालाई नाङ्गै हिडा'को छ। मोजा पनि लगाइदिएको छैन, टोपी पनि ला'छैन, आफू पनि बुच्चै भनेको जस्तो कुरा गरिसिन्छ।"
"गर्मी भइराखेको हुन्छ आफूलाई, बाक्लो लुगा कसरी लाउने गर्मीमा?"
अस्ट्रेलियामा बस्ने आमाहरूले नेपालको सुझाव र आफूले पाएको स्वास्थ्य सुझावलाई मिलाएर अगाडी बढेको बताउँदा नेपालमा नै रहेका आमाहरूले कस्तो अनुभव गरेका छन् त?

एसबीएस नेपाली नेपाल संवाददाता सेवा भट्टराई, पहिलो पटक आमा बन्दाको अनुभव साट्दै भन्छिन् कि परिवारसँगै भएका कारण दैनिकीमा धेरै सहयोग पुगेको छ।
आफूले आराम गर्न पनि समय पाएको उनले बताईन्।
सुत्केरी भएको बेला दाँत कमजोर हुने भएकोले दाँत माझ्न हुँदैन भनेको परिवारको सुझावहरू आफूलाई चित्त बुझेको सेवाको भनाइ छ।
"दाँत पनि नमाझ भन्नु भा'को थियो अनि त्यो कुरालाई वास्ता गरिराखेको थिइन। भरे त मैले एकदमै सफ्ट एउटा त्यो छोगडा हुन्छ नि डेट्सहरू एकदमै गिलो खालको, त्यो खाँदा खेरि पनि मेरो त दाँत दुख्यो के।"
तर अरू केही चलनहरू बुझ्न गाह्रो भएको उनको भनाई छ ।
"कुन बार नयाँ लुगा लगाई दिने, छोरीलाई बाहिर लिएर हिँड्दा कुन बार चाहिँ लिएर हिँड्न हुन्छ, कता फर्काएर सुताउनु पर्छ…यस्ता कुराहरूको आधार मैले पाइन।"
साथै नेपालमा गर्भवतीहरूको मानसिक स्वास्थ्यलाई लिएर खासै चासो नराखिने र श्रीमानहरूको सक्रिय भूमिकालाई पनि धेरै जोड नदिने परम्परा हावी रहेको बताउँछिन्।
"प्रि-पार्टम चाहिँ मलाई धेरै गाह्रो भा थियो, आफ्नो मेन्टल हेल्थको हिसाबले। त्यसको बुझाइ चैँ मैले मेडिकल सिस्टम अथवा फेमिली सिस्टमबाट खासै पाइन तर आफ्नो समकालीन साथीहरूबाट चाहिँ पाए मैले।"
सिड्नीमा जेनेरल प्राक्टिस्नरका रूपमा कार्यरत डा सिर्जना शर्मा भने आफन्तजनले राम्रो अभिप्रायले नै यस्ता सुझावहरू दिने गरेको भए पनि, गर्भवती र सुत्केरी स्याहारमा विज्ञानले पुष्टि गरेको तरिकालाई पछ्याउनु पर्नेमा जोड दिन्छिन्।
अस्ट्रेलियामा बच्चालाई धेरै गुम्स्याएर राख्न नहुने भन्ने बुझाईका कारण धेरै तहका लुगा नलाउने चलन रहेको उनले बताइन्।
त्यस्तै एक वर्ष मुनिका बच्चालाई गाईको दूध खुवाउने चलन स्वास्थ्यका दृष्टिकोणले राम्रो नभएको पनि डा शर्माको भनाई छ।

"१२ महिनाको नानी नभएसम्म हामीले काउ मिल्क, एलर्जी हुने जोखिम एकदम धेरै भा'को भएर, यो इन्करेज गर्दैनौँ र खानु हुँदैन नै भन्छु म पनि।"
साथै नेपालमा पास्नीमा मह चटाउने चलन पनि स्वास्थ्यकर्मीहरूले नसुझाउने उनले Mum माने आमा पोड्कास्टलाई बताइन।
चौथो भागमा समावेश गरिएका विषयहरू:
- आमाको मन्जुरीलाई कतिको प्राथमिकता दिइन्छ?
- नव-आमाको मानसिक स्वास्थ्यलाई लिएर रहेको धारणा
- स्वास्थ्य प्रणाली र सेवाहरू कत्तिको सहयोगी छन्
- सुत्केरी र नवशिशुको स्याहार तरिका
- परम्परागत चलन मान्ने कि स्वास्थ्य सुझाव लिने?
चौथो भाग सुन्नुहोस्: ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव Mum माने आमा पोडकास्टमा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।
भाग ५: पहिलो पटक बच्चासँगको भेट सबै आमाका लागि के जादुमय हुन्छ?
लगभग नौ महिनाको प्रतीक्षा पश्चात् आफ्नो बच्चालाई पहिलो पटक छातीमा टसाउँदाको त्यो समयमा सबै आमाले स्वर्गीय आनन्दको अनुभव नगर्ने Mum माने आमाका सहभागीको भनाइले स्पष्ट पारेको छ।
गर्भावस्था सजिलो होस् वा कठिनाइपूर्ण बच्चा जन्मने त्यो क्षणलाई प्राय आमाहरूले व्यग्रताका साथ पर्खिएका हुन्छन्।
तर के त्यो समय सबैका लागी जादुमय हुन्छ त ?

Mum माने आमा पोड्कास्ट शृङ्खलाको पाँचौँ भागमा यसका साथै अस्पताल जाने तयारी र बच्चा जन्मिए पछि सामान्यतया अस्पतालमा हुने प्रक्रियाहरूका बारेमा चर्चा गरिएको छ।
तीन बच्चाकी आमा जमुना अधिकारी रिजालले पहिलो बच्चा जन्मँदा लामो सुत्केरी बेथा र ईपिसिओटमी (आमालाई बेथा लागेको बेला योनी र मलद्वार बिचको स्थानलाई चिर्नुपर्ने एक प्रकारको शल्यक्रिया) पश्चातको दुखाइ रहे पनि बच्चालाई काखमा लिएपछि ''आनन्द'' लागेको बताइन्।

तर तेस्रो बच्चा जन्मिएको समयमा अनुभव अलि फरक रह्यो, उनी भन्छिन्।
"सेकेन्ड पनि मलाई राम्रै खुसि नै लाग्यो तर यो थर्ड चाहिँ यति गाह्रो भयो कि मैले हेर्दै हेरिन त्यो (बच्चालाई छातीमा) राखिदिँदा पनि।"
रोजी अर्याल लीजले पनि बच्चा जन्मी सकेपछि राहत महसुस भएता पनि बच्चासँग तत्कालै भने सामिप्यता महसुस नभएको सम्झिइन्।
उनी भन्छिन्,"बच्चालाई छातीमा राखिदिए। अनि हामीलाई बच्चाको जेन्डर पहिले नै थाहा थिएन, त्यसैले मेरो श्रीमानले आएर मलाई त जेन्डर थाहा भयो भन्दा पनि मलाई चाहिँ ह्या मलाई मतलब छैन भन्ने जस्तो भएको थियो।"
बच्चा जन्मिए पछि सबै जना खुसीले रोए पनि आफू भने नरोएको रोजीको भनाइ छ।

"मलाई (त्यति बेलाको) सबैभन्दा कडा सम्झना बच्चाको नभएर एउटा नर्सले मलाई निकै गुलियो तातो चिया स्ट्रबाट खान दिएकी थिइन् भन्ने रहेको छ।"
थकानका कारणले गर्दा त्यस्तो भएको हुनसक्ने अनुमान उनी गर्छिन्।
मेलबर्नकी सुष्मिता खड्का खत्रीले पहिलो पटक आफ्नो छोरालाई देख्दा गर्भावस्थाका अप्ठ्यारा, सुत्केरी बेथाको पिडा सबै बिर्सिएर आनन्दको सास फेरेको Mum माने आमालाई बताइन्।
सबले त्यै मोमेन्ट होल्ड गरेर बसेको हुन्छ नि त कति बेला बच्चा बाहिर आउँछ भनेर।
बेथा लागेको समयमा बच्चाको मुटुको धड्कन कम भएका कारण सबै जना चिन्तित भएको सुष्मिता सम्झन्छिन्।

तर बच्चा स्वस्थ जन्मिए पछि भने आफूहरूलाई निकै खुसी लागेको उनले बताइन।
"बच्चा जन्मी सकेपछि बच्चालाई होल्ड गरे। त्यो मोमेन्ट इन्जोय नै गरिराखेको थिएँ हाँसी-हाँसी नै तर मेरो थर्ड डिग्री टेयर भएको भएर त्यो सुचरिङ्ग पार्ट चाहिँ एकदमै गाह्रो भा'को थियो।"
विज्ञको सुझाव
बच्चा जन्मी सकेपछि एउटा चुनौती सकिए पनि धेरै आमाहरूले भर्खर जन्मिएको बच्चाको स्याहारलाई लिएर चिन्ता व्यक्त गरेको पाइन्छ।
भर्खर जन्मिएको बच्चामा देखिने केही स्वास्थ्य समस्याहरू र यसको स्याहारका बारेमा मेलबर्नबाट बाल स्वास्थ्य कै क्षेत्रमा कार्यरत डाक्टर रिजा खनालले आफ्नो सुझाव दिएकी छन्।

Mum माने आमासँग कुरा गर्दै उनले आमाको दूध चुसाउन देखिने समस्या, जन्डिस, सुगर लेभल कम हुने लगायतका विषयमा कुरा गरेकी छन्।
आमाको दूध खुवाउँदा बच्चा अघाएको छ कि छैन भनेर कसरी थाहा पाउने भन्ने जिज्ञासामा उनी भन्छिन्, "जब बच्चाले ब्रेस्टफीड गर्न छोड्छ, फोर्स नगर्ने के बच्चालाई मलाई लाग्छ बच्चाको अनुसार चल्नु नै ठिक हुन्छ। "
त्यस्तै नवजात शिशुको स्याहारलाई लिएर अस्ट्रेलियाका अस्पतालमा नै उपलब्ध हुने सेवाहरूमा बच्चाको हियरिङ्ग टेस्ट पनि पर्दछ।
बच्चाले आवाजहरूमा कत्तिको प्रतिक्रिया जनाउँछ भन्ने जाँच किन आवश्यक छ भन्ने सम्बन्धमा नेपालमा स्पीच थेरापिस्टका रूपमा काम गरेकी र अस्ट्रेलियामा पनि सोही क्षेत्रमा पढाइ सकाएकी आस्था कोइरालाले बताएकी छन्।
"उनीहरूको (नवजात शिशुहरूको) जन्मिए देखि नै कम्युनिकेसन सुरु हुने भएकोले छुँदा खेरि हात हल्लाउँछ कि हल्लाउँदैन, रेस्पोन्स कस्तो छ, उसको जुन रेफ्लेक्सहरू हुन्छ हाम्रो स्पीच प्याथोलोजिस्टहरूले चाहिँ रिफ्लेक्सहरू टेस्ट गर्नुहुन्छ।"

उनका अनुसार अडियोलोजिस्टसँगको सहकार्यमा बच्चाले कान सुन्छ कि सुन्दैन भनेर गरिने जाँच, र बच्चाहरूको प्रतिक्रियाको जाँच पछि सम्मको वृद्धि विकासका लागी महत्त्वपूर्ण हुने गर्दछ।
पाँचौँ भागमा समावेश गरिएका विषयहरू:
- अस्पताल जाने तयारी र हस्पिटल ब्यागमा के कस्ता कुराहरू राख्ने
- सुत्केरी बेथाका अनुभव
- बेथा लागेको बेला दुखाइ कम गर्ने औषधि लिने बारेको निर्णय
- बच्चालाई पहिलो पटक देख्दाको अनुभव
- नवजात शिशुले कान सुन्ने नसुन्ने साथै उसको प्रतिक्रियाको जाँच
- सुरुवाती दिनहरूमा बच्चामा देखिने समस्याहरू (जन्डिस, सुगर लेभल कम हुने, दूध चुसाउन समस्या )
पाँचौँ भाग सुन्नुहोस्:
भाग ६: अटिज्मको डाइग्नोसिस हेर्दा बेहोस जस्तै भएको अस्ट्रेलियाकी नेपाली आमाको अनुभव
मेलबर्नकी पारु सापकोटा आफ्नो बच्चालाई अटिज्म छ भनेर डाक्टरहरूले बताउँदा, आफूलाई उक्त कुरा स्विकार्न केही समय लागेको भनाइ राखेकी छिन्।
Mum माने आमा पोडकास्ट श्रृङ्खलाको छैटौं भागमा आफ्नो मातृत्वको अनुभव सुनाउने क्रममा उनले आफ्नो बच्चामा केही अटिज्मको लक्षणहरू देखिए पनि त्यो अवस्थालाई स्विकार्न गाह्रो भएको बताएकी हुन्।
आफ्नो छोरीको जाँच गरेर अन्त्यमा डाइग्नोसिसको कागज दिँदा आफूले होस् नै गुमाएको सम्झँदै उनी भन्छिन्, "बिहानदेखि बेलुकासम्म जाँच भइराखेको थियो। अनि एउटा ठुलो पेपर थियो। अनि त्यो पेपर हेरेपछि ... म फेन्ट भएँ कि जस्तो लाग्छ है।"
केही दिन पश्चात् उनले आफूलाई सम्हालेर यो यथार्थलाई स्विकार्ने निर्णय गरेको बताउँछिन्।

अहिले छोरीको हेरचाहमा ध्यान केन्द्रित गरेकी पारु अटिज्मबारे एक अर्काको अनुभव साटासाट गरेर थप हौसला र जानकारी पाउन सजिलो हुने विश्वास व्यक्त गर्छिन्।
सिड्नीमा बस्ने मिरा यादव छोराले बोलाउँदा पनि नसुन्ने र प्रतिक्रिया नदिने लगायत उनको उमेर समूहका बच्चाले गर्ने व्यवहार भन्दा फरक देखेपछि अटिज्मबारे अध्ययन गर्न थालेको अनुभव सुनाउँछिन्।
"(अटिज्मबारे) रिसर्च गर्दा जे पनि (छोराको व्यवहारमा) लागु हुन्छ। स्पेसलिस्टलाई देखाउँदा खेरि चाहिँ उनीहरूले फेरी नभन्ने रै'छ कन्फर्म नहुँदा खेरि।"

यादवलाई आफ्नो जेठो छोरा मानिसहरूसँग र विशेष गरी आफ्नो भाइसँग घुलमिल नभएको देख्दा चिन्ता लाग्न सुरु भएको थियो।
उनी भन्छिन् एकान्तमा बस्ने र आफ्नै धुनमा रहने छोराका केही गतिविधिहरूले उनमा अटिज्म हो कि भन्ने आशङ्का पैदा भयो।
डाइग्नोसिसका लागी प्रक्रिया अघि बढाइन् तर लामो समयको पर्खाइ पश्चात् पनि आफ्नो पालो नआउँदा उनी दिक्दार भएकी छन्।
"यसो बच्चा हेर्यो र ल न त प्रोसेसमा जाऊँ न त (भन्यो), त्यहाँ देखि प्रोसेस भा'को एक डेढ वर्ष भइसक्यो अहिलेसम्म प्रोसेस(मा) छ।"
मिरालाई अस्ट्रेलियामा सेवा र सुविधा भए पनि प्रक्रियामा ढिलाइ हुँदा यदि अटिज्म नै हो भने सोही अनुरूपको स्याहार वा इन्टरभेन्सनमा ढिलाइ हुने हो कि भन्ने चिन्ता छ।
स्पीच थेरापीको अध्ययन अस्ट्रेलियाबाट गरिसकेकी आस्था कोइराला यो प्रक्रियामा धेरै क्षेत्रका विज्ञहरूसँग सहकार्य गर्नु पर्ने भएका कारण पनि यति लामो समय लाग्ने बताउँछिन्।
"मुख्यतया १८ महिना देखि ३ वर्ष सम्म यसको डाइग्नोसिस हुन लाग्छ। र यो मल्टिडिसिप्लिनरी टिमले काम गर्ने भएको भएर यसको डाइग्नोसिस हुन पनि टाइम लाग्छ।"

डा रिजा खनाल सरकारी माध्यमबाट डाइग्नोसिस गर्ने प्रक्रियाका लागी केही समय पर्खनु पर्ने बताउँछिन्।
तर निजी बिमा भए पनि निजी माध्यमबाट जान खोज्दा भने आफूले तिर्नु पर्ने रकम धेरै नै हुने गरेको उनको भनाइ छ।
तर उनी डाइग्नोसिसको लागी हतार भएकाहरूले केही सरकारी र केही निजी माध्यमबाट पनि जान सकिने बताउँछिन्।
"१,२ कन्सल्ट प्राइभेट्ली पिडियाट्रिसियनलाई आउट अफ पकेट तिरेर जब सम्म आफ्नो पब्लिक सर्भिसेस (सरकारी स्वास्थ्य सेवा प्रदायक)मा नाम आउँदैन त्यस्तो गर्दा पनि हुन्छ।"
छैठौँ भाग सुन्नुहोस्: ६. बच्चामा अटिज्म स्पेक्ट्रम डिसअर्डर Mum माने आमा पोड्कास्ट मा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ। ।
छैठौँ भागका बारेमा:
Mum माने आमाको छैठौँ भागमा मेलबर्न निवासी पारु सापकोटा लगायत आफ्नो बच्चामा अटिज्मको आशंका लागे पछि त्यसको डाइग्नोसिसको लागी पर्खेर बसेकी सिड्नी निवासी मिरा यादवले आफ्ना चिन्ता खुलेर बताउन किन आवश्यक छ भन्नेबारे आफ्नो अनुभव राखेकी छन्।
अटिज्म स्पेक्ट्रम भनेको के हो र के कस्ता लक्षण देखिए पछि सहायताका लागी प्रक्रिया अगाडी बढाउँदा ठिक हुन्छ भन्ने बारे बाल स्वास्थ्यको क्षेत्रमा नै कार्यरत रिजा खनाल र नेपालमा स्पीच थेरापिस्टका रुपमा काम गरि सकेकी र अस्ट्रेलियामा पनि सोहि विषयको अध्ययन गरेकी आस्था कोइरालासँगको कुराकानी पनि राखिएको छ।
यस भागमा समावेस गरिएका विषयहरू:
- अटिज्म स्पेक्ट्रम डिसअर्डर भनेको के हो र अस्ट्रेलियामा सहायताका लागी के कस्ता सुबिधाहरू रहेका छन्
- के कस्ता लक्षणहरू देखिए विशेषज्ञको राय लिनुपर्छ
- अटिज्म डाइग्नोसिस प्रक्रिया लामो हुँदा, धेरै ढिला हुने हो कि भन्ने चिन्ता
- अटिज्मलाई लिएर समुदायमा रहेको हिच्किचाहट कस्तो छ
- अटिज्म भएका बच्चाको स्याहार कसरि गर्ने
भाग ७ : बच्चालाई खाना खुवाउनदेखि टोइलेट ट्रेनिङसम्म: अस्ट्रेलियाका नेपाली आमाका अनेकौँ चिन्ताहरू
प्रथम शिक्षिकाका रूपमा आमाको सङ्घर्ष बालबालिका नहुर्केसम्मै जारी रहने Mum माने आमा पोड्कास्टका सहभागीहरूको अनुभव रहेको छ।
बच्चा जन्मिने बित्तिकै केही आमाहरू बच्चालाई आफ्नो दूध खुवाउन नसक्दा चिन्तित हुने गरेको पाइन्छ।
आमाको दूध बच्चाको लागी पहिलो प्राथमिकतामा रहने गरे पनि सबै आमाहरूका लागी यो सम्भव नहुन सक्छ।
यस्तो समयमा आमाहरूले आफूलाई दोष दिन नहुने डा रिजा खनालको भनाइ रहेको छ।
Mum माने आमासँग कुरा गर्दै उनले बच्चा जन्माउने बित्तिकै आमाको दूध आउनु नै पर्छ भन्ने नहुने बताएकी छिन्।

"प्रत्येक आमाहरूको आफ्नै जन्मसँग सम्बन्धित कथा हुन्छ, बच्चा पाउँदा फ्लुइड नपुगेको हुन सक्छ, अरू स्वास्थ्य समस्या हुन सक्छ। यो एकदम जटिल (विषय) हो।"
कति आमाहरूलाई बच्चा जन्मिए पछि देखिने डिप्रेसनका कारण पनि दूध चुसाउन निरन्तर प्रयास गरी रहन गाह्रो हुने उनको बुझाई छ।
तर यस्तो अवस्थामा फर्मुला बच्चाहरूको लागी सुरक्षित विकल्प भएको खाद्य विशेषज्ञ क्रिष्टिना थापा बताउँछिन्।
"यदि ब्रेस्ट फीड गराउन सक्नु हुन्न भने फर्मुलामा बेबीको ग्रोथको लागी चाहिने सबै पौष्टिक तत्त्व, मिनिरल, भिटामिन त्यसमा हुन्छ र छ महिनासम्म कि आमाको दूध कि त फर्मुला खुवाउनु नै सबैभन्दा उत्तम विकल्प हो बच्चाको वृद्धि विकासको लागी।"

त्यति मात्र होइन छ महिना पछि बच्चालाई खाना खुवाउन थाले पछि पनि ठुलै चुनौतीहरू आउने सहभागीहरूको बिचार छ।
बच्चालाई आफैँ खान दिने कि खुवाउने, के गर्दा ठिक हुन्छ ? आफ्नो अवस्था र सहजतालाई हेरेर काम गर्ने गरेको एक छोराकी आमा क्रिष्टिना थापा बताउँछिन्।
"(मलाई) खुवाउने भन्ने बित्तिकै दिक्क लाग्ने। ९९ % म उसलाई नै खान दिन्छु उसले एक दुई चम्चा खुवाई दे भन्यो भने मात्र हो।"
सुष्मिता खत्री खड्कालाई भने आफ्नो छोरालाई खुवाउन खासै समस्या छैन।
"सुरुमा अलिकति गाह्रो नै भएको थियो। अहिले त उसले जे कुरा दिए पनि इन्जोय गर्छ।"
तर उनलाई टोइलेट ट्रेनिङ चाहिँ कसरी सुरु गर्ने भन्ने लागिरहेको छ।

डा रिजा खनाल टोइलेट ट्रेनिङलाई लिएर बच्चालाई धेरै दबाब नदिन सुझाउँछिन्।
यसले गर्दा बच्चामा टोइलेट भन्ने बित्तिकै जान नमान्ने र अन्य स्वास्थ्य समस्या आउन सक्ने पनि उनको भनाइ छ।
"१ वर्षमा १ मिनेट २ वर्षमा २ मिनेट गर्दै दैनिक टोइलेटमा बसाउने बानी लगाउने। एकदम अपसेट भएर उसलाई (बच्चालाई) झन् प्रेसर भयो भने चैँ कन्स्टिपेसन हुने, रोकेर राख्ने, टोइलेट जान नमान्ने त्यस्तो पनि हुन सक्छ।"

सातौँ भाग सुन्नुहोस्: ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती Mum माने आमा पोड्कास्ट मा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुति भने यहाँबाट सुन्न सकिन्छ।
यस भागका बारेमा:
Mum माने आमाको सातौँ भागमा क्रिष्टिना थापा, रोजिना महर्जन र सुष्मिता खत्री खड्काले आफ्नो बच्चालाई प्रथम शिक्षिकाको रूपमा बच्चालाई ब्रेस्टफीड गर्न देखि टोइलेट ट्रेनिङ गराउने सम्मको सिकाउने यात्रामा भोगेका अनुभव सुनाएका छन्।
क्रिष्टिना थापा जो आफै खाद्य विशेषज्ञ हुन्, उनले फर्मुला बच्चाको लागी कस्तो हुन्छ भन्ने बारे बताएकी छिन्।
त्यस्तै बाल स्वास्थ्यको क्षेत्रमा कार्यरत डा रिजा खनालले यसरी बच्चाहरूलाई कुनै नयाँ कुरा सिकाउँदाके कस्ता कुराहरूमा ध्यान दिने भन्ने बारे सुझाव दिएकी छिन्।
सातौँ भागमा समावेश गरिएका विषयहरू:
- आमाको दूध खुवाउन सबैका लागी सम्भव हुँदैन, विकल्प के त ?
- बच्चालाई खाना खुवाउन सुरु गर्दा ध्यान दिनु पर्ने कुराहरू
- टोइलेट ट्रेनिङलाई लिएर आमाहरूको चिन्ता
- सुत्ने ट्रेनिङ (सँगै सुत्ने कि छुट्टै ?)
- नेपाली भाषा सिकाउँदा बच्चामा भाषालाई लिएर द्विविधा हुन्छ ?
भाग ८ : अस्ट्रेलियामा सुत्केरी भएर बिदा बस्दा आर्थिक तनाव, काममा फर्किँदा पनि चुनौती
सुत्केरी बिदामा कार्यस्थल एवं सरकारबाट पाउने सुविधा अस्ट्रेलियामा बस्ने सबैले प्रयोग गर्न नपाउने र काम गर्छु भन्दा पनि आफ्नै किसिमका अफ्ठ्याराहरू हुने केही नेपाली नव-आमाहरूले मम् माने आमा पोडकास्टलाई बताएका छन्।
अस्ट्रेलियामा सुत्केरी बिदामा बस्दा नव-आमाहरूका लागी विभिन्न आर्थिक सहायता उपलब्ध त रहेका छन् तर विविध कारणले ती सुविधाहरू सबैले प्रयोग गर्न नपाउने केही नेपालीभाषी महिलाहरुको भनाई छ।
सुष्मिता खत्री खड्काका अनुसार काम नगरी बच्चाको स्याहारमा बसेको बेला आर्थिक तनाव झेल्न तयार हुनु पर्छ।
पीआर पाए पछि निश्चित समयसिमाको मापदण्ड पुरा हुनु पर्ने लगायतका योग्यताहरूको कारण भर्खरै आमा बनेकाहरूले पाउन सक्ने सरकारी भुक्तानीहरू उनले सुरुवातको केही समय पाउन नसकेको उनले Mum माने आमालाई बताएकी छिन्।
उनी भन्छिन् त्यस समयमा कुनै आय नहुँदा निकै गाह्रो भएको थियो।
"हामी बाहिर छौँ अनि हामीले ब्याक होम (नेपालको परिवारलाई) पनि हेर्नु पर्यो भने पछि त त्यो इम्याजिन नै नगर्न सक्ने सिचुएसन आउँछ।"

आर्थिक भार कम गर्न सुष्मिताले घरबाटै आफ्नो एक व्यवसायको थालनी गरेको बताएकी छिन्।
काममा फर्कने समय आएसँगै बच्चालाई चाइल्ड केयरमा राख्ने निर्णय पनि तनावयुक्त हुने कुरा केही अन्य नेपाली पृष्ठभूमिका महिलाहरूले मम् माने आमासँग बाँडेका छन्।
बच्चालाई चाइल्ड केयरमा पहिलो पटक छोड्ने निर्णय सहज नभए पनि त्यसमाथि समाजबाट आउने प्रश्नहरूले परिस्थितिलाई झन् जटिल बनाउने गरेको अनुभव उनीहरूको छ।
काममा पुरा समय काममा फर्कने सोचका साथ छोरालाई पाँचै दिन चाइल्ड केयरमा राख्ने निर्णय गर्दा, कतिपयले आश्चर्य व्यक्त गरेको क्रिस्टिना थापाको भनाई छ।

उनी भन्छिन्, "सबै जनाले हुन्छ नि नेपालमा चाइल्ड केयर (राख्ने) भनेपछि बिचरा भन्ने अनि अब ओहो! लौ न पाँचै दिन राख्ने र त्यत्रो सानो बच्चा ? भनेर सुनेको भएर.… सुरुवातमा चैँ मलाई अब त्यो प्रेसर, एङ्गजाइटी (हुन्थ्यो)।"
बाहिर सुनिने नकारात्मक कुराहरूले गर्दा भर्खरै आमाबाबू बनेकहरूलाई चाइल्ड केयरलाई लिएर धेरै चिन्ता हुने गरेको उनको बुझाइ छ।
दिन रात आफूले हेरिराखेको बच्चा अरूको भरमा छोडेर जाने निर्णय लिन गाह्रो हुनु स्वाभाविक भए पनि, डा रिजा खनालको बिचारमा भने यसलाई आफ्नै उमेर समूहका अन्य बच्चाहरूसँग घुलमिल भएर धेरै कुरा सिक्ने अवसरका रूपमा हेर्नुपर्छ।
"अरू सकारात्मक प्रभावहरू हुन्छ, चाइल्ड केयरमा गएर अरू बच्चाहरूसँग सोसियलाइज गर्ने, अरू एडल्टहरूसँग बन्डहरू फर्म गर्ने।"
उनका अनुसार सुरुवातका दिनमा बच्चाहरूलाई चाइल्ड केयरको वातावरणमा रमाउन केही गाह्रो हुने भए पनि केही घण्टाबाट सुरु गरेर बिस्तारै त्यो समय बढाउँदा अभिभावक र बच्चाको लागी पनि सजिलो हुन्छ।
ऋचा सिलवालले छोरी ६ हप्ताको हुँदा देखि नै काममा फर्कने निर्णय गरेकी थिइन्।
भिसा अवस्थाका कारण निकै गाह्रो मानेर काममा गएकी उनले भनिन्, "ब्रेस्टफीडिङ मदर, कहिले काहीँ (ब्रेस्ट मिल्क) लिकेज हुन्थ्यो। काममा कहिले कहिले त मेरो युनिफर्म मै देखिन्थ्यो।"
त्यति बेला आफ्नो बच्चाले त्यो दूध खान पाएको भए हुन्थ्यो जस्तो आफूलाई लाग्ने उनले मम् माने आमा पोडकास्टलाई बताएकी छिन्।
साथै ऋचाले त्यो समयमा आफूले ठिक गरी राखेको छैन कि भन्ने जस्तो प्रश्न आउने गरेको समेत बताइन्।
"ब्रेस्ट फीडिङ बेबीलाई अब दूध नदिँदा खेरि चाहिँ आफू काममा हिँड्दा एकदमै आफूले नेग्लिजेन्स गरेको हो कि जस्तो फिल हुन्छ।"
Mum माने आमाकी अर्की सहभागी मिरा यादवलाई भने समाजले एक आमा माथि औँला उठाउने सामाजिक दृष्टिकोण पटक्कै मन नपर्ने धारणा व्यक्त गरिन्।
उनी भन्छिन् अनेकौँ तनावबाट गुज्रिएका आमाहरूको स्याहारलाई लिएर प्रश्न उठाउनु भन्दा सुझावहरू दिए त्यो सहयोगी हुन्छ।
उनले भित्री सङ्घर्ष नबुझेकाहरूले सामाजिक सञ्जालमा राखेको फोटो हेरेर आफ्नो बारेमा धारणा बनाउनु उपयुक्त नभएको बिचार राखेकी छिन्।

"म आमा हो मैले उसलाई (बच्चाको स्याहारमा) कति प्रयास गरेको छु त्यो मलाई थाहा छ नि तिमीले आएर मलाई भनी राख्नु पर्दैन टर्चर दिई राख्नु पर्दैन, म धेरै कुराहरूबाट गुज्रिरहेको छु।"
आठौँ भाग सुन्नुहोस्: ८. काम र बच्चा स्याहारको सन्तुलन Mum माने आमा पोड्कास्ट मा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुति भने यहाँबाट सुन्न सकिन्छ।
आठौँ भागका बारेमा:
दुई बच्चाकी आमा मिरालाई उनको बाहिरी आवरणलाई हेरेर "ओहो! कस्तो राम्रो जीवन छ है" भनेर सोच्ने धेरै भए पनि आफ्नो मानसिक तनावका बारेमा कसैले पनि चासो नराखेको अनुभव छ।
Mum माने आमा पोड्कास्ट शृङ्खलाको आठौँ भागमा नव आमाहरूले सुत्केरी बिदामा बस्दा र काममा फर्किदा झेल्नु पर्ने चुनौतीहरूका बारेमा चर्चा गरिएको छ।
यस भागमा नव आमाहरू क्रिष्टिना थापा, सुष्मिता खत्री खड्का, मिरा यादव र ऋचा सिलवालले आफ्ना अनुभवहरू राखेका छन्। साथै डाक्टर रिजा खनालले बच्चालाई चाइल्ड केयरमा राख्दा अभिभावकहरूमा देखिने चिन्ताका बारेमा केही सुझावहरू दिएकी छिन्।
यस शृङ्खलामा प्रस्तुत मुख्य विषयहरू:
- सुत्केरी बिदामा आय श्रोत घट्दा पर्ने आर्थिक भार
- सुत्केरी स्याहारका लागी बुवाले पाउने बिदा पनि पर्याप्त छैन
- सानो बच्चा घरमा छोडेर काममा फर्किएका आमाका अनुभव
- बच्चालाई स्याहार केन्द्रमा राख्ने निर्णय र चिन्ताहरू
- बाल स्याहार केन्द्रमा राख्दाका सकारात्मक पाटो
- बच्चाको स्याहारलाई लिएर आमाहरूमाथि प्रश्न उठाइने व्यवहार
भाग ९ : आइभीएफको अनुभाव बाँड्ने अस्ट्रेलियाका नेपाली आमाहरू भन्छन् ‘यो प्रक्रियाबाट सन्तुष्ट छौँ’
चार वर्षदेखिको बच्चा जन्माउने योजना सफल नहुँदा निराश बनेकी रोजिना महर्जन आफ्नो श्रीमानका साथमा अस्ट्रेलिया आए पछि सोचे अनुसार नै जीवन अगाडी बढिरहेको बताउँछिन्।
उनि भन्छिन्, "अस्ट्रेलिया आएको पनि धेरै वर्ष भई सकेको थियो। अब पिआर पाइयो, स्टडी सकियो, घर सर पनि जे होस् भयो हैन त्यस पछि चाहिँ बच्चाको प्लान गर्ने भन्ने प्लान भयो।"
तर एक वर्ष प्रयास गर्दा पनि बच्चा बस्न गाह्रो भए पछि चिकित्सक कहाँ गएका उनीहरूलाई छ महिना भन्दा बढी प्रयास गर्दा भएन भने विशेषज्ञकहाँ रिफर गरिने कुरा थाहा भएको रोजिनाले Mum माने आमालाई बताइन्।
"त्यहाँ ब्लड टेस्टहरू र अल्ट्रासाउण्ड स्क्यानहरू गर्यो र त्यहाँ चाहिँ मलाई पोलिसिस्टीक ओभरी छ भनेर थाहा भयो।"
उनी भन्छिन्, यो अवस्थाका कारण महिनावारी समयमा नहुने र बच्चा बस्न पनि गाह्रो हुने उनले थाहा पाइन्।

त्यस पछि समयमा अण्डा उत्पादन गर्न सहयोग पुर्याउने औषधि खाए पनि बच्चा बस्न नसकेपछि रोजिना आफूलाई डिप्रेसन जस्तै भएको अनुभव सुनाउँछिन्।
विभिन्न जाँच र सरकारी माध्यमबाट आइभीएफको प्रक्रियामा जाँदा पर्खनु पर्ने समय लामो हुने हुँदा ४ वर्ष निराशामा नै बितेको उनको भनाइ छ।
बच्चा पाउने रहर समय बितेसँगै झन् बढी रहँदा साथी भाइको बच्चाहरू देख्दा आफ्नो अवस्था झन् टिठ लाग्दो लाग्ने गरेको उनले बताइन्।
"बाटोमा सानो बच्चा हिँडेको देख्दा पनि आफूलाई एकदम पेन फील हुने क्या,… आफूले आफैँलाई कत्ति सरी फील हुने।"
पहिलो चरणको औषधि प्रयोग प्रभावकारी नभए पछि चिकित्सकहरूले यही प्रक्रियालाई निरन्तरता दिने बताए पनि उनले भने आइभीएफमा जाने निर्णय गरिन्।
पहिले यो प्रक्रिया निकै महँगो हुन सक्ने सुनेकी उनलाई निकै न्यून शुल्कमा यो सम्भव भएको थाहा पाउँदा भने आश्चर्य लागेको थियो।
"पन्ध्र सय डलर भन्दा बढी चाहिँ लागेन मलाई यो आइभीएफ गर्दा तर प्रोसेस चाहिँ अलिकति ढिला (भयो) किनभने यो गभर्मेन्ट सिस्टममा गए पछि वेटिङ पिरियड चैँ हुँदो रहेछ। मैले ३ महिना वेट गरेँ।"
तर सृजना राईको लागी भने यो प्रक्रिया तुलनात्मक रुपमा रोजिनाको भन्दा महँगो नै रह्यो।
समलिङ्गी सम्बन्धमा रहेकी सृजनालाई भने डोनर स्पर्म लिनु पर्ने भएको र आइभीएफ तयारीका लागी आफू सँगै आफ्नो पार्टनर पनि लाग्नु पर्ने भएकाले उनले केही बढी रकम तिर्नु परेको Mum माने आमालाई बताइन्।
उनी भन्छिन्, "हामी सेम सेक्स कपल भा'को हुनाले मेरोबाट एग झिकेर कसैको स्पर्म झिकेर मिक्स गरेर मेरो पार्टनरको (गर्भ)मा (राख्ने) गर्दाखेरि चैँ डबल प्रोसेस हुन्छ र अटोमेटिकल्ली पैसा पनि डबल भएर जाने हुन्छ।"

दुई बच्चाकी आमा सृजना र उनकी पार्टनर ट्रेसी मामोले पहिलो सन्तानको लागी सृजनाको अण्डाशयबाट निकालिएको परिपक्व अण्डा र दाताको शुक्राणुलाई मिलाएर बनेको भ्रूणलाई ट्रेसीको गर्भमा राखिएको थियो र सोही दाताको शुक्राणु दोस्रो पटक भने ट्रेसीको अण्डासँग मिलाएर सृजनाको गर्भमा राखिएको हो।
उनका अनुसार यो प्रक्रियामा जाँदा फर्टीलिटि केन्द्रमा नै दाताहरूको शुक्राणु राखिएको हुने र त्यस मध्येबाट एक आफूहरूलाई छान्न दिइएको थियो।
"(डोनरहरूको) उमेर चैँ हुन्छ नाम हुँदैन, फोटो हुँदैन त्यो बाहेक उहाँहरूको मेडिकल हिस्ट्री, फेमिली हिस्ट्री, फर्स्ट जेनेरेसन, सेकेन्ड जेनेरेसन त्यो सबै मेन्सन गरेको हुन्छ।"
तर दाता शुक्राणु प्रयोग गरेर जन्मिएका बच्चाले १८ वर्षको उमेर पुगेपछि भने दाताको बारेमा जान्न पाउने अधिकार अस्ट्रेलियाको कानुनमा सुरक्षित भएको सृजना राईको भनाइ छ।
यही कुरालाई समर्थन गर्छिन् सिड्नीको लिभरपूलमा रहेको एक फर्टीलिटि केन्द्रमा कार्यरत स्त्री रोग विशेषज्ञ तथा फर्टीलिटि विज्ञ सीमा मोहिउद्दिन।

दाता शुक्राणुको सम्बन्धमा सृजना राईले भनेको जस्तै डोनर को हो भनेर थाहा नपाए पनि उसको मेडिकल हिस्ट्री अनि शारीरिक बनावट लगायतका बारेमा थाहा दिइने उनले बताइन।
साथै बच्चाले १८ वर्ष पुगेपछि डोनरबारे थाहा पाउने अधिकार सुनिश्चित गरिएको उनको भनाइ छ।
आइभीएफ प्रक्रियाको बारेमा भने उनले जीपीबाट रिफेरल पाए पछि सुरुमा विभिन्न स्वास्थ्य सम्बन्धी जानकारी, उमेर, कुनै लतहरू रहेको र औषधि लिएकोबारे बुझिन्छ।
र त्यसपछि भने स्वास्थ्य जाँच प्रक्रिया अगाडी बढ्छ।
"त्यसपछि दुवैको ब्लड टेस्टहरू गरिन्छ जसमा एग रिजर्भ, हार्मोन, जेनेटिक्स, इन्फेक्सन हुने सम्भावना लगायतका कुराहरू हेरिन्छ भने पेल्विक अल्ट्रासाउण्ड स्क्यान गरिन्छ।" डा सीमा मोहिउद्दिन बताउँछिन्।
उनका अनुसार महिलाहरूको जस्तै पुरुषको पनि स्वास्थ्य जाँच र स्पर्म को पनि परीक्षण गरिन्छ।

यो जाँचहरू सकिए पछि भने तिन वटा इन्जेक्सन दिइने गरेको र आवश्यकता अनुसार औषधिको मात्राबारे निर्णय लिइने मोहिउद्दिनले बताइन्।
"आइभीएफ प्रक्रियामा पेसेन्टले एक इन्जेक्सनबाट सुरु गर्छन्, जुन अन्डा उत्पादनलाई बढाउन दिइन्छ, त्यसपछि अर्को इन्जेक्सनलाई प्रक्रियामा ल्याइन्छ जसले यी अण्डाहरू परिपक्व नभई रिलिज नहुन् भनेर दिइन्छ र तेस्रो इन्जेक्सनको पालो आउँछ, जहाँ अण्डाहरू अलि ठुलो भएपछि ती अण्डाहरूलाई परिपक्व गराउन दिइन्छ।"
ट्रिगर इन्जेक्सन भनिने तेस्रो इन्जेक्सनको बारेमा उनी अगाडी भन्छिन्, "यो अन्तिम इन्जेक्सन दिइएको समयको ३६ घण्टा पछि अण्डा निकाल्ने प्रक्रिया सुरु हुने र अण्डासयबाट अण्डा निकाले पछि शुक्राणुको गुणस्तर जाँच गरिन्छ र अण्डा माथि शुक्राणुलाई छरिन्छ।"

यो प्रक्रियालाई नै आइभीएफ भनिने उनको भनाइ छ।
त्यो प्रक्रियामा यदि चाहिने भन्दा बढी राम्रो गुणस्तरको भ्रुण बनेमा अभिभावकको इच्छा अनुसार त्यसलाई पछि प्रयोग गर्न पनि राख्न सकिने सीमा मोहिउद्दिनको भनाइ छ।
पहिलो बच्चालाई आइभीएफबाट जन्माएकी रोजिना महर्जनलाई अहिले त्यसरी नै सुरक्षित रूपमा भण्डारण गरिएको भ्रुणबारेको सोचाइले भावुक बनाउँछ।
दोस्रो बच्चा प्राकृतिक रूपमा नै बसेपछि आश्चर्य र खुसी त भयो नै तर रोजिनाले ती सुरक्षित राखिएका भ्रुणहरू सम्झेर नराम्रो लागेको अनुभव सुनाइन्।
"जुन बेबी वेट गरिराखेको थियो नि फ्रिजरमा उनीहरूको लागी चैँ सरी पनि फील भयो। ल उसको पालो पो थियो यो (भन्ने लाग्यो)।"
त्यही भ्रूणबाट आफ्नो छोरी भएको कुराले दोस्रो पटक पनि आइभीएफ नै गर्ने सोच बनाएको उनको भनाइ छ।
तर प्राकृतिक रूपमा नै दोस्रो बच्चा हुँदा 'उनीहरू पनि मेरो बच्चा नै त हो नि' भन्ने लगेर भ्रूणहरूको माया लाग्ने गरेको उनी बताउँछिन्।

आइभीएफ प्रक्रियामा जाँदा पहिलो प्रक्रिया नै सफल नहुँदा आमाहरूमा मानसिक तनाव बढ्ने डा सीमा मोहिउद्दिन बताउँछिन्।
त्यो बच्चालाई गर्भमा सार्ने प्रक्रिया सफल हुन नसक्दा आमाहरू निराश हुने गरेको उनले पाएकी छिन्।
तर यो प्रक्रियाको सुरुवातमा नै यसको सफलताको सम्भावना कति रहेको छ भन्ने स्पष्ट परिने र मानसिक रूपमा विक्षिप्त भएका आमाहरूलाई सहायता प्रदान गर्ने काम आफू कार्यरत क्लिनिकले गर्ने गरेको डा सीमा मोहिउद्दिनले Mum माने आमालाई बताइन।
नवौँ भाग सुन्नुहोस्: ९. आइभीएफ प्रक्रियामा जाँदाको अनुभव Mum माने आमा पोड्कास्ट मा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुति भने यहाँबाट सुन्न सकिन्छ।
नवौँ भागका बारेमा:
प्राकृतिक रूपमा बच्चा जन्माउने योजना सफल नहुँदा विज्ञान प्रविधिको सहायता लिँदै आमा बन्दाको आनन्द सुनाएका छन् Mum माने आमाका सहभागीहरूले।
यस पोड्कास्ट शृङ्खलाको नवौँ भागमा आइभीएफ र यो प्रक्रियाका बारेमा कुराकानी गरिएको छ।
मेलबर्न निवासी रोजिना महर्जन र सिर्जना राई दुवै यही प्रविधिका माध्यमले आमा बनेका भए पनि यी दुईका परिस्थितिहरू भने समान छैनन्।
समलिङ्गी सम्बन्धमा रहेकी सिर्जना र ४ वर्ष आफ्नो श्रीमानका साथ बच्चा जन्माउने सपना बुनेकी रोजिनाको आइभीएफ यात्राबारे कुरा गरेका छौँ।
त्यस्तै सिड्नीको एक फर्टीलिटि क्लिनिकमा कार्यरत स्त्री रोग विशेषज्ञ र आइभीएफ प्रक्रियाका बारेमा जानकार रहेकी सीमा मोहिउद्दिनसँग यसको प्रक्रिया र बुझ्नु पर्ने कुराहरूबारे सुझाव लिएका छौँ।
यस भागमा समेटिएका विषयहरू:
- आइभीएफ भनेको के हो र के कस्ता प्रक्रियाहरू हुन्छन्?
- आइभीएफमा नै पनि व्यक्ति अनुसार फरक प्रक्रिया रहन्छ।
- यो प्रक्रिया गर्दाका खर्च पनि व्यक्तिगत परिस्थितिका अनुसार फरक पर्छ।
- के आइभीएफ भएकै कारण यस्तो प्रक्रियाले बसेको गर्भ बढी जोखिममा हुन्छ ?
- बच्चा जन्माउने रहर तर पुरा नहुँदाका निराशा
- समलिङ्गि सम्बन्धमा यो प्रक्रिया कसरी गरिन्छ?
- आमाहरूलाई यो प्रक्रियाका दौरान दिइने मानसिक सहायता
भाग १० :
अप्रिल ५ मा प्रकाशित हुनेछ।
Mum माने आमा पोड्कास्ट मा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।
पोड्कास्ट शृङ्खलाका बारेमा:
अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका आमा बनेका वा बन्ने प्रतीक्षामा रहेकाहरूका लागी बच्चा पाउने योजना देखि बच्चा जन्मिएपछि सम्मका यात्रा तुलनात्मक रूपमा सहज पनि हुन सक्छन् तर यो मातृत्व यात्रा अड्चन बिनाको भने छैन।
सबैको मातृत्व अनुभव फरक फरक भए पनि समानता पनि उत्तिकै हुन सक्छ।
Mum माने आमा पोड्कास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।
पहिलो भाग : १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू दोस्रो भाग : २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव तेस्रो भाग : ३. गर्भावस्था: अनुभव र चुनौतीहरू चौथो भाग : ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव पाँचौँ भाग : ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ छैठौँ भाग: ६. बच्चामा अटिज्म स्पेक्ट्रम डिसअर्डर सातौँ भाग: ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती आठौँ भाग: ८. काम र बच्चा स्याहारको सन्तुलन
नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
